FLASH NEWS
  • Loading...

कालीपुल शौचालय सफा गर्ने वृद्ध भन्छन, ‘पेट पाल्नै गार्हाे भो’

कालीपुल शौचालय सफा गर्ने वृद्ध भन्छन, ‘पेट पाल्नै गार्हाे भो’

बेनी नगरपालिका, ८ कालीपुल वसपार्कको उत्तरी छेउमा ट्राफिक प्रहरी कार्यालयसँगै जोडिएको छ, एउटा सार्वजनिक शौचालय ।
पुरानो मुस्ताङ वसपार्क कालीपुलको टर्मिनल भवनमा स्थानन्त्रण हुनु अघिसम्म यो शौचालयमा देशका विभिन्न सहरबाट बेनी आउने र बेनीबाट जिल्लाका ग्रामिण भेग एवं मुस्ताङ जाने/आउने यात्रुको भीड लाग्थ्यो ।
प्रायः पुरानो भैसकेको यो सार्वजनिक शौचालयलाई रघुगंगा गाउँपालिका, ८ घ्याँसीखकका ७१ बर्षिय हर्कबहादुर छन्त्यालले पछिल्लो ८ बर्षदेखी छेउमै रुँगेर बस्दै आएका छन । कालीपुल वस पार्क ब्यवस्थापन समितिले वृद्ध अपाङ्ग छन्त्याललाई शौचालय सफा गर्ने, ब्यवस्थापन गर्ने र प्रयोगकर्ताबाट न्यून शुल्क उठाउन जिम्मा दिएको हो ।
०४९/५० सालतिर साउदीमा करिव २० वर्ष मजदुरी गरेका उनी देव्रे खुट्टाको घुँडादेखी तलको भाग चल्न छोडेपछि कामबाट उपचार नगरी उल्टो घर फकाईदियो । साउदीको सामान्य मजदुरी गरी कमाएको पैसा घर छुट्टीमा आउँदा घर खर्चमै सकिन्थ्यो । बचेको पैसाले कालीपुलमा बसेर खुट्टाको उपचार गर्दै सकिएपछि छन्त्याल शौचालय सफाईको काममा जोडिएका हुन ।
छन्त्यालको देव्रे खुट्टाले टेक्न नसकने भएपछि हिमालमुनीको दुर्गम गाउँसम्म हिंडेर जान सक्ने अवस्था नहुनुको साथै गाउँ गएर पनि के गर्ने खेतीपाती, घाँसदाउरा र गोठ गर्न नसक्ने अवस्था आएपछि सदरमुकामै डेरागरी शौचालय सफाईको काममा जोडिएका हुन ।
पहिला–पहिला देशका अन्यत्रबाट आएका गाडी बेनीमै रोकिन्थे । बेनीबाट मात्र मुस्ताङ जाने गाडी चढ्नु पर्थ्यो । यात्रु धेरै आउँथे, शौचालय प्रयोगकर्ता पनि धेरै हुन्थे । दैनिक १ हजारदेखी १२ सय रुपैयाँ शुल्क उठ्थो । अहिले देशका अन्य सहरबाट साोझै गाडी मुस्ताङ पुग्छन । यहाँको टिकट काउण्टर पनि बन्द भयो । मान्छे घटेपछि शौचालय प्रयोगकर्ता घटे, उठ्ने शुल्क पनि घट्यो । अहिले दैनिक एक सयदेखी बढीमा एक सय ५० रुपैयाँ शुल्क उठ्छ ।
कालीपुलमा मासिक २६ सय तिर्नेगरी कोठा भाडा लिएर बसेका छन्त्यालको सहारा जेठो छोराको छारा नातीसँगै छ । सुरुमा श्रीमति र सानो नाती तीन जना बस्दै आएकोमा खर्च थेग्न नसकेपछि ६५ बर्षिया वृद्धा गाउँमै फर्केकी छिन ।
‘छेउमै श्रीमतिले सानो चियापसल खोलिन । यात्रु घटेपछि चिया पसल पनि चलेन । शौचालयको शुल्क घट्ने र चिया पसलपनि बन्द भएपछि दैनिक गुजारा चलाउन मुस्किल भयो । यहाँ पेट भर्न समस्या भएपछि ६५ बर्षकी श्रीमति पनि गाउँ/घर फर्की । अहिले म र नाती मात्र यहाँ छौं’ वृद्ध छन्त्यालले दुखेसो भने, ‘विहान झिसमिसेमै शौचालय खोल्न आउँछु । साँझ आँखाले देखुन्जेल शौचालय खोल्छु । शौचालयमा आउने यात्रुले दिनभर गरेको फोहोर खुट्टा खोच्याउँदै साँझ सफागरी डेरामा फर्किन्छु । साँझको खाना नातीले पकाउँछ । विहान भने यतै होटल तिर रोटीतरकारी, समोसा–चिया, चाउमिन, पाउरोटी–चीया यस्तै खान्छु । नाती केटाले खै के पकाएर खान्छ, कति वेला उठ्छ, कहाँ जान्छ केही थाहा पाउँदिन ।’
बृद्धले थपे, ‘अम्मल (रक्सी सेवन गर्ने) खाने बानी छ । शौचालय सफा गरेको पैसाले त त्यही अम्मल खाने पनि पैसा पुग्दैन । विहान एक गिलाँस पिएर दुर्गन्ध विर्सिन्छु, राती दुई गिलासँ पिउँछु र निद्रा बोलाउँछु । शौचालय सफा गर्ने र यात्रु रुँगेर बस्दा कहिले काहीं त दिक्क लाग्छ, कहिले सम्झिन्छु, यती नभएको भए ? मैले पेट पाल्न मुस्किल हुन्थ्यो भन्ने लाग्छ । फेरी सम्झन्छु यात्रुको सेवा गरेको छु नि ।’
वृद्ध छन्त्यालको देव्रे खुट्टाको घुँडादेखी मुनीको भाग चल्दैन । लठ्ठिको सहाराले हिंडडुल गर्छन । सरकारले मासिक ४ हजारका देरले दिने भत्ताले नाती–बाजेले पाल्ने गरेको छ । महंगी अचाक्ली छ । डेराभाडा, तिहुनतरकारी, ग्याँस, नुनतेल, चामल किन्न नसकिने भैसक्यो । तर सेवा भावले वृद्ध अझै शौचालय सफा गरिरहेका छन ।
‘चामलको मुल्य २५ सय पुग्यो, ग्याँस सिलिण्डर फेरेको २ हजार पर्छ । एक वोरी चामल र एउटा सिलिण्डरले एक महिना पुग्छ । आधा लिटरको एक पोका खाने तेलको मुल्य १ सय २० पर्छ, महिनामा ४ पोका चाहिन्छ । दाल, तरकारी, नुन, चीनि, मसला, यताउती गर्दा १५ सय रुपैयाँ खर्च हुन्छ । सवैगर्दा ६ हजार जतिले दुई जनालाई खाना पुग्छ । चाडपर्वमा एक छाक मासु र ज्यानमा एक सरो कपडा लगाउन पनि पैसा चाहियो, खैत पैसा पुग्दैन । छोराले चाडपर्वमा पैसा पठाउँछ, त्यसैले नयाँ कपडा फर्छौ । आफन्तहरुले केही सहयोग गर्छन, घरबाट पीठो, तरकारी पठाउँछन त्यसरी नै चलेको छ ।’
‘अव बुढो पनि भएँ, कति दिन यो शौचालयको दुर्गन्ध सहेर बस्ने ? छोडुँ र घर फर्कु भन्छु । च्वाट्टै छोडेर हिंड्न सकेको छैन ।’