FLASH NEWS
  • Loading...

बाढीपहिरोमा २७ को मृत्यु, ४ वेपत्ता, १२ जना घाईतेको उद्धार

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ९७ पटक पढिएको
बाढीपहिरोमा २७ को मृत्यु, ४ वेपत्ता, १२ जना घाईतेको उद्धार

दुर्गम धौलागिरी गाउँपालिका–६ मराङ एउटै वडा भएपनि हिमालको फेदमा दक्षिण पूर्व फर्केका दर्जन बढी पाखामा बस्ती छरिएर रहेको छ । छिमेकी मालिका गाउँपालिका–७ विमका वस्ती पनि उसैगरी छिरोलिएकै छन । ५ वर्ष मलेसिया बसेर फर्केपछि सुरक्षित र बलियो जग्गा खोजेर वर्षदिन अघिमात्र विम मल्थानका पूर्णबहादुर परियारले घर बनाए ।
भाई विरबहादुरको घर तल्लो गह्रामा थियो । विहीबार रातभर पानी दर्कियो । रोपाईको चटारो थिएन, त्यसैले विहानै उठ्ने हतारो गरेनन् । त्यसैले श्रीमती गौदेवी र तीनबर्षका छोरा विशेषलाई च्यापेर शुक्रवार विहान अवेरसम्म सुते पूर्णबहादुर ।
विहान ६ बजे एक्कासी घरमाथी पहिरो खस्यो, सँगै सुतेका श्रीमति, छोरा र पूर्णबहादुरको टाउकोसम्म पुर्‍यो । उनले जसोतसो हात झिके, आफुमाथीका ढुङ्गामाटो पन्छ्याए र बाहिर निक्लिए । श्रीमति र छोरालाई निकाल्न ढुङुगामाटो खोतल्दै थिए, अर्को पहिरोको लप्का आयो र दुवैलाई बढारेर लग्यो । उनी बाहिर निक्लेर चिच्च्याए, तल्लो गहको भाईको ४ जनाको परिवारसहित घर पनि पहिरोले बगाइसकेको थियो । ‘संगै सुतेका श्रीमती र छोरालाई अंगालोबाट पहिरोले खोसेर लग्यो । भाईको परिवारै बग्यो । के अधर्म गरेको रैछुर यस्तो व्यहोर्नुपर्‍यो । मेरो पनि आधा हर नचल्ने बनायो,’ अस्पतालको वेडमा बर्वराएका पूर्णबहादुरले भने, ‘मलाई पो किन छोडे होला, सँगै लैदेको भए हुन्थ्योनी ।’
पूर्णबहादुरको मात्र होईन, भारी वर्षापछि मराङका राम्चे, आरवाङ, ठूलोगाउँ, रिख, कल्लेनी, ताकम र विमको दुले, विम, घन्टीवाङसमेतका वस्तीमा आएको पहिरोले पुरिएर २७ जनाको मृत्यु भएको  जिल्ला प्रहरी प्रमुख डिएसपी किरण गुरुङले बताए । ४ अझै वेपत्ता छन । पशुचौपाया र खेतीयोग्य जमीनको क्षतीबारे कुनै लेखाजोखानै छैन १२ घाइतेको उद्धार गरिएको छ । उनीहरुमध्ये ८ जनाको बेनी अस्पतालमा र ४ जनाको पोखरामा उपचार भइरहेको छ । घाइतेमा एक गर्भवती छन ।
एउटै पहिरोले यतिका मान्छेको ज्यान गएको भने होइन । दर्जनौ पहिरा खसेका छन । प्राय: घर छुट्टाछुट्टै पहिरोले पुरिएका हुन । सेनाको हेलिकोप्टरबाट उद्धारकर्मीलाई पुर्‍याईएको हो । निर्माण ब्यवसायी नारायण जिसी र ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यसहितको टोलीले अर्को हेलिकोप्टरमा खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन सहितका राहत सामाग्री लिएर घटनास्थलमा पुगेका छन । टोलीले जिल्ला विपत ब्यवस्थापन समितिको संयोजनमा राहत वितरण गरिएको बताएको छ ।
पहिरोबाट ५० बढी घरका ७ सय विस्थापित भएका छन । विस्थापितमध्ये सिवाङ माविमा ८०, दलित सामुदायीक भवन राम्चे, मराङमा २ सय ५०, जनविकास आधारभूत विद्यालय अर्वाङमा २ सय र अन्यलाई विमको किसानी मावि र आफन्तकोमा राखिएको छ । उनीहरुका लागी ३ देखि ५ दिनलाई पुग्ने ५० बोरा चामल, दाल, नुनतेल समेतको खाद्यान्न पुर्‍याईएको छ । सिवाङमा रहेका कल्लेनी र ताकमका विस्थापितलाई धौलागिरी गाउँपालिकाले छुट्टै खाने ब्यवस्था मिलाएको मराङका वडाध्यक्ष राजाराम सुवेदीले बताए ।
‘हामीले शुक्रवार आएको विपतमा परेका मराङ, विम समेतका पहिरो प्रभावितका लागि तत्काल ५ लाख १९ हजार बराबरको खाद्यान्न पुर्‍याएका छौं । राज्यसँग मिलेरै आवश्यक अन्य राहतमा सहकार्य गर्छौ,’ शाक्यले भने, ‘मान्छे मर्दापर्दा नै चाहिने हो । अरुवेला त सवैले आफ्नो लागी गर्छन ।’
घटनास्थलमा विभिन्न टोली बनाएर परिचालन गरिएको छ । जिल्ला विपत ब्यवस्थापन समितिले विममा अस्थाई क्याम्प राखी प्रहरी, शसस्त्र, सेना, स्वयमसेवक, उद्धारकर्मी र राहतकर्तालाई परिचालन गरेको छ । राहत र उद्धार टोली वस्ती वस्तीमा छुट्टाछुट्टै परिचालन भएको जनाईएको छ ।
‘शनिवार दिउँसोसम्म पहिरो प्रभावित सवै स्थानमा खोज, उद्धार तथा राहत टोली पुगेको छ । उद्धारकर्मीले पहिरोमा वेपत्ताको खोजी, सनाखत र घाईतेको उद्धार गरिरहेको छ । राहत टोलीले पहिरोबाट विचल्लीमा परेकाको तथ्याङ्क राख्ने र राहत सामाग्री पुर्‍याउने प्रयास थालेको छ’ प्रमुखजिल्लाअधिकारी ज्ञाननाथ ढकालले भने, ‘भौगोलिक कठिनाई, प्रतिकुल मौसमले तत्काल पुग्न नसकेपनि संभव पुग्ने प्रयास गऱ्यौं ।’
घटनामा

