FLASH NEWS
  • Loading...

४ दिनसम्म पनि पुगेन पहिरो प्रभावित क्षेत्रमा राहत

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ८८ पटक पढिएको
४ दिनसम्म पनि पुगेन पहिरो प्रभावित क्षेत्रमा राहत

तस्वीर : नारायण जिसीको फेसवुकवालबाट

बाढीपहिरोबाट अति प्रभावित म्याग्दीको धौलागिरि र मालिका गाउँपालिका पुग्ने सडक र गोरेटोसमेत अवरुद्ध हुँदा विस्थापितका लागि राहत पुर्‍याउन कठिनाइ भएको छ । खराब मौसमका कारण हेलिकप्टरसमेत उड्न नसकेपछि त्रिपाल, टेन्ट, खाद्यान्न, खानेपानीका पाइपलगायत राहत सामग्री घटनाको चौथो दिन (सोमबार) सम्म पनि पुर्‍याउन नसकिएको हो ।
दुवै पालिकामा गरी ७ सय ५० जनाभन्दा बढी विस्थापित छन् । ‘सुरुमा उद्धार टोलीसँग पठाएको ५० बोरा चामल, दुई बोरा दाल, २० कार्टुन तेल, बिस्कुट, चाउचाउ, मसला समेतका खाद्यान्न सकिएको खबर छ । सोमबार हेलिकप्टरमा तीन क्विन्टल चामलसहित सामान पठाउने तयारी गरिएकोमा खराब मौसमले सम्भव भएन,’ प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले भने, ‘सडक पूरै अवरुद्ध भएकाले राहत सामग्री ढुवानीमा समस्या भएको छ ।’ सरकारले खासै पहल नगरे पनि स्थानीय व्यवसायीले हेलिकप्टर उपलब्ध गराएकाले मात्र यसअघि राहत पुर्‍याउन सकिएको हो ।
पहिरोले क्षति पुर्‍याएका धौलागिरिको मराङ, कल्लेनी, राम्चे, रिखार तथा मालिकाको बिम, दुले र नुरवाङमध्ये कल्लेनी र बिममा बाहेक अन्यत्र हिँडेर पुग्न सकिने अवस्था छैन । शुक्रबार बिहान ४ बजेतिर खसेको पहिरोले धौलागिरि–६ मराङ, वडा–७ ताकमको कल्लेनी र मालिका–७ बिमका ५० घर पूर्णरूपमा पुरिएका थिए । पहिरोले घर बगाएका तथा जोखिमयुक्त स्थानका १५० भन्दा बढी परिवारका कम्तीमा ७ सय ५० जनालाई सुरक्षित स्थलमा सारिएको छ । पहिरोले धौलागिरिमा २० र मालिकामा ८ जनाको मृत्यु भएको थियो भने १२ जना घाइते छन् । चार जना अझै बेपत्ता छन् ।
पहिरोले घरबारविहीन भएका र उच्च जोखिमका क्षेत्रमा रहेकालाई ताकमको हेम मावि, मराङको राम्चे सामुदायिक भवन र बिमको जनविकास आधारभूत विद्यालयमा राखिएको छ । परिवारका सदस्य गुमाएकाहरु त्यहीँ सामाजिक संस्कारअनुसार काजकिरियामा बसेका छन् । केही स्थानीय दिनभर किरियापुत्रीको साथमा रहने त केही खेतबारीमा काम गर्ने, वस्तुभाउको स्याहार गर्ने र साँझ बास बस्न आउने गरेका छन् । पहिरोमा सर्वस्व गुमाएकाहरु मानसिक रूपमा समेत विक्षिप्त बनेका स्थानीय प्रगति युवा क्लबका अध्यक्ष चक्रबहादुर पुनले बताए । ‘दिनभर टोलाएर बस्छन्,’ पुनले भने ।
जिल्ला विपद् व्यवस्थापन समितिको टोली खोज उद्धार सकिएको र पीडित पुनर्बासको दायित्व स्थानीय सरकारको भएको भन्दै प्रभावित क्षेत्रबाट फर्किएको छ । स्थानीयलाई गाँसबासकै समस्याले विचल्लीमा परेका छन् । घटनाको चौथो दिनसम्म घर, पशुचौपायालगायत भौतिक क्षतिको लगत संकलन हुन सकेको छैन । बाटाघाटो, खानेपानी आयोजना र वडा कार्यालयमा समेत क्षति पुगेका छन् । आपतकालीन सेल्टरमा राखिएका विस्थापित र स्थानीयले वर्षेमूलको पानीले काम चलाएका छन् । समाचार श्रोत : इकान्तिपुर डट कम