FLASH NEWS
  • Loading...

उपकरण तीन वर्षदेखी अलपत्र, मसाज र थेरापी अव कहिले खुल्छ ?

उपकरण तीन वर्षदेखी अलपत्र, मसाज र थेरापी अव कहिले खुल्छ ?

बेनी नगरपालिका, ४ तातोपानीमा तीन वर्ष अघि प्राकृतिक चिकित्सालय खोल्न ल्याईएका तातोपानी विभिन्न प्रकारका थेरापी उपकरणहरु अलपत्र परेका छन । तीन वर्षदेखी ‘छिट्टै संञ्चालनमा आउने’ भनिएको मसाज तथा विभिन्न थेरापी सेवा अव ‘साँच्चै’ कहिले खुल्छ भनी विरामीहरुले प्रश्न गर्न थालेका छन ।
भू–तापीय पानी (हटस्प्रीङ)मा डुबेर परम्परादेखी गरिँदै आएको प्राकृतिक तातोपानी उपचारसँगै साउना स्नान, थेरापी र योगालाई जोडेर सुरु गर्न ल्याईएका मसाज थेरापी, हाईड्रो थेरापी, होमियोथेरापी, फिजियोथेरापी, नेच्युरोप्याथिक थेरापी र अकुपंचरका उपकरणहरु तीन वर्षदेखी प्रयोगमा नआएपछि धुलाम्मे भै थन्केका छन । आव ०७७/७८ मा गण्डकी प्रदेश सरकारको श्वास्थ्य मन्त्रालयको ५० लाख बजेटबाट ति उपकरणहरु खरिद गरिएका हुन । प्रयोगहीन बनेका उपकरणहरु भने प्लास्टिीकले छोपेर राखिएको छ ।


थेरापीका उपकरण मात्र होईन संघिय श्वास्थ्य मन्त्रालयको आव ०७७/७८ मै ५० लाख समेत विभिन्न निकाय र स्थानीय तातोपानी कुण्ड ब्यवस्थापन समितिको रकमसमेत ३ करोड खर्चेर निर्माण गरिएको प्राकृतिक चिकित्सालय भवन पनि अलपत्र छ । तातोपानी कुण्ड ब्यवस्थापन समितिले प्राकृतिक चिकित्सालय संञ्चालन गर्न खोज्दा कानुनी अल्झन आएकोले तीन वर्षदेखी उपकरण र भवन प्रयोगहीन भएका हुन ।


‘प्राकृतिक तातोपानीमा आधारित प्राकृतिक चिकित्सालय संञ्चालन तयारीमा उपकरण ल्याई सेटअप गर्ने क्रममा थियौं । कानुनी अल्झन आएपछि रोकिएको अवस्था छ । उपकरणहरु प्लास्टिकले छोपेर राखेका छौं’ तातोपानी कुण्ड ब्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले धुलाम्मे भएका प्लास्टिकले छोपेका थेरापी उपकरणहरु देखाउँदै भने, ‘लाखौं मुल्यका यी उपकरण सँधै प्रयोगहीन बनाउन सक्दैनौं, अव नयाँ आर्थिक बर्ष (साउन/भदौ) देखी मसाज र थेरोपी सेन्टरको रुपमा भएपनि सेवा सुरु गर्छौ ।
संस्था दर्ता ऐन अर्न्तगत दर्ता भएको तातोपानी कुण्ड ब्यवस्थापन समितिको विधानको उद्देश्यमा प्राकृतिक/प्रविधी चिकित्सालय संञ्चालन गर्ने बुँदा थप्नु पर्ने भएकोले साधारण सभाबाट विधान संसोधन गरिएको समितिले जनाएको छ ।


तातोपानी कुण्डमा परम्परादेखी नै हाडजोर्नी र नसासम्बन्धी समस्या भएका विरामी बढी आउने गरेका छन । थेरापी सेन्टर चलाउन थेरापीका उपकरण भएर मात्र पुग्दैन, सोही अनुसारका कम्तीमा ब्याजलर थेरापिष्ट आवश्यक हुन्छ । तर समितिले अहिलेसम्म थेरापिष्ट ब्यवस्थापन टुङ्गो लगाएको छैन । ‘प्राकृतिक तातोपानीसंग जोडेर आउने विरामीको प्रकृति हेर्दा कम्तीमा फिजियोथेरापिष्ट एक जना, अर्थो थेरापिष्ट र न्यूरो थेरापिष्ट आवश्यक पर्ने देखिन्छ’ बेनी अस्पताल म्याग्दीका फिजियोथेरापिष्ट डा.हरी सुवेदीले भने, ‘तातोपानी समितिसंग धेरै थेरापीका उपकरण ल्याएर सेटपअ गरेको, केही त्यतिकै थन्क्याएर राखिएको रहेछ । अव थेरापी सेन्टर चलाउने हो भने प्यारालाईसिस भएका विरामीको उपचारमा प्रयोग हुने सस्पेन्सन वाकिङ ट्रेडमिल समेतका केही थेरापी उपकरण थप्न आवश्यक देखिन्छ ।’
यहाँका तातोपानीका पोखरीहरुमा एलोपेथिक औषधीय उपचारबाट सञ्चो हुन नसकेका विरामी प्राकृतिक चिकित्सा मानिएको डुबेर उपचार गराउँदा लाभ पुगेको धेरै अनुभव छन । विरामीको तातोपानीमा डुबेर निको भएको वचन विज्ञापनकै आधारमा वर्षेनी सयौं विरामी यहाँ आउने गरेका छन ।