जम्मा मृतक : २७ जना
जम्मा घाईते : १२ जना
अव वेपत्ता संख्या : ४ जना
शनिवार जिवित सम्पर्कमा आएको : ३ जना ।

धौलागिरी गाउँपालिकाका मृतक

१,तुलबहादुर केसी
२, प्रकाश केसी
३, सुकना लामगादे
४, आषिस लामगादे
५, आयुसा लामगादे
६, आयुष लामगादे
७, मन सिर्पाली
८, कमला सिर्पाली
९, सुरक्षा सिर्पाली
१०, सुरज सिर्पाली
११, रेश्मा सुनार
१२,हिरामती जुग्जाली
१३, करिस्मा जुग्जाली
१४, कञ्जन जुग्जाली
१५, दिप्ती जुग्जाली
१६, दिमाजुग्जाली
१७, दिवान जुग्जाली (छोरा)
१८,हिरामती जुग्जाली
धौलागिरी वेपत्ता
१, जनिमा केसी
२, सविन पुन

धौलागिरीमा घाईते
१, नन्दीता सिर्पाली (गर्भवती) चोटबाट गम्भीर घाईते २९ बर्षिया सिर्पालीलाई हेलिकोप्टरमा उद्धारगरी बेनी अस्पतालमा ल्याईएकोमा पोखरा पुर्‍याईएको छ ।
२, सफल श्रीर्पाली ८ (छोरा)
३, गौमति सुनार (८८)
४, धन जुग्जाली (३५)
५, अंकित जुग्जाली (१२)
६, विर्सना जुग्जाली (१६)
७, दिपक सिर्पाली (२२)
८, कुसल पुन (३५)
मालिकामा मृतक
१,गौदेवी नेपाली (३०)
२, विशेष नेपाली (५)
३, वीरबहादुर नेपाली (३१)
४, विष्णु नेपाली
५, सन्दीप नेपाली (५)
६, निसा नेपाली (२ महिना)
७, विष्णु पौडेल (४०)
८, इच्छा शर्मा (५)

मालिकामा बेपत्ता
१, एलिसा केसी
२, गिता रोका

मालिकामा घाईते
१, पूर्णबहादुर परियार

धौलागिरीबाट वेपत्ता भनिएका ३ जना शनिवार साँझ सम्पर्कमा आएको ।

घुगंगा गाउँपालिकामा मृतक

१, नलिमान छन्त्याल