FLASH NEWS
  • Loading...

शहरकै विद्यालयमा छैनन् विद्यार्थी, बेनी नगरपालिकाले फेरी गर्‍यो ७ विद्यालयको तह घटुवा

  • पुनहिल डट कम
  • २ महिना अघि
  • १२८ पटक पढिएको
शहरकै विद्यालयमा छैनन् विद्यार्थी, बेनी नगरपालिकाले फेरी गर्‍यो ७ विद्यालयको तह घटुवा

म्याग्दी सदरमुकाम समेत रहेको बेनी नगरपालिकाले विद्यार्थी संख्या शुन्यप्रायःमा झरेका सात वटा विद्यालयको कक्षा घटुवा (तह समायोजन) गरेको छ ।

सात जना भन्दा कम विद्यार्थी संख्या भएका अधिकांश आधारभुत तहका विद्यालयमा अध्ययनरत विद्यार्थी नजिकको पाएक पर्ने अर्को विद्यालयमा स्थानन्त्रण गरी विद्यालय बन्द गरिएको छ । विद्यालय बन्द भएपछि कार्यरत १७ जना शिक्षकलाई विद्यार्थी चाप भएका विद्यालयहरुमा ब्यवस्थापन गरिएको बेनी नगरपालिका शिक्षा शाखाले जनाएको छ ।

बेनी नगरपालिकाले गत शैक्षिक सत्रमा पनि विद्यार्थी संख्या न्यून भएका वा शुन्यप्रायः रहेका ११ वटा विद्यालयहरुलाई यसरी नै तह घटुवा वा विद्यालय मर्जर गरेको थियो । बेनी नगरपालिकाका अनुसार कक्षा ४ सम्म पढाई गर्दै आएको चेतना आधारभुत विद्यालयको कक्षा १ मा झरेर कार्यरत एक जना शिक्षकलाई सदरमुकामको बेनी सामुदायीक विद्यालयमा स्थानन्त्रण गरिएको छ ।

त्यस्तै ५ कक्षा सम्म अध्ययन हुने बेनी नपा, ९ को पद्मवराह आविमा माथिल्लो तहमा विद्यार्थी संख्या शुन्य बनेपछि १ कक्षामा घटुवा गरिएको छ । शिक्षकलाई छिमेकी बराह आविमा स्थानन्त्रण गरिएको छ ।

‘सुविधायुक्त भवन, विधुत, खानेपानी, शौचालयदेखी इन्टरनेट, कम्प्युटरसहितका पूर्वाधार उपलब्ध भएपनि जिल्लामा तिब्र बसाई सराई र घट्दो जनसंख्या वृद्धीले दुर्गम ग्रामिण भेगमा मात्र होईन सदरमुकाम वरपरका काँठ क्षेत्रकै विद्यालयमा विद्यार्थी पुरै घटेपछि धमाधम विद्यालय बन्द गर्नु पर्ने अवस्था आएको छ’ बेनी नगरपालिकाका मेयर सुरत केसीले भने, ‘अघिल्लो शैक्षिक सत्रमा ११ विद्यालय र चालु शैक्षिक सत्रमा ७ विद्यालयको तह समायोजन गरेका छौं । मावि तहको पनि अवस्था उस्तै नाजुक छ ।’