FLASH NEWS
  • Loading...

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

जनैपूर्णिमाको दिन खयरवराही समेत जिल्लाको उत्तरी भेगका वराहीमाता शक्तिपीठहरुमा हजारौं भक्तजनले पुजाअर्चनासहित वर मागेका छन ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका, ५ मा पर्ने ४ हजार ६ सय ३० मिटर उचाईमा अवस्थित खयरबराह तालको छेउमा खयरवाराही मन्दीर समेत प्यारीवराही, नागीवराही, मणीबराही, कान्छीवाराही समेत वराही शक्तिपीठमा भक्तजनहरु टाढाटाढाबाट खयरवाराह ताल र मन्दीर पुगेका हुन ।


म्याग्दीको उत्तरी भेगका मगर/पुन समुदायमा प्रचलित किम्बदन्ती अनुसार बराहीका नौ बहिनीको विशेष पुजा हुन्छ । यस क्षेत्रमा बराह (बाजे)को कतै किम्बदन्ती फेला पर्दैन । किम्बदन्ती अनुसार वराहीका नौ बहिनीमध्य खयरबराही जेठी, पोखराको फेलाताल विचमा रहेकी तालबराही माईली, घोरेपानी, खिवाङ र घराम्दीको विचमा पर्ने प्यारीवराही साईली, दोवाको मणीबराही काईली, नागी बराही थाईली, ……. चिनिन्छ । म्याग्दीका अन्य स्थानमा पनि बराह तथा बाराही पुजा हुन्छ । रिखार वराह, गुर्जा वराह, निस्कोट वराह, काली बराह, श्रीखर्क वराह, दहखर्क बराह आदी हुन ।

‘खयरवराही मन्दीर परापुर्वकालदेखी पुर्खाहरुले शक्तिपीठको रुपमा पुज्दै आएका छन । यहाँ आएर भाकल गरेमा मनोकांक्षा पुरा हुने अटुट विश्वास रहेको छ । खयरवराही मन्दीरमा भाकल (वरमाग्ने) पुरा भएपछि वाचा पुरा गर्न सेतेगोरे भेडाको साँडले वली दिनु पर्ने र सन्तान भए देखाउन ल्याउने गरेका छन’ खयरवराही मन्दीर ब्यवस्थापन समितिका सदस्य कृष्ण तिलिजाले भने, ‘विश्वास नभै यो हिमालको जरोमा दुखकष्ट गरी को आउँथ्यो र । फेरी यस्ता हिमाली डाँडा त धेरै छन, यहीं दैवीशक्ति भएकैले लोकले बलियो विश्वास लिएको छ ।’
हिन्दु शास्त्रिय मान्यता अनुसार बराहलाई भगवान विष्णुको दश अवतार मध्य एक तेस्रो अवतार मानिन्छ । बराह दाहृा निक्लेका बँदेल स्वरुपमा विष्णु अवतार भएको मानिन्छ । त्यसैगरी वराहीलाई देवी लक्ष्मीका स्त्री बँदेलको स्वरुप मानिन्छ । सोही अनुसार पुज्य रहेका छन । घोडामाथी चढेकी, दायाँका दुई हातमा खड्ग र अंकुश तथा बायाँका दुई हातमा ढाल र पाशा समातेकी बँदेल मुख भएकी, काली वर्णकी र दाहृाले पृथ्वी बोकेकी त्रि–नेत्र भएकी स्वरुपलाई बराहीदेवीको रुपमा मान्ने गरिएको छ ।
वाराही शक्तिपीठको दर्शन र पुजा गरे ‘मनोकामना पुरा हुने जनविश्वास छ । धेरै दुख, कस्ट सहेर हिमाली लेक उक्लेका भक्तजनले खयरवराही मन्दीरमा छोराछोरी, पढाई, विवाह, धनसम्पत्ति, वैदेशिक रोजगारी, वेलायती सेनामा भर्तीको वर माग्छन । वर माग्न तिर्थलुले खयरवराह तालमा उभिएका पुजारीलाई आफुले माग्न खोजेको ‘वर’ सुनाउँछन । अनि पुजारीले ताल तिर फर्केर भक्तजनको नाम पुकार्दै …मागेको वर देउरे खयरवाराहीमाता भन्दै चिच्याउँछन । र प्रसादस्वरुप डुबुल्कि मारेर तालको पींधबाट मुठीमा जे आउँछ, झिकेर भक्तजनले हातमा थापेको सेतो रुमालमा राखिदिन्छन । देवीको प्रसाद ग्रहणगरेपछि भक्तजन तल धोतीखोला पार नहुन्जेलद कोही, कसैसँग नबोली, पछि नफर्की जानु पर्छ ।


