FLASH NEWS
  • Loading...

बेनीमा जीवन विमाको अस्वस्थ्य प्रतिस्पर्धा

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ३४८ पटक पढिएको
बेनीमा जीवन विमाको अस्वस्थ्य प्रतिस्पर्धा

१८, भदौ ।
बढी कमिसन लोभमा सुरु प्रिमियम (एफपिआई) आफैले हालेर आफन्तलाई धेरै रकमको जीवन विमा गराउँने होडबाजी चलेको छ ।
जीवन विमाको महत्व ति विमितहरुलाई राम्रोसँग नबुझाई वीमा गर्दा विमितहरुले पहिलो किस्ताको प्रिमियम त फिर्ता दिएनन नै दोस्रो किस्ता प्रिमियम पनि नचलाएपछि म्याग्दीका एक अभिकर्ताले खेत बेच्नु परेको छ । परिवारमा कसैको दुर्घटना वा अन्य कारणले मृत्यु भएमा आश्रित सदस्यलाई आर्थिक राहत सुरक्षित गर्न बिमा गरिन्छ । तर, बिमा कम्पनीको अस्वस्थ प्रतिस्पर्धाले अभिकर्ता मात्र होइन, सयौं बिमितले पहिलो किस्ता प्रिमियमपछि निरन्तर हुन सकेका छैनन् ।
‘बिमाको महत्त्व, प्रिमियम बुझाउने र बिमा भुक्तानी प्रक्रिया नबुझाई बढी कमिसनको लोभमा आफन्त, इष्टमित्र वा पैसावाला खोज्दै बिमा गराउने अस्वस्थ होडबाजी छ,’ एसियन लाइफ इन्स्योरेन्स म्याग्दीका प्रमुख हरि पौडेलले भने, ‘ढंग नपुर्‍याउँदा बिमा एजेन्टले आर्थिक क्षति मात्र व्यहोरेका छैनन्, सामाजिक सम्बन्धसमेत बिग्रेको छ । बलपूर्वक र आफन्तले भनिहाल्यो भनेर बिमा गराउनेमध्ये कम्तीमा १० प्रतिशतले दोस्रो प्रिमियम बुझाउँदैनन् ।’
सानो र थोरै जनसंख्या रहेको बेनीमा बिमा कम्पनीको ओइरो लागेको छ । १८ मध्ये १४ जीवन बिमा कम्पनीले बेनीमा शाखा खोलेर कारोबार गरिरहेका छन् । कम्पनीको ओइरोसँगै एजेन्टबीच पनि अस्वस्थ प्रतिस्पर्धा बढेको छ । कम्पनीले धेरै जनासँग पहुँच भएका राजनीतिक दलका अगुवा, जनप्रतिनिधि, शिक्षक, कर्मचारी, सामाजिक अगुवा, महिला नेतृ र युवा विद्यार्थी संघ–संगठनका नेतालाई एजेन्ट बनाउँछन् ।
बेनी नगरपालिकाकी उपप्रमुख सञ्जु बरुवाल आईएमई लाइफ इन्स्योरेन्सकी अभिकर्ता हुन् ।आईएमई लाईफ इन्सोरेन्सले बरुवाललाई अघिल्लो बर्षको उत्कृष्ट अभिकर्ताबाट पुरस्कृत गरेको थियो । बरुवाल मात्र होइन, नेविसंघका केन्द्रीय सदस्य, नेका जिल्ला सदस्य, चेम्बर अफ कमर्सका जिल्ला अध्यक्ष तथा रेडियो म्याग्दीका स्टेसन म्यानेजर भरत रकाल सूर्या लाइफ इन्सोरेन्सका, अनेरास्ववियुका नेता तथा म्याग्दी क्याम्पस स्ववियु उपसभापति ईश्वर सुवेदी प्राइम लाइफमा आबद्ध छन् ।
यसैगरी गैरसरकारी संस्था महासंघ जिल्ला अध्यक्ष हरि पौडेल एसियन लाइफ, महिला अधिकारकर्मी तथा सामाजिक कार्यकर्ता जमुना आचार्य महालक्ष्मी इन्सोरेन्सका धौलागिरी रिजनकी प्रमुख हुन् । यी उदाहरण मात्र हुन्– शिक्षक, कर्मचारी र अन्य दर्जनौं व्यक्तिले सामाजिक जिम्मेवारीको लाभ यस्ता इन्स्योरेन्स कम्पनीमा चिनजान र आफन्तलाई बिमित गरी उठाएका छन् । जति धेरैलाई र जतिसक्दो धेरै बिमांक रकमको जीवन बिमा गरायो त्यति नै बढी कमिसन आउने भएकाले नेता, जनप्रतिनिधि, शिक्षक, कर्मचारी र सामाजिक कार्यकर्ता एजेन्ट हुन लालायित भएका छन् ।
गत आर्थिक वर्षमा बिमा कम्पनीले बेनीका ५ हजार जनाबाट सुरु प्रिमियम (एफपीआई) मात्र ३५ करोड ५० लाख ७८ हजार बढी रुपैयाँ लगेका छन् । बेनीमा आव ०७५/७६ मा मात्र ८ नयाँ जीवन बिमा कम्पनी थपिएका हुन् । चालु वर्षको पहिलो महिनामा भित्रिएको एलआईसी जीवन बिमा शाखाले पनि साउनमा मात्र ३० जनाबाट ७ लाख सुरु प्रिमियम संकलन गरेको जनाएको छ ।
दोस्रोपछिको सबै प्रिमियम (किस्ता) बुझाएकाको अभिलेख केन्द्रमा मात्र रहने भएकाले जिल्लाबाट वार्षिक कति बिमित छन् र कति प्रिमियम उठ्छ अभिलेख नपाइने कम्पनीले जनाए । युनियनले करिब २ करोड ७४ लाख, नेसनलले १ करोड ५० लाख, एसियनले १ करोड ६५ लाख, आईएमई लाइफले १ करोड ७५ लाख, नेपाल लाइफले १ करोड ७७ लाख र महालक्ष्मी जीवन बिमाले १८ लाख संकलन गरेका छन् ।
‘परिवारको आर्थिक मुली सदस्य दुर्घटनामा पर्दा आ िश्रत सदस्यलाई लाभ पुग्ने भएपछि दुर्गमका किसानले पनि बिमाको महत्त्व बुझ्न थालेका छन् । रोजगारी तथा पेसा व्यवसायमा जोडिएका मात्र नभई घाँस दाउरा गर्नेको पनि जीवन बिमामा आर्कषण बढ्दो छ,’ नेपाल लाइफका प्रकाश रेग्मीले भने, ‘अझै बिमा अभियन्ता सबै घरदैलोमा पुगेर जीवन बिमा गरेर कसैलाई घाटा छैन बरु आर्थिक सुरक्षा प्रदान गर्ने कुरा बुझाउन सकेका छैनौं । बिमा गर्ने र भुक्तानी प्रक्रिया बुझाउन आवश्यक छ ।’
हरेकले बुझेर बिमा गर्न आवश्यक रहेको युनियन लाईफ इन्सोरेन्सका म्याग्दी शाखा प्रमुख सुजन बरुवालले भने, ‘नबुझी र आफन्तको करकापमा होइन, कम्पनीको बोनस र सेवा सुविधाको आधारमा गर्नुपर्छ,’ उनले भनिन्, ‘बिमा गर्दा पोलिसी पढ्नुपर्छ । अभिकर्ता आउँछन् जान्छन् ।’

घनश्याम खड्का, कान्तिपुर दैनिकबाट ।