FLASH NEWS
  • Loading...

बाँदरजुँग भीरमा एकतर्फी सडक खुल्यो

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २३७ पटक पढिएको
बाँदरजुँग भीरमा एकतर्फी सडक खुल्यो

म्याग्दी, ३० असार ।

बेनी–जोमसोम सडकको बाँदरजुँग भीरमा पहिरोले चार दिनदेखी अवरुद्ध यातायात सोमबारदेखी एक तर्फी खुलेको छ ।

बेनी सदरमुकामदेखी ३८ किलोमिटर उत्तर अन्नपूर्ण गाउँपालिका, ३ दानाको काप्रे स्थित बाँदरजुँग भीरमा तल कालीगण्डकी नदी कटानले सडक भासिएपछि शुक्रवारदेखी बेनी–जोमसोम सडकमा यातायात अवरुद्ध थियो ।

संसारको सर्वाधिक गहिरो अन्धगल्छीमा कालीगण्डकीले तल वेस कटान गरेपछि सडक भासिएको थियो । सडक विभागले पहरामा सामान्य खोपेर डाईभर्सन बनाई एक तर्फ सडक खुलाएको हो ।

‘सोमबार देखी साना सवारी साधनलाई एक तर्फ मात्र पास हुनेगरी डाईभर्सन खुलेको छ । मंगलवारसम्म ठूला गाडी एक तर्फी पास गर्ने योजनामा काम भैरहेको प्राविधिकले भनेका छन’ सडक विभागकी स्थानीय सुपरभाईजर रिता बरुवालले बताईन ।

पहिरो ग्रस्त करिव एक सय मिटर स्थानमा मेशिनले बाहिर खोपेर मात्र सडक निर्माण गर्न नसकिने भएकोले सडक विभागले विष्फोटन गरी सडक खुलाउने वा सुरुङ्ग मार्ग छलफलमै छ । आयोजनाका अनुसार वारीपारी कडा पहाड काटेर निर्मित अर्ध सुरुङ्ग जस्ता सडकमामा कालीगण्डकी जोडिएकोले डोजर वा विष्फोटन पदार्थ प्रयोगगरी सडक विस्तार संभव थिएन । मेशिनले कडा पहाड फोड्न संभव नै थिएन, विष्फोटन गरी पहरा फुटाउँदा गेग्रानले कालीगण्डकी नदी थुनिने जोखिम भएकोले सुरुङ्ग मार्गको विकल्प खोजिएको हो । म्याग्दीको अन्नपूर्ण गाउपालिकाको महभीरदेखी मुस्ताङ्ग सीमावर्ती बाँदरजुङ्ग भीरसम्मको करिव २० किमी खण्डमा बढी भीरपहरा र साँघुरो गल्छी भएकोले काम गर्न अप्ठ्यारो छ ।

फोटो सौजन्य ः रीता बरुवाल, काप्रे