FLASH NEWS
  • Loading...

बाँझिँदै खेत, नासिँदै असारे भाका

बाँझिँदै खेत, नासिँदै असारे भाका

ठूला धान फाँटहरु प्लटिङहुँदै कंक्रिटको जंगलमा परिवर्तन भएका छन । गाउँघरमा घरपाएक, सजिलो सिंचाई पुगेको र अलि राम्रो उत्पादन दिने बाहेक पुर्खौदेखी खेती गरिँदै आएको धानखेत अहिले बाँझो छ ।
पुर्खाले कमाउँदै आएको धान खेत बाँझो हुने क्रम बढेसँगै पुख्यौली असारे गीत र भाका पनि अव गुञ्जन छोडेको छ । नासिँदाे छ । असारे गीती भाका पुस्तान्त्रण हुन नसक्दा यो असारे लोक भाका संकटमा परेको छ । केही बर्ष अघि सम्म गाउँघरका धान फाँटमा धानका पाँजोसंगै मनमा मायाँपिरतीको वीउ रोप्ने असारे गीत र भाका यस्ता हुन्थे ।
कोरस ः छुपुमा छुपु हिलोमा धान, रोपेर छोडौंला
यो मन जस्तो त्यो मन भए पिरती जोडौंला ।

हलीवाउसे ः असार मास, दवदवे हिलो छुनलाई घिन लाग्यो
पातली नानीलाई फरिया किन्दा, छ विस ऋण लाग्यो ।

रोपाहार ः त्यो पारी गाउँको देउरालीपाखो भरियो सल्लाले
घरमा जहान, पाल्ने आँट छैन, के गर्ला यस्ताले ।

हातको पाँजोभरी धानको वेर्ना लिएर रोप्दै गरेका रोपाहारहरुले यस्तै–यस्तै गीतको गेडाले हिलोमा साहा लगाउँदै लछप्प भिजेका हलिवाउसेलाई असारे भाकामा सवालको जवाफ दिन्थे । सामान्यतयाः असार र साउन महिनामा खेतमा प्रयाप्त पानी लगाएर खनजोतगरी हिलो बनाई धानको विर्ना रोपन्छ । भारयित एवं पश्चिमी शैली र संस्कृतिको प्रभाव बढ्दै जाँदा नेपाली समाजको बहुमुल्य संस्कृति कृषकका खेत–खेतका गहृामा गुञ्जने असारे गीत विस्तारै लोपहुँदै जान थालेको छ ।

नेपाली कृषकहरुको मुख्यवाली धान रोप्ने बेलामा निक्कै चटारो हुन्छ । मानो खाएर मुरी उब्जाउनु पर्ने असार–साउनको धान रोपाईको चटारो विचपनि हलिबाउसे र रोपाहारहरु विच मनोविनोद हुने गर्छ । युवायुवतीहरु हिलो छ्यापाछ्याप खेल्दै लय र छन्द मिलाएर खेतका फाँटहरुमा घन्काउने भाकालाई असारे गीत भनिन्छ ।

पुरुषले खेत जोत्ने र महिलाहरुले धानको विरुवा रोप्ने प्रचलन छ । सायद, यही यौन मनोविज्ञानमा आधारित भएर हलिवाउसे र रोपाहार विच असारे गीतमा मनका भावनाहरु साटासाट गरिन्छ । झम–झम झरीमा पनि असारेगीतको माध्यमबाट मनका भावना साटासाट गरिन्छ । असारे गीतबाटै माया–पिरती लगाईन्छ ।
त्यसैले भनिन्छ, असारे गीतपनी झरीवादल, भोकतिर्खा नभनी रातदिन हिलोमा पसेका युवायुवतिले दुःख विर्सेर माया–पिरती लगाउने एउटा गतिलो अवसर हो । हिजो–आज यो संस्कृति शहरीयाहरुले मनाउने ‘धान दिवस, असार–१५ दिवस’ मा मात्र सिमित हुन थालेको छ ।

असारे गीतको विशेषता भनेकै यसको मौलिकता सहितको रोचकता हो । शायद त्यसैले होला असारे गीतमा दुखःसुखका भोगाईहरुलाई युवायुवतीदेखी पाका उमेरका हलिवाउसे र रोपाहरको ओठले टपक्क टिपेको हुन्छ । हिलाम्मे खेतमा खनजोत र धानको विउ रोप्दा आउने ‘छुपछुपु’ को मधुर संगितमा पनि मनमा लागेका जुनसुकै भावना सजिलै गीतिलयमा गाउन सकिने हुंदा असारेगीतले सवैलाई उत्तिकै आकर्षण गर्छ । कहिले काहीं भद्रताबाट सुरु हुने तरुनी–तन्नेरी विचको हिलो छ्यापाछ्यापको रमाईलो रौसिंदै मर्यादाका लक्ष्मणरेखा अतिक्रमण गर्दै कपडा भित्रसम्म पुग्छन ।

केटा ः हलो है भाँच्यो, जुवा है भाँच्यो डाँडैको खेतले
ऋण पनि लाग्यो, दिनपनि लाग्यो, एकछिनको भेटले
केटी ः त्यो पाखो कोप्चो धान है रोप्दा हात खायो हिलोले
कस्ताको फेला परियो बाबै, एकछिनको भेटले ।

कोरस ः छुपुमा छुपु हिलोमा धान, रोपेर छोडौंला
यो मन जस्तो त्यो मन भए पिरती जोडौंला ।

तर बैदेसिक रोजगारीको प्रभावले होला हिजोआज गाउँघरका खेतबाट असारे भाका सुस्ताउँदै जान थालेको छ । बेंशीका फाँटमा समेत पछिल्ला केही बर्षदेखी असारेगीत गुन्जन छोडेको छ । बसाई–सराइको चापले बेंशीका फाँटहरुमा प्लटिङ्ग शुरु भएको र गाउँघरका खेतहरु बाँझै हुन थालेपछि नेपाली समाजको महत्वपूर्ण संस्कृति लोपुन्मुख छ । बैदेशिक रोजगारीले युवापुस्ता पलाएन भएपछि असारे गीतका भाकाहरु समेत हराउन थालेका छन ।

केटा ः छुपुमा छुपु धान है रोप, हातको वीउ छउञ्जेल
मसिनो खाउली, सुकिलो लाउली, यो मेरो जीउ छउञ्जेल ।

केटी ः हातको मैला सुनको थैला, के गर्नु धनले
साग र सिस्नु खाएको बेंश आनन्दी मनले ।

कोरस ः छुपुमा छुपु हिलोमा धान, रोपेर छोडौंला
यो मन जस्तो त्यो मन भए पिरती जोडौंला ।

‘असार १५ दघि च्यूरा खानु, साउन १५ खिर खानु’ भन्ने नेपाली उखान छ । र देशभर असार १५ गते सरकारी कर्मचारी समेतका सुकिला–मुकिला वर्गको सहभागितामा ‘विरालु डोकोले थुन्ने’ परम्परामा हिलो छ्यापा–छ्याप र दुई टुक्का असारे गीत गाएर ‘धान उत्सव’ पनि मनाईयो । यो वर्ष समयमै बर्षा शुरु भएकोले जिल्लाका सवै लेक–बैंशीका वस्तीमा रोपाई शुरु भएको छ । सदरमुकाम बेनीमा बस्ने नेवार समुदायमा धान खेती र कृषी कर्मको महत्व बुझाउने छुट्टै संस्कृतिको रुपमा रोपाई नाच नाच्ने चलन पनि छ ।