- Loading...
म्याग्दीमा बाढीपहिरोको उच्च जोखिम, पूर्वतयारी छैन
- पुनहिल डट कम
- ४ साल अघि
- १६९ पटक पढिएको
फाईल फोटो ः ५ बर्ष अघि साविक राम्चे काफलडाँडाको भीर भत्केर खस्दा भगवती, २ बैसरी वस्ती पुरिएको थियो । कालीगण्डकी नदी १६ घन्टा थुनिएको थियो । कालीगण्डकी नदी अग्ला पहाडको गहिरो खोंचमा बग्ने भएकोले जुनसुकै वेलापनि पहिरोको उच्च जोखिममा छ ।
विश्वभर कोरना भाईरस (कोभिड–१९) रोगको महामारी रोकथाम तथा नियन्त्रण गर्न सरकारले गत चैत ११ गतेदेखी लक डाउन गरेपछि सवैको ध्यान कोरना भाईरस संक्रमणबाट जोगिने कुरामा केन्द्रीत छ । लकडाउन, क्वारेन्टाईन, आइसोलेसन, पिपिई टेष्ट, मास्क, सेनीटाईजर समेत स्वास्थ्य सामाग्री र उद्धार तथा राहतमै केन्द्रीत छ ।
शुक्रवारदेखी नेपालको पूर्वी मनसुन सकृय भएको छ । तर बाढीपहिरोको उच्च जोखिममा रहेपनि जिल्लामा विपत पूर्वतयारी भने गरिएको छैन । कोरना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणसँगै आसन्त बाढीवहिरोले निम्त्याउन सक्ने विपतको सामना गर्न तयारीमा पनि लाग्नु जरुरी भएको देखिएको छ ।
कालीगण्डकी, रहुघाट र म्याग्दीनदीमा पानीको सतह बढेको छ । बेनी–जोमसोम सडकमा पहिरो खसेर यातायात अवरुद्ध हुन थालेको छ । जिल्लाका ग्रामिण सडकहरु खहरे खोलामा आउने बाढीले भत्कन थालेका छन ।
अधिक भिरालो तथा कमजोर भूवनावट, खोलानालाको किनारा, भिरको कन्दरामा गुचुमुच्च परेका वस्ती र अब्यवस्थित मोटरबाटो समेतका विकासे योजना निर्माणले अधिकांश वस्ती थप बाढीपहिरोको जोखिममा परेका हुन । ग्रामिण सडक बाढीपहिरोको मुख्य माध्यम भएको प्रमाण हो, जेठ २८ गते विहान रघुगंगा गाउँपालिका, ६ कोटगाउँमा गएको पहिरो । पहिरोले गोठमा सुतिरहेका चार बर्षिया बालिका सिम्रन समेत दुई जनाको ज्यान गयो । खेतवारी पर्यो
अधिकांश वस्ती बाढीपहिरोको उच्च जोखिममा भएपनि विपत न्यूनिकरण र ब्यवस्थापन गर्न न जिल्ला तहमा न त स्थानीय तहमा नै तयारी गरिएको छ । स्थानीय सरकारसंग विपत्तका वेला आवश्यक खोज, उद्धार, प्रविधी र जनशक्ति मात्र होईन उद्धारपछि उपलब्ध गराउनु पर्ने राहत सामाग्री पनि अझै जोहो गरेका छैनन ।
‘विपत ब्यवस्थापन कोष स्थापना गरेका छौं । अहिले यही कोषमा रकम थप गरी कोरना भाईरस संक्रमण विरुद्ध रोकथाम र नियन्त्रणमा खर्च गरेका छौं । सवैको ध्यान नै कोरनामा केन्द्रीत छ’ मालिका गाउँपालिका उपप्रमुख खरमायाँ विटालुले भनिन, ‘बाढी, पहिरोको संकटासन्न अवस्थामा छौं । आपतकालिन उद्धार र राहत सामाग्री पुर्याउन सवै वडामा हेलिप्याड बनाएका पनि छौं तर हामीसँग परिचायलन गर्ने संयन्त्र, उद्धार तथा राहत सामाग्री र दक्ष जनशक्ति भने छैन ।’
भु–तथा जलाधार ब्यवस्थापन फिल्ड कार्यालय बेनीको अभिलेख अनुसार जिल्लाका सवै ६ नगर/गाउँपालिकाका ४५ मध्य २९ वडाका वस्ती र विद्यालय पहिरोको उच्च जोखिमा छन । सदरमुकाम बेनी आफै बाढीको उच्च जोखिममा रहेको देशका थोरै शहर मध्यको एक हो ।
