FLASH NEWS
  • Loading...

म्याग्दीमा मात्र देखाईने नागनागिनी नृत्य बेनीमा प्रर्दशन

  • पुनहिल डट कम
  • १ महिना अघि
  • १०६ पटक पढिएको
म्याग्दीमा मात्र देखाईने नागनागिनी नृत्य बेनीमा प्रर्दशन

म्याग्दी सदरमुकाम बेनी बजारमा मुख्य बसोबास रहेको नेवार समुदायले वर्खे नाच अर्न्तगत जनैपूर्णिमाको अवसरमा पितृको सम्झना र सम्मानमा सापारु (गाईजात्रा) देखाईनुको साथै नागनागिनी नृत्य प्रर्दशन गरेका छन ।

नेपाल भाषा मंकाःखल म्याग्दीका अनुसार नेवार समुदायमा नेपालभर म्याग्दी बेनीमा मात्र नागनागिनी नृत्य प्रचलनमा रहेको छ । बेनीका नेवार समुदायले एक बर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा मानिसलाई गाईको रुपमा सिंगारी तयार पारिएको ‘तामामाचा’ र गोठाला बनाई नागनागिनी नृत्य गर्दै दिवंगतको घर–घरमा पुग्ने चलन छ । यसरी नृत्य गर्दा मृतकले गाईको पुच्छर समाई वैतरणी पार हुने धार्मिक विश्वास छ ।

नेवार जातिको महत्वपूर्ण संस्कृति मध्य घन्टाकर्ण पर्व (गठेमंगल) अर्न्तगतका बर्खे नाच पनि एक हो । भक्तपुरबाट बाग्लुङ्गहुँदै पहाड उक्लेका नेवारहरुले ब्यापार कलासँगै नेवारी संस्कृति र सभ्यतालाई जीवित राखेका छन ।

मंका खलःका पूर्व  जिल्ला अध्यक्ष तथा सेपारु नृत्यका नाग कलाकार राजेन्द्र श्रेष्ठका अनुसार श्रावण चतुर्दशीदेखी हरितालिका तीजसम्म मनाईने घण्टाकर्ण पर्व अर्थात गठेमंगलको पहिलो दिन समाजमा दुःख दिने पात्र घन्टाकर्ण नाम गरेको राक्षसको आकृति बनाई दिनभर चौवाटोमा प्रर्दशन गर्दै साँझ नदीमा लगी बगाउने चलन छ । बेनीका नेवार समुदायले मनाउने बर्खेनाच भित्र लाखेनाच, घोडेनाच, गोरुनाच, रोपाईनाच, जोगीनाच, नागनागिनी नाच आदी देखाउने गर्छन ।

युवा पलाएन, आधुनिकताको प्रभावले लोपन्मुख अवस्थामा पुगेको बर्खेनाच तथा हनुमान नाचको संरक्षणमा नेपाल भाषा मंका खलः सकृय छ । पछिल्लो समय नेवारी समुदायको पुख्यौली संस्कृति गठेमंगल पर्वका विभिन्न सांस्कृतिक पक्षको संरक्षणमा अन्य जातजातिको समेत सकृय सहभागिता छ ।