भाकल पुरा भएपछि भक्तजन जनैपूर्णिमाको दिन फेरी खयरता र वाराहीदेवीसँग पुगेर ‘वर’ माग्ने वेला के दिन्छु, भाकल पुरा गदिदेउ भनी मनमा संकल्प गरिएको थियो, सोही सामाग्री लिएर चढाउन आउने पर्छ । अधिकांश भक्तजनले भाकल पुरा भएपछि खयरवाराही देवीलाई भेडाको साँढ (थुमा)ले वली चढाउँछन । शाकाहारीहरुले जटाधारी नरिवाल, धजाअक्षता, गहना आदी चढाउँछन । सन्तान वर मागेकाले सन्तान नै देखाउन ल्याउने पनि चलन छ । खयरवराही मन्दीर पुजा ब्यवस्थापन समितिका अनुसार जनैपूर्णिमाका दिन ‘देवीसंग वर माग्दा गरिएको भाकल (संकल्प) अनुसार चार–पाँचसयसम्म भेडाको साँढे वली चढाउँछन ।
जनपूर्णीमाका बेला तिर्थालुहरुले वास बस्न र खानाकालागी खोप्रा, नौलोवन, खयरखोला समेतका स्थानमा प्लास्टिक टनेलहरु, खानेपानीका धारा, अस्थाई होटल तथा शौचालयहरु निर्माण गरिएको हुन्छ । खानाको पैसा लागेपनी बास बसेको पैसा लाग्दैन, ओढ्ने भने यात्रुले आफै ब्यवस्था गर्नु पर्छ ।
काठमाण्डौ, पोखरासमेत सहरबाट बेनीहुँदै बस, जीपमा जान सकिन्छ । पोखरेबगरबाट ४–५ घन्टा हिंडेर पहिलो रात पाउद्धार गाउँमा बास बस्न सकिन्छ । दोस्रो दिन ४–५ घन्टा उकालो चढेपछि खोप्रा पुगिन्छ । बाटो ढुङगाको सिंढी राखेर चिटिक्क पारिएको छ । छोटो–छोटो दुरीमा विश्राम गर्ने चौतारी भेटिन्छन । खोप्रामा सामुदायीक होटल छ । छुट्टै तीर्थयात्रुको सुविधाकालागी अस्थाई प्लास्टिक घर पनि बनाईएको हुन्छ ।


‘यो वर्ष खयरयात्रा असाध्यै राम्रो भयो । भदौको दोस्रो हप्तामा परेको र पानी नपरेकोले तिर्थयात्रुले सजिलोगरी यात्रा गर्न सके, मनोरम हिमालीदृश्यालोकन गर्न सकियो’ खयरवराहीमातासँग वर माग्न पुगेका बेनीका सुजन बरुवलाले भने, ‘भाकल पुरा भएपछि खुसीयालीमा तिर्थयात्रुले खयरवराही मन्दीरमा ५ सय हाराहारीमा साँढ र बोकाको वली चढे होलान ।’
खोप्रामा कास्कीको घान्द्रुक, बयलीहुँदै, घोरेपानीबाट ढाँडखर्कहुँदै र नारच्याङबाट समेत तीर्थालुहरु जोडिन आउँछन । तेस्रो दिन खोप्राबाट ३–४ घन्टा हिंडेर खयरखोलामा बास बस्न पुगिन्छ । खयरखोलामा तीर्थालुकोलागी बास बस्न प्लास्टिकका लामा–लामा टनेल बनाईएको हुन्छ । खानाका लागी अस्थाई होटल हुन्छन । खयरखोलादेखीमाथी बास बस्ने ठाउँछैन । चौंथो दिन राती २ बजेबाटै मान्छेहरु खयरवराहकालागी यात्रा गर्छन । ३–४ घन्टा हिंडेपछि धोतीखोला पुगिन्छ । धोतीखोलामा पापी–धर्मी छुट्याउने गौडा भन्ने छ । यहाँबाट भने मिर्मिरे उज्यालो नभै माथी जान पाईन्न । खयरवराह ताल उक्लने अन्तिम तर थोरै भएपनि साहृै उकालो बाटो भएकोले दुर्घटना नहोस भनेर पुजा ब्यवस्थापन समितिले यही तिर्थालुलाई रोक्ने गरेका हुन ।


खयरवाराही जनैपूर्णिमाको दिनमा लाग्ने धार्मिक मेला मात्र नभै लेकाली सौन्दर्यमा डुबुल्कि मार्न पाईने साहसीक मनसुनी यात्रा पनि हो । अन्य सिजनमा पनि पर्यटक खोप्रा, खयरवाराही ताल पुग्छन । धार्मिक आस्था त छँदैछ, पर्यटकले खयरवाराही तालमा अन्नपूर्ण साउथ, वराहशिखर र धवलागिरी हिमालको छायाँ देख्न सक्छन । खयरवराहबाट अन्नपूर्ण, धवलागिरी, निलगिरी साउथ, टुक्चेपीक, मानापाथी हिमाल, गुर्जा हिमालसम्म प्यानोरमिक भ्यु देखिन्छ ।
खयरवराह क्षेत्रलाई ‘खोप्रा पदमार्ग’ को रुपमा परिचित छ । खयरवराह ताल भन्दा तल खोप्रा डाँडा (३,६६०मी) एडभेन्चर ट्रेककालागी प्रशिद्ध छ । खयर–खोप्रा पदमार्गका अप्ठ् यारो स्थानमा ढुङ्गाको सिंढी, ठाउँ–ठाउँमा आराम गर्ने, भारी विसौनी चौतारी, चौतारीमा खानेपानीको धारा ब्यवस्थित गरिएको छ । खोप्रामा सामुदायीक लज छ ।
खयर पदमार्ग ब्यवस्थित छ । पाउद्वार गाउँबाटै उकालीमा ढुङगा ओच्छ्याएर बाटो चिटिक्क पारिएको छ । ठाउँठाउँमा चौतारी र खानेपानीको ब्यवस्था गरिएको छ । पदमार्गमा सामान्य खाना पाईने भएपनि केही ड्राईफुड बोक्नु उपयुक्त हुन्छ । काठमाण्डौ–पोखराबाट एक साताको यात्रा योजना बनाउँदा खयरबराही यात्रा सजिलो हुन्छ । नजिकै देखिने हिमश्रृखलाको प्यानोरमिक भ्यु, रङ्गीविरङगी फुलले ढपक्क बनेको लेकाली बुकीफाँट, सफा आकास, स्वच्छ हावामा हिंड्दा मन प्रफुल्ल हुन्छ ।