FLASH NEWS
  • Loading...

औपचारिकतामा सकियो महिलाहिंसा विरुद्धको १६ दिने अभियान

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १६५ पटक पढिएको
औपचारिकतामा सकियो महिलाहिंसा विरुद्धको १६ दिने अभियान

यस वर्षको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान म्याग्दीमा पनि मंगलबार समापन गरिएको छ ।

हरेक वर्षको नोभेम्बर २५ देखि डिसेम्बर १० तारिक सम्म मनाइने दिवसको यसपालिको नारा “समानताको पुस्ता, बलात्कार विरुद्ध एक्यवद्धता” भन्ने रहेको थियो ।

स्थानीय तह, गैरसरकारी संघ संस्थाहरुको सहभागितामा विभिन्न सन्देश तथा जनचेतनामुलक कार्यक्रम गरेर दिवस मनाइएको हो । बेनी नगरपालिकाको आयोजनामा विभिन्न संघ संस्थाहरुको सहभागितामा बजारमा ¥याली र समारोहको आयोजना गरिएको थियो ।

नगरपालिका कार्यालयबाट प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल लगायत कार्यालय प्रमुख, सुरक्षा अधिकारी, जनप्रतिनिधी र महिला सहभागि औपचारिक कार्यक्रममा प्रमुख अतिथि बेनी नगर उपप्रमुख सन्जु बरुवालले लैङ्गिक हिंसा न्युनीकरणका लागि चेतनाको विकास र महिलाको आर्थिक स्रोतमा पहुँच बढाउनुपर्ने  बताईन ।

कार्यक्रममा महिला अधिकार मञ्चका अध्यक्ष दिवाकुमारी पुनले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवधारणापत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा महिला उद्यम विकास समितिका सभापति सुनिता केसी, बेनी नगरपालिकाको ८ नम्बर वडा स्तरीय आमा समूहकी अध्यक्ष भुलमाया तिलीजा, सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष बिष्णु गुरुङ लगायतले आ–आफ्ना मन्तब्य राखे ।

महिला हिंसा विरुद्धको १६ दिने अभियानलाई ‘श्राद्धमा विरालु बाध्ने’ उखानसँगै ठ्याक्क मिल्नेगरी औपचारिकताकालागी बेनी नगरपालिकाले जस्तै अन्य ५ वटै गाउँपालिकाहरुले पनि विभिन्न कार्यक्रम गरे ।

अभियानका क्रममा धवलागिरी गाउँपालिकाको गुर्जामा सचेतनामुलक कार्यक्रम र मराङमा स्त्रीरोग सम्बन्धी स्वास्थ्य शिविर सञ्चालन भएको थियो । मालिका गाउँपालिकाको वडा स्तरमा कानुनी सचेतना र मंगला गाउँपालिकामा सचेतनाका साथै निमावी र माविका छात्राहरुलाई लक्षित गरेर सेनेटरी प्याड वितरण गरिएको थियो ।

रघुगंगा गाउँपालिकाले पनि सचेतनामुलक कार्यक्रम गरेको थियो भने अन्नपूर्ण गाउँपालिकाले प्रभा माविका छात्राहरुलाई सेनेटरी प्याड वितरण गरेको थियो । बेनी नगरपालिकाको आयोजनामा घतानमा स्त्री रोग सम्बन्धी स्वास्थ्य शिविर भएको थियो ।