FLASH NEWS
  • Loading...

बेनी-जाेमसाेम सडकमा भीरपहरा फोड्ने गाैमति

  • पुनहिल डट कम
  • ७ घण्टा अघि
  • ६३ पटक पढिएको
बेनी-जाेमसाेम सडकमा भीरपहरा फोड्ने गाैमति

सडक तथा पूर्वाधार निर्माणमा प्रायः पुरुषकै नेतृत्व गरिरहेको र महिलाहरु मजदुरीमै मात्र सीमित रहन्छन । मिस्त्री, नाईके वा ठेकदारमा त पुरुषकै वर्चस्व छ ।
निर्माण क्षेत्रमा केही यस्ता महिला पनि छन, जो निरन्तर लगाव, अठोट र संघर्षपछि ज्यामीबाट नाईकेहुँदै ठेकदार बनेका छन । तिनै मध्यकी हुन, सुनछहरी गाउँपालिका रोल्पाकी ३८ बर्षिया गौमति बुढा मगर । गौमति बुढा सवैभन्दा कठिन काममा उत्कृष्ट क्षमता देखाउन सफल निर्माण ब्यवसायीको रुपमा स्थापित छिन ।
मगर अहिले कालीगण्डकी करिडोर मालढुङ्गा–बेनी–जोमसोम–कोरोला सडक आयोजनाका सवैभन्दा कठिन र अप्ठ्यारा भीरपहरा फोड्ने, अक्करे भीरमा एङ्करिङगरी वाल उठाएर सडक बनाउने कामको नेतृत्व गरिरहेकी छिन । निर्माण मिस्त्री रहेका पति सहवीर घर्तीको पछि लागेर लम्जुङको बेंशसहर–मनाङ जाने सडक खन्न मनाङ पुगेकी थिईन । सुरुमा निर्माण गर्न बालुवा वोक्ने, ढुङ्गा बोक्ने कामबाट मजदुरी पेशा सुरु थिईन । जस्तो सुकै काम गर्न तम्सिनी हिक्मतिली बुढाले मनाङ जोड्ने सडकमा कम्प्रेसर मेशिन (पहरामा होल खोज्ने मेसिन) चलाउन सिकेकी हुन ।
‘कामले काम सिकायो, मजदुरसहकर्मीको साथले आत्मविश्वास जगायो । हिक्मतले फहरा फोड्न सक्ने बनयो’ बेनी–जोमसोम–कोरोला सडक आयोजनाले पहिचान गरेको सवैभन्दा जोखिमपूर्ण पहिरो मध्यको वैसरी पहिरोमा ‘रक एङ्करिङ’को काम चलिरहेको पहिरोस्थलमा भेटिएकी साहसी महिला निर्माण ब्यवसायी गौमतिले भनिन, ‘जहाँ कठिन काम पर्छ, सवैले सम्झेका छन । हामीले गरेको कुनै काममा खोट आएको छैन । काममा लगत र दक्ष मजदुरहरुको टिमले गर्दा मैले महिला भैकनपनि राम्रो काम गर्ने भनी प्रशंसा पाएकी हुँ ।’
वुढा मगरले थपिन, ‘मैले पढ्न त ३–४ कक्षा मात्र पढेकी हुँ, सवै सीप कामसँगै सिकें अहिले मैले फिल्डको काम हेर्छु, श्रीमानले अन्य साईडमा हेडमिस्त्रीसहित लेखा र प्रशासनको काम हेर्नु हुन्छ ।’
अक्करेभीर पहरामा झुण्डिएर फलामको गरुङ्गो कम्प्रेसर मेसिन (जेकम्मर) सजिलै चलाउने, छिटो काम गर्ने र काममा इमानदारिता देखेपछि निर्माण ब्यवसायीले बुढालाई कामको कन्ट्राक्ट दिन थालेका थिए । श्रीमान सहवीर सोही ठेक्कामा मिस्त्रीको रुपमा काम गर्थे । पहरामा मेसिनले होल खोज्न खप्पिस भएकी गौमतिले सोही सडकमा साईड कन्ट्राक पाउन थालेपछि श्रीमान–श्रीमति मिलेर स–सानो खण्डको ठेक्का लिन थालेका हुन ।
