FLASH NEWS
  • Loading...

बोक्सीखोलामा झरेको हिमपहिरो ३८ वर्षपछिको ठूलो

  • पुनहिल डट कम
  • २ हप्ता अघि
  • १८८ पटक पढिएको
बोक्सीखोलामा झरेको हिमपहिरो ३८ वर्षपछिको ठूलो

लगातार एकसातासम्म चर्कोघाम लागेपछि टुक्चेपीक (मानापाथी) हिमालको पूर्वी पाखोको हिउँ पग्लेर झरेको हिमपहिरो ३८ बर्षपछिकै ठूलो हो ।
स्थानीयका अनुसार ०४२/०४३ सालतिर पनि टुक्चेपीकको यही क्षेत्रमा ठूलो हिमपहिरो जाँदा बोक्सीखोलाको तीन जना स्थानीयसमेत पानी घट्टग बगाएको थियो । धौलागिरी प्रथम हिमालको चुचुरो र मानापाथी हिमालविचको पाखोबाट मंगलवार साँझ दोस्रो पटक हिमपहिरो झरेको हो । यो वर्ष गत शुक्रवार यही स्थानबाट हिमपहिरो मुलीखर्क र हृयाङ्लीङ चौरी/भेडा चरनखर्क विचबाट तल बोक्सीखोलामा खसेको थियो ।
टुक्चेपीकबाट हिमपहिरो झर्नु सामान्य हो तर यस वर्ष पटक–पटक र हिउँको मात्रापनि धेरै खसेको छ । हिमपहिरो बोक्सीखोला सिरानका तीन वटा गहिरा खोल्सा (हुम)हरु भरिएर बग्दै तल बोक्सीखोलाको बेनी–जोमसोम सडकदेखी करिव ३ सय मिटर माथीसम्म पुगेको छ । स्थानीयका अनुसार टुक्चेपीकबाट ३८ बर्षपछि खसेको यो दोस्रो ठूलो हिमपहिरो हो ।
‘टुक्चेपीकबाट दुई सिजनमा बेलाबेलामा साना–ठूला हिमपहिरो झरिरहन्छ । यस वर्ष अलि धेरै र लामो समयसम्म पहिरो खस्यो । पहिरोग्रस्त क्षेत्र भएकोले तल बोक्सीखोला किनारको बेनी–जोमसोम सडक छेउमा रहेका ३–४ घरलाई सतर्क बनाएका छौं’ थासाङ गाउँपालिका, २ कोवाङका वडाध्यक्ष गौतम शेरचनले भने, ‘यस वर्ष हिउँदमा हिउँ कम परेको र अहिले एक साताबढीदेखी लगातार चर्को घाम लागेकोले पूर्व फर्केको टुक्चेपीक हिमालको तल्लोखण्डको कालोनाङ्गो पहाड तातेपछि हिमपहिरो झरेको हो ।’ वडाध्यक्ष शेरचनले थपे, ‘टुक्चेपीकको अघिल्लो मोहडाबाट बर्षेनी भदौ/असोज र फागुन–वैशाखको सिजनमा हिमपहिरो झरीरहन्छन ।’
मानापाथी हिमालमुनीका सरे, ह्याङ्लीङ, छिप्लिङ, पड्के, हेपिम र हुम्लुङ चरन खर्कमा वारम्वार हिमपहिरो खस्ने गरेको छ । टुक्चेपीकको अर्को पाटोवाट ०७८ जेठमा यस्तै हिमपहिरो खस्दा कोवाङ र नाउरीकोट क्षेत्रका चरन क्षेत्रमा पुगेका २१ वटा चौरी मरेका थिए । मुलीखर्क र ह्याङ्लीङ चरन खर्कको विचमा ठूलो मानापाथी ग्लेसियर बग्दै तल डिलमा झुण्डीएको अवस्थामा छ । यहींबाट झरेर तल कालीगण्डकी नदीमा मिसिने खोलालाई बोक्सीखोला भन्ने गरिन्छ ।