FLASH NEWS
  • Loading...

गण्डकी प्रदेशमा पर्यटकको औसत बसाई अवधि १२ दिन

  • पुनहिल डट कम
  • १ महिना अघि
  • १२२ पटक पढिएको
गण्डकी प्रदेशमा पर्यटकको औसत बसाई अवधि १२ दिन

गण्डकी प्रदेशको भ्रमण गर्ने पर्यटकले औसत बसाई अवधि १२ दिन रहेको पाइएको नेपाल राष्ट्र बैंक, पोखरा कार्यालयले जनाएको छ। नेपालमा औसत बसाई अवधि २२ दिन रहने छ ।

राष्ट्र बैंकको पोखरा कार्यालयले ‘गण्डकी प्रदेश भ्रमण गर्ने विदेशी पर्यटकहरूको बसाई तथा खर्चको प्रवृत्ति’ विषयमा अनुसन्धान गरि सार्वजनिक गरेको प्रतिवेदनमा यस्तो तथ्य देखिएको हो।

अध्ययनमा पुरुष पर्यटकहरूको तुलनामा महिला पर्यटकको औसत बसाई अवधि उच्च रहेको पाइएको छ। नेपाल भ्रमण गर्ने महिला पर्यटकले औसतमा २५ दिन र पुरुष पर्यटकले २० दिन भ्रमण गर्छन ।  गण्डकी प्रदेशमा पुरुष पर्यटक ११ दिन र महिला पर्यटक १३ दिन रहेको छ।

गण्डकी प्रदेशका विभिन्न ६ जिल्लाबाट नमूना संकलन गरिएकोमा मनाङ जिल्लामा भेटिएका पर्यटकहरूको गण्डकी प्रदेशमा औसत बसाई अवधि सबै भन्दा धेरै (१८ दिन) र गोरखा जिल्लामा भेटिएका पर्यटकहरूको गण्डकी प्रदेशमा औसत बसाई अवधि सबै भन्दा न्यून (४ दिन) रहेको छ।

अध्ययनमा पर्यटकको आगमनको संख्या, पर्यटन पूर्वाधारको विकास तथा पर्यटकीय गतिविधिका आधारमा कास्की, मुस्ताङ, मनाङ, म्याग्दी, गोरखा र नवलपरासी (पूर्व) गरी ६ जिल्लालाई समावेश गरिएको थियो।

अध्ययनका अनुसार विश्वका ४१ देशका पर्यटकहरूले गण्डकी प्रदेश भ्रमण गरेकोमा त्यसमध्ये सबैभन्दा बढी भारत, फ्रान्स, अमेरिका, बेलायत र अष्ट्रेलिया रहेको पाइएको छ।

प्रदेशमा पहिलो पटक आउने पर्यटकहरू ६८ प्रतिशत छन् भने ३२ प्रतिशत पर्यटक एकपटक भन्दा बढी पटक आउने गरेको पाइएको छ।

खर्चको अवस्था

अध्ययनमा समावेश पर्यटकहरूको औसत दैनिक खर्च आठ हजार ३५५.२९ रुपैयाँ (अमेरिकी डलर ६२.८९) रहेको पाइएको छ। प्याकेजमा अाउने पर्यटकको औसत खर्च दैनिक ११ हजार ८६६.०९ रुपैयाँ (अमेरिकी डलर ८९.३१) रहेको पाइएको छ।

त्यसैगरी स्वतः स्फुर्त रूपमा खर्च गर्ने गरी गण्डकी प्रदेश भ्रमण गर्न आउने पर्यटकहरूको दैनिक औसत खर्च सात हजार २१७.३१ रुपैयाँ (अमेरिकी डलर ५४.३२) रहेको पाइएको छ।

त्यसमध्ये सबैभन्दा बढी खर्च खानामा २८.२२ प्रतिशत, बसाइमा २७.६ प्रतिशत, यातायात खर्चमा २१.७ प्रतिशत र मनोरञ्जनमा १२.३ प्रतिशत देखिएको छ।