- Loading...
के हो ‘मेटाभर्स’ ? यसैमा केन्द्रित हुन नाम परिवर्तन गर्दैछ फेसबुक !
- पुनहिल डट कम
- ३ साल अघि
- ९५१ पटक पढिएको
बीबीसी । यसअघि फेसबुकले ‘मेटाभर्स’ मा केन्द्रित हुनका लागि भन्दै कम्पनीको नाम रि ब्रान्ड गर्ने बताएको थियो । यसका साथै फेसबुकले मेटाभर्स विकसित गराउन युरोपमा मात्र १० हजार नयाँ कर्मचारी नियुक्त गर्ने घोषणा पनि गरिसकेको छ ।
यसरी पछिल्लो समय मेटाभर्सलाई नै इन्टरनेटको भविष्य भन्न थालिएको छ । तर यो के हो भनेर अझै धेरैले बुझेका छैनन् ।
सरल रुपमा हेर्दा मेटाभर्स धेरैलाई अहिलेको लोकप्रिय ‘भर्चुअल रियालिटी’, भीआर कै नयाँ नाम जस्तो लाग्न सक्छ ।
तर प्राविधिक विद्हरुले १९८० को दशकका मोबाइल फोनका लागि आजको आधुनिक स्मार्टफोन जे हो, भीआरका लागि मेटाभर्स त्यस्तै बन्न सक्ने बताइरहेका छन् ।
मेटाभर्समा चाहिँ कम्प्युटरको सट्टा केबल एउटा ‘हेडसेट’ मात्र प्रयोग गरेर भर्चुअल अर्थात्, कृत्रिम दुनियाँमा प्रवेश गर्न सकिनेछ जसले हामीलाई भर्चुअल दुनियाँको सबै प्रकारको डिजिटल वातावरणसँग कनेक्ट गर्न या जोड्न सक्छ ।
यता अहिले प्रयोगमा आइरहेका भीआर चाहिँ मुख्य रुपमा गेमिङका लागि प्रयोग गरिएका छन् । तर मेटाभर्समा, व्यवहारिक रुपमा भर्चुअल दुनियाँका सबै गतिविधि, काम गर्ने, खेल्ने, सिनेमा ट्रिप्स, कन्सर्टदेखि साथीभाइसँग भेट गर्न समेत सकिने बताइएको छ ।
यसमा हामीसँग आफ्नो रुप देखाउने थ्रीडी अभतार पनि हुने बताइएको छ । तर यो अझैपनि योजना र सोचमै सिमित भएको हुँदा यसलाई व्याख्या गर्ने सिङ्गो परिभाषा छैन ।
कसरी मेटाभर्स अचानक यति ठूलो कुरा बन्यो ?
डिजिटल दुनियाँ र कृत्रिम वास्तविकता हरेक दुई तीन वर्षमा एकचोटी अत्याधिक चर्चामा आउने विषय हुन् र अचानक चर्चामा आए जसरी नै प्रायः यस सम्बन्धी हाइप पनि छिटै हराउने गरेको छ ।
तर मेटाभर्सबारे विशेषगरी ठूला प्राविधिक फर्म र धनी लगानीकर्ताहरुमा एकदमै भव्य उत्साह देखिएको छ । त्यसैले पनि यो साँच्चिकै इन्टरनेटको भविष्य बन्ने हो भने यसमा कोहि पछि पर्न चाहँदैन ।
साथै पहिलोपटक यो प्रविधि नयाँ भएपनि विकसित हुने नजिक आइपुगिसकेको महसुस गरिएको छ ।
फेसबुक कसरी यसमा संलग्न भयो ?