मनाङको सडक खनेपछि १३ बर्ष अघि म्याग्दीको नारच्याङमा निर्माण भएको घलेम्दी जलविधुत आयोजना (५ मेवा) मा अक्करे भीरमा पेनस्टक पाईप राख्ने एङ्कर ब्लक राख्ने काम गरेकी थिईन । मनाङको भीरमा उनले गरेको काम देखेर प्रभावित ठेकदारले गौमतीलाइ हाईड्रो तिर जोडेका हुन । घलेम्दीपछि सोही ठाउँमा निर्मित ४२ मेवा क्षमताको मिस्त्रीखोला जलविधुत आयोजनामा पहरामा कम्प्रेसर मेसिन लगाएर होल खोल्ने र वाल लगाउने काममा कन्ट्राक (ठेक्का) लिईन । तिनताका उनीसँगै ८०–९० जना मजदुरहरु थिए । अहिले भने उनको साईटमा ३० जना मजदुर छन । तिनै मजदुरहरुसँगै बस्ने कन्ट्याक्ट ठेकदार गौमतिको कामबाट ठूला ब्यवसायी र नियामक निकायका प्राविधिकहरु पनि सन्तुष्ट छन ।
‘बेनी–जोमसोम सडकको सवैभन्दा कठिन बाँदरजुँग भीरको सडकमा डिलमुनीबाट अक्करेभीरमा एङ्कर ब्लक राखी वाल उठाएर सडक बनाईएको छ सवै काम गौमति वुढा मेडमको साईट हो । उहाँको टिममा अक्करेभीरमा पनि काम गर्न सक्ने दक्षता र सीप छ । आयोजना उहाँको कामबाट सन्तुष्ट छ’ बेनी–जोमसोम–कोरोला सडक आयोजनाका साईड हेर्ने सवइन्जिनियर सोहनजंङ्ग कार्कीले भने, ‘कामप्रति जिम्मेवारी, गुणस्तर र दक्ष मजदुरहरुको टिम देखेपछि हामीले बाँदरजुङबाट आयोजनाले रेडजोन घोषणा गरेको वैसरी पहिरोमा रक एङ्करिङको पनि जिम्मा दिएका हौं ।’
कालीगण्डकी करिडोर अर्न्तगत बेनी–घाँसाखण्डको पहिरोग्रस्त क्षेक्रको अति जोखिमयुत्त पहिरोमध्यको एक बैसरी पहिरोमा ‘रक एङ्करिङ’ प्रविधीबाट पहिरो रोकथाम गरिएको छ । पहिरोग्रस्त क्षेत्रको केही भाग ढुङ्गामाटो शुन्य वनाएपछि भेटिएको पहरामा १ मिटर गहिरा तीन सयबढी होल बनाई २५ एमएमका रड राखी ९० सेन्टीमिटर चौडाई भएका एम २० गुणस्तरको वाल सहितको ग्याभिन राखेर पहिरो नियन्त्रण गरिएको हो ।
पहिरोग्रस्त भीरको करिव एक सय ५० मिटर डिल डिलभागलाई ढुङ्गामाटो शुन्य वनाएपछि भीरको पत्थरमा रक एङ्करिङगरी एम २० (एक वोरा सिमेन्ट वरावर २ बोरा गिटी र ३ वोरा वालुवा राखेको कडा) भएको दुई मिटर अग्लो कंक्रिट पर्खाल बनाईएको छ । वेसमा कंक्रिट गरेको पर्खालमा बाँकी छोडिएको रडको आड लिएर थप एक मिटर अग्लो जाली राखिएको छ । त्यस्तै पहिरोमा प्लास्टिक जालीले छोपेर छिटो सर्ने प्रजातिको खिर्रोका हाँगा गाड्काु साथै पहिरोको मुहान क्षेत्रमा पाईप खुसाएर पानी पन्छ्याएपछि पहिरो नियन्त्रणमा आएको हो ।
‘वैसरी पहिरोमा हामीले अति जोखिम मोलेर रक एङ्करिङ गरी एम २० प्रविधीको वाल र जाली लगाएपछि वैसरी पहिरो अहिले नियन्त्रणमा छ । अस्तअस्ती झरी र भारी वर्षाहुँदा पनि पहिरो झरेन’ बैसरी पहिरो नियन्त्रणका ठेक्का लिएको युवराज कन्ट्रक्सनकी प्रमुख गौमति वुढा मगरले भनिन, ‘बेनी–जोमसोम सडकको काप्रेभिर समेत जहाँ जहाँ अक्करे भीर र अन्य ठेकदारले काम गर्न नसकेको सवै स्थानमा म महिला ठेकदार एक्लैले बनाएकी हुँ । पत्याउनु भएन, फिल्ड हेर्न आउनुस ।’
नेपाल निर्माण ब्यवसायी महाँसंघको तथ्याङ्क अनुसार देशभर रहेका २३ हजार ८ सयबढी निर्माण कम्पनी दर्ता भएकामध्य ७ प्रतिशत कम्पनीहरु मात्र महिलाको नाममा दर्ता छन । महिलाको नामा दर्ता भएकामध्य मुस्किलले १–२ प्रतिशत कम्पनीमा मात्र महिला निर्माण ब्यवसायीको रुपमा सकृय रहेको अनुमान छ ।