- Loading...
गुञ्जन छोड्यो असारे भाका
- पुनहिल डट कम
- ५ साल अघि
- ३६७ पटक पढिएको
१५ असार ।
यी असारे गीतको संकलक वा गीतका रचयीता को हुन ? यस संवाददाता अवभिज्ञ छ । तर धान खेतमा यी गित सँधै गुन्जने गर्छन । यी कृषक गीतकार/संकलकलाई हिलाम्मे सलाम गर्दै असारे भाकालाई अक्षरमा गाउन चाहन्छु ।
कोरस ः छुपुमा छुपु हिलोमा धान, रोपेर छोडौंला
यो मन जस्तो त्यो मन भए पिरती जोडौंला ।
हलीवाउसे ः असार मास, दवदवे हिलो छुनलाई घिन लाग्यो
पातली नानीलाई फरिया किन्दा, छ विस ऋण लाग्यो ।
रोपाहार ः त्यो पारी गाउँको देउरालीपाखो भरियो सल्लाले
घरमा जहान, पाल्ने आँट छैन, के गर्ला यस्ताले ।
हातको पाँजोभरी धानको वेर्ना लिएर रोप्दै गरेका रोपाहारहरुले यस्तै–यस्तै गीतको गेडाले हिलोमा साहा लगाउँदै लछप्प भिजेका हलिवाउसेलाई असारे भाकामा सवालको जवाफ दिए । सामान्यतयाः असार र साउन महिनामा खेतमा प्रयाप्त पानी लगाएर खनजोतगरी हिलो बनाई धानको विरुवा रोपन्छ । भारयित एवं पश्चिमी शैली र संस्कृतिको प्रभाव बढ्दै जाँदा नेपाली समाजको बहुमुल्य संस्कृति कृषकका खेत–खेतका गहृामा गुञ्जने असारे गीत विस्तारै लोपहुँदै जान थालेको छ । असारे भाका अव अक्षरहरुमा अभिलेखित हुन थालेको छ ।नेपाली कृषकहरुको मुख्यवाली धान रोप्ने बेलामा निक्कै चटारो हुन्छ । मानो खाएर मुरी उब्जाउनु पर्ने असार–साउनको धान रोपाईको चटारो विचपनि हलिबाउसे र रोपाहारहरु विच मनोविनोद हुने गर्छ । युवायुवतीहरु हिलो छ्यापाछ्याप खेल्दै लय र छन्द मिलाएर खेतका फाँटहरुमा घन्काउने भाकालाई असारे गीत भनिन्छ ।
असारे गीतको विशेषता भनेकै यसको मौलिकता सहितको रोचकता हो । शायद त्यसैले होला असारे गीतमा दुखःसुखका भोगाईहरुलाई युवायुवतीदेखी पाका उमेरका हलिवाउसे र रोपाहरको ओठले टपक्क टिपेको हुन्छ । हिलाम्मे खेतमा खनजोत र धानको विउ रोप्दा आउने ‘छुपछुपु’ को मधुर संगितमा पनि मनमा लागेका जुनसुकै भावना सजिलै गीतिलयमा गाउन सकिने हुंदा असारेगीतले सवैलाई उत्तिकै आकर्षण गर्छ । कहिले काहीं भद्रताबाट सुरु हुने तरुनी–तन्नेरी विचको हिलो छ्यापाछ्यापको रमाईलो रौसिंदै मर्यादाका लक्ष्मणरेखा अतिक्रमण गर्दै कपडा भित्रसम्म पुग्छन ।
केटा ः हलो है भाँच्यो, जुवा है भाँच्यो डाँडैको खेतले
ऋण पनि लाग्यो, दिनपनि लाग्यो, एकछिनको भेटले
केटी ः त्यो पाखो कोप्चो धान है रोप्दा हात खायो हिलोले
कस्ताको फेला परियो बाबै, एकछिनको भेटले ।
कोरस ः छुपुमा छुपु हिलोमा धान, रोपेर छोडौंला
यो मन जस्तो त्यो मन भए पिरती जोडौंला ।
तर बैदेसिक रोजगारीको प्रभावले होला हिजोआज गाउँघरका खेतबाट असारे भाका सुस्ताउँदै जान थालेको छ । बेंशीका फाँटमा समेत पछिल्ला केही बर्षदेखी असारेगीत गुन्जन छोडेको छ । बसाई–सराइको चापले बेंशीका फाँटहरुमा प्लटिङ्ग शुरु भएको र गाउँघरका खेतहरु बाँझै हुन थालेपछि नेपाली समाजको महत्वपूर्ण संस्कृति लोपुन्मुख छ । बैदेशिक रोजगारीले युवापुस्ता पलाएन भएपछि असारे गीतका भाकाहरु समेत हराउन थालेका छन ।
केटा ः छुपुमा छुपु धान है रोप, हातको वीउ छउञ्जेल
मसिनो खाउली, सुकिलो लाउली, यो मेरो जीउ छउञ्जेल ।