अहिले फेसबुकले मेटाभर्स निर्माण गर्ने कार्यलाई आफ्नो सबैभन्दा ठूलो प्राथमिकता बनाएको छ । यसले आफ्नो ‘ओक्युलस हेडसेट’ मार्फत भर्चुअल रियालिटीमा भारी लगानी गरेको छ । घाटामै गएर भएपनि फेसबुकले ओक्युलस हेडसेटलाई आफ्ना प्रतिस्पर्धी भन्दा धेरै सस्तो बनाइदिएको छ । त्यस्तै यसले कार्यस्थलमा सामाजिक भेट गर्न भी आर एप्सहरु पनि निर्माण गरिरहेको छ । जसबाट वास्तविक दुनियाँसँग पनि अन्र्तक्रिया गर्न सकिनेछ ।
हरेकचोटी नयाँ चुनौति आउँदा आफ्ना प्रतिस्पर्धीहरुलाई खरिद गर्ने गरेको भएपनि यसपटक चाहिँ फेसबुकले यो एउटा सिङ्गो कम्पनीले निर्माण गर्न नसक्ने दाबी गरेको छ र सबैसँग सहकार्य गर्ने वचन पनि दिएको छ ।
के यो गेमका बारेमा मात्र हो त ?
होइन । मेटाभर्स केकस्तो हुन सक्ला भनेर धेरै थरी योजना भएपनि प्रायः भिजनमा यसलाई सामाजिक मानव अन्र्तक्रियाको गहिराइसम्म पुग्ने प्रविधि भनेर व्याख्या गरिएको पाइन्छ ।
जस्तै उदाहरणका लागि फेसबुकले अहिले भीआरबाट मिटिङ गर्ने एप, ‘वर्कप्लेस’ र अर्को सामाजिक स्थल, ‘होरिजन्स’ को परीक्षण गरिरहेको छ । यी दुवैमा कृत्रिम अभतार प्रणाली प्रयोग गरिन्छ अर्थात सबै व्यक्तिको कृत्रिम रुप निर्माण गरि देखाइन्छ र त्यसैसँग अन्र्तक्रिया गरिन्छ ।
अर्को भिआर एप, ‘भीआरच्याट’ चाहिँ पूर्ण रुपमा अनलाइन च्याट गर्ने र समय बिताउनेमा केन्द्रित छ । यसको मुख्य उद्देश्य भनेको मान्छेहरुसँग कृत्रिम रुपमा भेटघाट गर्ने र कृत्रिम वातावरणको अनुभव दिलाउने हो ।
मिस्टर स्वीनीले वाशिङटन पोस्टसँगको कुराकानीमा बताए अनुसार अबको दुनियाँमा, जस्तै एउटा कुनै कार निर्माताले नयाँ मोडल ल्याए भने त्यसलाई उनले जुन समयमा लन्च गरिरहेका हुन्छन्, त्यही समय बाँकी दुनियाँले यसलाई कुदाएर हेर्न सक्नेछ ।
अझ स्पष्टगरी भन्नुपर्दा यदि हामी अनलाइन सपिङ गरिरहेका छौँ भने हामीले पहिले डिजिटल रुपमा लुगा लगाएर हेर्नेछौँ अनि राम्रो लाग्यो भने मात्र वास्तविक अर्डर गर्नेछौँ ।
यो प्रविधि आइसक्यो त ?
पछिल्ला केही वर्षमा भीआर धेरै विकसित भइसकेको छ जसमा प्रयोग हुने ‘हाइ–एन्ड हेडसेट्स’ ले मान्छेको आँखालाई झुक्याएर थ्रीडी जस्तो देखाइदिन्छ । र २०२० मा ‘ओक्युलस क्वेस्ट २ भीआर गेमिङ’ को हेडसेट सबैभन्दा लोकप्रिय क्रिसमस उपहार बनेको थियो ।
त्यसैगरी डिजिटल सामग्रीको स्वामित्व, एनएफटी प्रतिको बढ्दो चासोले पनि भर्चुअल अर्थतन्त्र चल्न सक्ने देखाइसकेको छ ।
तर डिजिटल दुनियाँलाई अझ आधुनिकतातर्फ लैजान यसले आफ्नो प्रस्तुतीमा अझ सुधार ल्याउनुपर्ने हुन्छ भने निरन्तर प्रयास जारी राख्नुपर्छ र मोबाइल ‘कनेक्टिभिटी’ सँग पनि सम्बन्धित रहिरहनुपर्नेछ । यसमा फाइभ–जी ठूलो समाधान बन्न सक्छ ।
अहिलेका लागि चाहिँ सबै सुरुवाती चरणमा छ । मेटाभर्सको विकास सम्पन्न भएमा आगामी दशक प्राविधिक कम्पनीहरु यसैलाई लिएर प्रतिस्पर्धा गर्ने पक्का छ ।