FLASH NEWS
  • Loading...

कार्यविधी बनाई क्वारिन्टीनमा खर्च ब्यवस्थापन गर

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १२२ पटक पढिएको
कार्यविधी बनाई क्वारिन्टीनमा खर्च ब्यवस्थापन गर

कोरोना संक्रमण रोक्ने उद्देश्यले जिल्लामा सवै ६ वटै स्थानीय तहमागरी १ सय ७३ बेड क्षमताको क्वारिन्टीन निर्माण भए । यी क्वारिन्टीन स्थापना तथा संञ्चालन खर्च विधी र विवरण भने सार्वजनिक गरिएका छैनन ।
विपद×/आपतकालिन समयमा प्रचलित आर्थिक कानुनको जस्ताको त्यस्तै पालना गर्न संभव नहुन सक्छ । त्यस्तो वेलामा गरिने खर्च विधी र विवरण तत्काल सार्वजनिक गर्न असंभव हुन्छ । तर विपद/आपतकालको आवरणमा आर्थिक ऐन/नियमलाई पन्छ्याउन भने मिल्दैन । कोरना रोकथाम तथा नियन्त्रण गर्न सुरु गरिएको लकडाउन र तत्काल थालिएका क्वारिन्टीन, आईसोलेसन कक्ष निर्माण समेत सम्बन्धीत गतिविधीको खर्च कार्यविधी र खर्चका विवरण सार्वजनिक गर्न ढिला गर्नु हुँदैन ।
यी क्वारिन्टीनमा विदेशबाट फर्केका मात्र होईन सहरबाट पुख्यौली थलो फर्केका समेत ३ सय ५३ जनालाई अनिवार्य वसे अझै । क्वारिन्टीनमा राखिएका मध्य ९५ जना विश्वका बिभिन्न देशबाट फर्केका हुन । बाँकी काठमाण्डौ, पोखरा, चितवन समेतका सहरबाट पुख्यौली थलो फर्केका हुन । अझै बेनी नगरपालिका, अन्नपूर्ण र मालिका गाउँपालिकामा गरी २३ जना क्वारिन्टीनमा राखिएको छ ।
चैत ११ गतेबाट सुरु भएको लकडाउन लगत्तै हतारमा विना पूर्वाधार सुरु गरिएको क्वारिन्टीनमा अन्धाधुन्दा लगानी गरेका स्थानीय तहले कुन कुन शिर्षकमा कति रुपैयाँ खर्च भएको विवरण तयार पार्न सकेका छैनन । लकडाउनको महिनादिन पछि सहरबाट गाउँ फर्कनेको लर्को लागेपछि क्वारिन्टीन खर्च ब्यवस्थापनमा टुङ्गो नभएको स्थानीय तहले बताएका छन ।
‘बेनीको क्वारिन्टीनमा रकेका नगरबासीको खाना, खाजा खर्च नगरपालिकाले ब्यहोर्ने भन्ने कुरा भएको हो । तर क्वारिन्टीमा को को बसे, कुन कुन शिर्षकमा के कति खर्च भयो, हामी अनभिज्ञ छौं’ बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले भने, ‘क्वारिन्टीनमा नगरवासी मात्र बसेका छैनन । विभिन्न विधुत प्रोजेक्टका मजदुर समेत ल्याएर राखिएको सुनेका छौं तर हाम्रीसँग सल्लाह भएको छैन । नगरबासी तथा विपतमा परेका बाहेक अन्यको खर्च हामीले ब्यहोर्न सक्ने अवस्था छैन ।’
कोभिड–१९ प्रकोप कन्ट्रोल कमाण्ड पोष्टको संयोजक रहेको जिल्ला प्रशासन कार्यालयले वैशाख २३ गते गृह मन्त्रालयलाई गरेको रिपोर्ट अनुसार जिल्लामा सवैभन्दाबढी धौलागिरी गाउँपालिकाले १ सय ४ जनालाई क्वारिन्टीनमा राखेको छ  । यी सवै सहरमा लकडाउनले मुस्किल भएपछि काठमाण्डौ समेत सहरबाट गाउँ फर्केका हुन ।
त्यसैगरी रघुगंगा गाउँपालिकाले ६६ जनालाई क्वारिन्टीनमा राखेकामध्य ५१ जना विदेशबाट फर्केका र मंगला गाउँपालिकाको क्वारिन्टीनमा बसेका ६३ जनामध्य ८ जना विदेशबाट फर्केका हुन । बेनी नगरपालिकाको क्वारिन्टीनमा बसेर घर फर्केका ४७ जनामध्य २५ जना विेदशबाट फर्केका हुन । अझै ६ जना क्यारिन्टीनमा छन । अन्नपूर्ण गाउँपालिकाले ४४ जनालाई क्वारिन्टीनमा राखेकोमध्य ११ जना विदेशबाट फर्केका हुन । यहाँ अझै ४ जना बाँकी छन । मालिका गाउँपालिकाले तीन वटा क्वारिन्टीनमा राखेका २४ जना घर फर्के । १३ अझै बाँकी छन । यी सवै काठमाण्डौबाट गाउँ फर्केका हुन ।
‘सवै ठाउँको क्वारिन्टीनको संञ्चालन खर्च वील संकलन भएको छैन । एउटा केन्द्रको ७३ हजारको वील आएको छ । बाँकी २ स्थानमा अझै १३ जना क्वारिन्टीनमा रहेकोले वील बनेको छैन’ मालिका गाउँपालिका प्रशासकीय अधिकृत सुर्य विकले भने, ‘सकेसम्म खर्च कम गर्ने प्रयास गरेका छौं । कुन कुन शिर्षकमा खर्च भयो, छुट्टाउन बाँकी छ ।’
दुर्गम धौलागिरी गाउँपालिकाले ४० बेड,  मालिका गापामा ८ बेड,  मंगला गापामा १० बेड, अन्नपूर्ण गापामा १५ बेड, रघुगंगा गापामा १५ र बेनी नगरपालिकामा २० बेड क्षमताका क्वारिन्टीन निर्माण गरिएको थियो ।