FLASH NEWS
  • Loading...

कोरनामुक्त भएकाहरु गाउँ फर्केर के गर्दैछन ?

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १५१ पटक पढिएको
कोरनामुक्त भएकाहरु गाउँ फर्केर के गर्दैछन ?

कोरना संक्रमण मुक्त भै घर फर्केका सवै ५ महिलासमेत ४८ जना समाजमा घुलमिल भै काममा रमाउन थालेका छन । आईसोलेसनबाट घर फर्केर उनीहरु कम्तीमा एक साता ‘होम क्वारेन्टाईन’ बसेपछि मात्र समुदायमा घुलमिल हुन थालेका हुन ।
‘हाम्रा आमाछोरी १० दिन क्वारेन्टाईन बस्यो । कोरना संक्रमण पुष्टी भएपछि २१ दिन आईसोलेसनमा बस्यौं । मेरो दोस्रो र छोरीको तेस्रो पिसिआर रिपोर्ट नेगेटिभ आएपछि घर फर्केका हौं । घर फर्केर पनि हामी थप १४ दिन होमक्वारेन्टाईन बस्यौं’ रघुगंगा गाउँपालिका, २ भगवतीकी विष्णु भण्डारीले भनिन, ‘अहिले त सहज भएको छ । तीज मनाउन माईती आएकी छु । कुनै समस्या छैन ।’
विष्णु मात्र होईन, आईसोलेसनमा सवैभन्दाबढी २५ दिन विताएका मंगला गाउँपालिका, १ तुसारेपानीका नरबहादुर किसान पनि कोरना मुक्त भएपछि घर फर्केर ‘एक साता होमक्वारेन्टाईन बसेका थिए । किसानको असार १० गतेको पहिलो पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो । साउन ५ गते तेस्रो पिसिआर रिपोर्ट नेगटिभ आएपछि कोरना मुक्त भै घर फर्केका थिए ।
‘घर फर्केपछि बाहिर पिंढीमा बसें । समाजमा अरुले भन्ने बाटो किन बनाउने भनेर कतै बाहिर गईन’ किसानले भने, ‘त्यसपछि भने धानरोप्ने, कोदो रोप्ने र घाँसपातमै दिन वितेको छ । गाउँतिर पनि डुल्न निक्लेको छैन ।’
जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्रका अनुसार कोरना संक्रमित मात्र होईन क्वारेन्टाईनमा बसेर पिसिआर रिपोर्ट नेगेटिभ आएका पनि घर फर्केर होम क्वारेन्टाईन बसेका थिए । वैशाख मसान्तसम्म विदेश तथा स्वदेशका सहरबाट घर फर्केका ३ सय ५३ क्वारेन्टाईनमा बसेको थिए ।
केन्द्रका सदस्य एवं क्वारेन्टाईन ब्यवस्थापन उपसमितिका संयोजक सुरत केसीले उपलब्ध गराएको तथ्याङ्क अनुसार ०७७ जेठ महिनादेखी यता भारतबाट २७ महिलासमेत २ सय २० जना र तेस्रो मुलुकबाट १२ जना महिला समेत ३ सय ८० जिल्ला आई क्वारेन्टाईन बसेर पिसिआर रिपोर्ट नेगेटिभ आएपछि घर फर्केका छन । तेस्रो मुलुकबाट आउनेमध्य कुवेतबाट ९९, दुवैबाट ९८, साउदीबाट ७२, कतारबाट ३७, बहराईनबाट ३१, मलेशियाबाट २५, जापानबाट १, अमेरिकाबाट ६, ओमनबाट ६, मालदिभ्सबाट २ र २ जना दक्षिण कोरियाबाट फर्केकाहरु क्वारेन्टाईन बसी पिसिआर परिक्षण गरिएको थियो ।
कोरनामुक्त म्याग्दी
बेनी नगरपालिका, ४ का केशरबहादुर थापाको साउन २९ गते पिसिआर रिपोर्ट नेगेटिभ आएसँगै म्याग्दीमा कोरना संक्रमण शुन्य भएको छ ।
जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्रका अनुसार कोरना संक्रमण भै आईसोलेसनमा बसेका सवै ४३ पुरुष र ५ जना महिलाको दोस्रो/तेस्रो पिसिआर परिक्षण रिपोर्ट नेगेटिभ आएपछि आईसोलेसन खाली भएको हो । हाल म्याग्दी क्याम्पस र माउण्ट एभरेष्ट पुरानो भवन क्वारेन्टाईनमा रहेका एक नाबालक, दुई बालिका र तीन महिलासमेत १७ जनाको पिसिआर रिपोर्ट आउन बाँकी छ । तीन बालबालिकासमेत ७ जना भारतबाट फर्केका हुन ।
‘हाल म्याग्दी जिल्लाभित्र कोरना संक्रमित छैनन । तर म्याग्दी ठेगाना भएका दुई जना काठमाण्डौको आईसोलेसनमा रहेकाले श्वास्थ्य मन्त्रालयको अभिलेखमा म्याग्दीलाई संक्रमितको सूचिमा देखिएको हो’ कोभिड–१९ ब्यवस्थापन केन्द्रका सदस्य एवं क्वारेन्टाईन ब्यवस्थापन उपसमितिका संयोजक सुरत केसीले भने, ‘तेस्रो मुलुकबाट फर्केकाहरुमा कोरना संक्रमण दर घटेको छ । तर भारतबाट फर्केर क्वारेन्टाईनमा रहनुभएकाको आशंका छ । छिमेकी जिल्लामा समुदायमा संक्रमण फैलिएकोले जिल्लामा उच्च सतर्कता अपनाएका छौं ।’
जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्रका अनुसार भारतसमेत विदेशबाट फर्केका ६ सय ३९ जनासमेत हालसम्म जिल्लामा एक हजार दुई जनाको १ हजार १ सय ९ स्वावको परिक्षण (पिसिआर) गरिएको छ । १ सय ९२ जना सर्वसाधारण र १ सय ७१ जना स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको स्वाव परिक्षण गरिएको हो । एक पटक कोरना पोजेटिभ आएका संक्रमितको र सम्पर्कका स्वास्थ्यकर्मीको दोहोऱ्याएर १ सय ७ पटक पिसिआर परिक्षण गरिएको थियो ।