बेनी नगरपालिका अर्न्तगत बेनीबजार, भकिम्लीको तोराखेत, बगरफाँट, बाँस्कुना, चिप्लेटी, पात्लेखेतको बान्द्रीखाल्टी, मालिका गाउँपालिकाको ओखरवोट, धौलागिरी गाउँपालिकामा पर्ने दर गाउँ, मुदी, लुलाङ्ग, रघुगंगा गाउँपालिकाको दग्नाम, बान्दुक, कुईनेको चौरखानी, रायोखोर, घ्याङग्रीखोला पहिरो, मंगला गाउँपालिमा पर्ने बरंजा खस्रुपानी, र अन्नपूर्ण गाउँपालिकाको शिख तल्लो गाउँ, फलाटे, घार तथा रिमा वस्ती समेत जिल्लाका साना–ठुला २० वटा जलाधार क्षेत्रका २६ बस्ती अझ बढी जोखिममा छन ।
‘नदी कटान र मोटरबाटोको कारण भलपानीको उचित ब्यवस्थापन नहुँदा सतही बाढीपहिरोले बढी क्षति पुर्याएको छ । अब्यवस्थित मोटरबाटोले बर्षाको पानी जमिनमुनी सोसिन नपाउँदा मुहान सुक्ने समस्या बढेका छन’ भु–तथा जलाधार ब्यवस्थापन फिल्ड कार्यालय बेनीका प्रमुख शम्भु मिश्रले भने, ‘कमजोर भु–वनावटको कारणले दुई दर्जनबढी जमिनको भित्री तहदेखी बगेका पहिरो भौर्गभिक अध्ययन र योजना विना सजिलै रोकथाम र ब्यवस्थापनमा समस्या छ ।’
सदरमुकाम समेत सवै ग्रामिण सडक बाढीपहिरोको उच्च जोखिममा रहेकोले जिल्ला दैविप्रकोप उद्धार समिति मातहत २४ सै घन्टा संञ्चालन हुनेगरी स्थापना भएको जिल्ला आपतकालिन कार्य संञ्चालन केन्द्र (डिओसी) निस्कृय छ । फोकल पर्सन को हो ? तोकिएको छैन । बाढीपहिरोको विषयमा सरोकारवालाहरु विच छलफल समेत सुरु भएको छैन ।
‘हामी मात्र होईन, देश र अर्न्तराष्ट्रिय समुदाय नै श्वास्थ्य विपत ब्यवस्थापनमा जुटेका बेला बाढीपहिरोले निम्त्याउने विपदको तयारी ओझेलमा देखिएको छ । तथापी हामी विपतमा खोज र उद्धारकालागी आवश्यक सामाग्री नभएपनि हामी रेडक्रस, सेना, प्रहरी समेत सरोकारवाला तयारी अवस्थामा छौं’ प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले भने, ‘तत्काल जिल्ला विपत ब्यवस्थापन समितिको बैठक राखी बाढीपहिरोको जोखिम ब्यवस्थापन तर्फ पनि थप योजना बनाउँछौं । टोली तयारी अवस्थामा राख्छौं ।’
जिल्ला प्रहरी कार्यालयले उपलब्ध गराएको अभिलेख अनुसार पछिल्ला तीन बर्षमा बाढीपहिरोबाट ६ जनाको मृत्यु, ८ जना घाईते भएका छन । ४९ घर र १८ गोठ पुरिदा ४ करोड ४७ लाखबढीको भौतिक क्षति भएको थियो ।
बेनीमा रैथाने बृद्धबृद्धाहरुको भोगाई अनुसार २०२१ सालको साउनमा म्याग्दी नदीमा बाढी आउँदा बेनीको पश्चिम मंगलाघाट बजारमा क्षति पुर्याएको थियो । ०३८ साल सर्जेनीको पाखोमा पहिरो गएपछि सदरमुकाम बेनीको अधिकांश बस्ती र खेतवारी पुरेको थियो ।
त्यसैगरी ०४४ सालमा कालीगण्डकी नदीमा आएको बाढी पस्दा कालीपुल बजार डुवानमा परेको थियो । बाढीले कालीपुलदेखी एक किलोमिटर तल दोविल्लासम्म एकसय मिटरसम्म भित्र पसेर कटान गरेको थियो । पछिल्लो पटक २०५० सालमा म्याग्दीनदीमा आएको बाढीले मंगलाघाट बजारमा क्षति पुर्याएको थियो ।
०४५ साल असोज ५ गते राती भिषण पहिरो खस्दा जिल्लाको दोस्रो ठूलो ब्यापारिक दरवाङ्ग बजार पुरिँदा एक सय आठ जनाको मृत्यु भएको थियो । थुपै पशुपंक्षि बगाएको थियो । छ घन्टासम्म पहिरोले म्याग्दी नदीलाई थुन्दा तटिय क्षेत्रका बाबियाचौर, सिङ्गा सदरमुकाममा समेत कटान गरेको थियो । ०५४ सालको असोज १० गते विहान अन्धगल्छीमा भिषण पहिरो खस्दा कालीगण्डकी नदी १० घन्टा थुनिएपछि पर्यटकिय वस्ती तातोपानी बजारका करिव १२ पर्यटकिय होटल, २५ आवसिय घर, विद्यालय, श्वास्थ्य चौकी र प्रहरीचौकीसमेत डुबानमा परेको थियो ।