केटी ः हातको मैला सुनको थैला, के गर्नु धनले
साग र सिस्नु खाएको बेंश आनन्दी मनले ।
कोरस ः छुपुमा छुपु हिलोमा धान, रोपेर छोडौंला
यो मन जस्तो त्यो मन भए पिरती जोडौंला ।
‘असार १५ दघि च्यूरा खानु, साउन १५ खिर खानु’ भन्ने नेपाली उखान छ । असार १५ गते धान दिवसको रुपमा तन्नेरी र कर्मचारीलाई कृषक खेतमा एक छिन पुगेर छोरीबुहारीलाई ‘हिलो छ्याप्न’ रमाईलो गर्ने थलो भएको छ । असार धानका फाँटमा कंक्रिटका घर रोपिएपछि असारे भाका पनि अक्षरमा सिमित छन । यो बर्ष मनसुन ढिलो सुरु भएकोले लेक–बैंशीका वस्तीमा रोपाई राम्रो संग भएको छैन ।
कृषी ज्ञान केन्द्रमा रहेको साविक तथ्याङ्ढ अनुसार जिल्लामा ३ हजार ८ सय ९५ हेक्टर क्षेत्रफलमा गरिने धानखेतीबाट १२ हजार ५ सय ६० मेट्रीकटन धानको उत्पादन हुन्छ । कुल धानखेती योग्य जमिनको १६ प्रतिशत क्षेत्रफलमा सिंचाई सुविधा छ । उपल्लो क्षेत्रमा असार भित्र धान रोपाई नभए साउनबाट पानी चिसो हुने हुंदा पाक्ने बेलामा गेडा नलाग्ने समस्या हुन्छ ।
धान रोप्न समेत पहाडी खेतमा समेत आधुनिक प्रविधीको मिनीटिलर हलो र पावर टेलर हलोले जोत्न थालेपछि गोरु विस्थापित हुन थालेका छन । कान्ला र स–साना फोट्यान भएका पहाडी खेतबारीमा हलगोरु नारेर जोत्दै आएको परम्परागत खेती प्रणालीमा औजार प्रयोगमा कृषकको आकर्षण बढेको छ । पहाडका स–साना फोट्यानमा आधुनिक हलो मिनी टिलरले परम्परागत हलोले भन्दाबढी छेउकुना जोत्न पनि सकिन्छ । फराकिला फाँटमा मात्र होईन माथिल्लो ग्रामिण क्षेत्रका स–साना खेतवारीमा मिनीटिलरको प्रयोग बढेको छ ।
‘पाँच दिनको गोरुले जोत्ने मेलो ट्याक्टरले जोत्दा एक दिनमै सकिन्छ । पानी, रोपाहार र बाउसेको ब्यवस्था मिलाए, कुलोमा पानीकालागी झगडा पनि गर्नु पर्दैन । एकै दिन दुई–तिन जनाको खेतमा धान रोप्न भ्याईन्छ’ मौवाफाँटका कृषक जीतबहादुर पाईजाले भने, ‘गोरुले जोत्ने भन्दा लागत धेरै सस्तो र छिटो । तर कान्ला भएको पहाडी खेतमा बोकेर उकाल्ने/ओराल्ने गर्नु पर्ने भैरहन्छ ।’
बैदेशिक रोजगारीले गाउँघरमा खेत जोत्ने मान्छे पाईन छोड्यो र पशुपालन पेशा पनि हराउँन थालेपछि पहाडी क्षेत्रमा समेत मिनी टिलर ट्याक्टर विकल्प बन्न थालेको हो । ट्याक्टरबाट जोत्ने प्रविधी दुर्गम वस्तीमा पनि भित्रिएपछि बर्षौ देखी बाँझो बनेका लेकाली फाँटहरुमा खनजोत शुरु भएको छ ।
‘छिटो, सस्तो, सजिलो र उर्वरामा पनि फरक पर्ने भएकोले पहाडका गाउँवस्तीमा समेत मिनीटिलर हलो (ट्याक्टर) प्रयोग बढेको छ’ भकिम्लीका कृषक राजु पुनले भने, ‘गोरुलाई बाहृै महिना घाँसपात गर्न र छुट्टै हेरालु राख्नु भन्दा यो थप सजिलो भएको हो ।’
जिल्लाका ताकम, अर्मन, बाबियाचौर, रत्नेचौर, ज्यामरुककोट, सिङ्गा, भकिम्ली, पात्लेखेत, हिस्तान, घार, विम, राम्चे, शिख, घतान, पात्लेखेत, पिप्ले, समेतका वस्तीका कृषकले ट्याक्टरको प्रयोगले खनजोत गर्न थालेका हुन । सानो आकारको भएकोले साना–साना कान्लामा ट्याक्टरलाइ बोकेर उकाल्ने/ओलाल्ने गरेका छन । कृषक समुहले ट्याक्टरले खेत जोतेको समुहका सदस्यसंग प्रति घन्टा तीन सय र अन्यसंग तीन सय ५० रुपैया शुल्क लिने गरेका छन् ।