- Loading...
अरुणा शाहीलाई न्यु डाईमण्ड रोज्नु -‘पारिवारिक माहोल’
- पुनहिल डट कम
- ४ साल अघि
- १३७ पटक पढिएको
नेपाली राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाही पछिल्लो समय न्यु डाईमण्ड स्पोर्ट्स क्लबबाट घरेलु प्रतियोगिता खेल्दै आईरहेकी छिन् ।
घरेलु टिम गण्डकी प्रदेशले सहभागिता नजनाएको अधिकांस प्रतियोगितामा अरुणाले न्यु डाईमण्डबाट खेल्ने गर्छिन । पुस अन्तिम साता आयोजना भएको होग्वान्जी न्यु डाईमण्ड कप भलिबलमा अरुणाले न्यु डाईमण्डबाट खेलेकी थिइन् । आयोजक न्यु डाईमण्ड उपविजेता बनेको थियो ।
अहिले चलिरहेको पाँचौ संकरणको आरबीबी एनभीए राष्ट्रिय महिला-पुरुष क्लब भलिबल च्याम्पियनसिपमा पनि अरुणाले न्यु डाईमण्डको जर्सी लगाएकी छिन् । राष्ट्रिय टिमका सेटर समेत रहेकी अरुणा घरेलु प्रतियोगितामा किन न्यु डाईमण्ड रोज्ने गर्छिन त ?
न्यु डाईमण्ड रोज्नु अरुणाको खास कारण छैन । तर, राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडी टिममा हुनु र टिमको पारिवारिक माहोलले नै अरुणालाई न्यु डाईमण्डले आकर्षित गर्यो ।
‘डाईमण्डबाट खेल्दा धेरै खुशी छु,’ अरुणा भन्छिन्, ‘यहाँको माहोल पारिवारिक भएकाले खेल्न सहज पनि भएको छ ।’
अरुणा आरबीबी कपमा गण्डकी प्रदेशबाट खेल्ने योजनामा थिइन् । तर, टिमले सहभागीता नजनाएपछि डाईमण्डबाट खेलेकी हुन् ।
गण्डकी प्रदेशले सहभागिता जनाएको प्रतियोगितामा भने आफुले न्यु डाईमण्डबाट नखेल्ने उनको भनाई छ ।
‘अबको प्रतियोगितामा गण्डकी प्रदेशले सहभागिता जनाउने भयो भने त्यहीबाट खेल्छु किनकि उतैबाट जन्मिएको खेलाडी हुँ । खेल्नु नै पर्छ तर आएन भने डाईमण्डबाटै खेल्छु,’ अरुणा भन्छिन् ।
अरुणाले डाईमण्डमा साना उमेरका खेलाडीहरु भएपनि उनीहरुसँग खेलको धेरै अनुभव भएकाले जुनियरसँग खेलेको जस्तो महसुस नहुने समेत बताईन् । यस्तै, अरुणाले घरेलु टिमबाट भन्दा अर्काे टिमबाट खेल्दा दबाब हुने बताईन् ।
‘आफ्नो क्लबबाट खेल्दा दबाब धेरै हुँदैन तर अर्काे क्लबबाट खेल्दा अलिकति भएपनि दबाब हुन्छ,’ उनले भनिन्, ‘किनकि बिग्रियो भने मलाई भन्ने होकि भन्ने सोच आउछ ।’