- Loading...
४२ औँ मगर स्थापना दिवसको अवसरमा बेनीमा साँस्कृतिक झाँकी
- पुनहिल डट कम
- ८ महिना अघि
- १५५ पटक पढिएको
नेपाल मगरसंघको ४२ औँ स्थापना दिवसको अवसरमा मंगलवार नेपाल मगर संघ, जिल्ला समन्वय समिति म्याग्दीको आयोजनामा बेनीमा मगर समुदायको कला, संस्कृति र भेषभुषासहित साँस्कृतिक झाँकी प्रदर्शन गरिएको छ ।
साे अवसरमा मगर संघकाे संस्थापक अध्यक्ष हेमबहादुर पुन मगरको स्मृतिमा अन्तरमावि सालैजो शिरफुले लोकनृत्य प्रतियोगिता पनि आयोजना गरियाे । उक्त अन्तर मावि सालैजो शिरफुले लोकनृत्य प्रतियोगिताको उपाधि बेनीस्थित प्रकाश माविले जितेको छ । प्रतियोगितामा बेनी सामुदायिक मावि द्धितिय, न्यु वेष्ट पोइन्ट आवासीय मावि तृतिय भएका छन् । प्रथम, द्धितिय, तृतियले क्रमश २० हजार, १२ हजार, ८ हजार नगद, ट्रफी, प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगितामा बेनी आवासीय मावि र दरबाङ बोर्डिङ स्कुलले सान्त्वना क्रमश ५ हजार नगद, ट्रफी, प्रमाणपत्र प्राप्त गरेको नेपाल मगर संघ जिल्ला समन्वय समिति म्याग्दीका उपाध्यक्ष खम थापाले बताए । प्रतियोगितामा १० विद्यालयले सहभागिता जनाएका थिए । दिवसको अवसरमा आयोजित प्रतियोगिताको प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा खम्बीरले उद्घाटन गरेका थिए ।
नयाँ पुस्ता आधुनिक कला र संस्कृतिमा रमाइरहेको अवस्थामा प्रतियोगिताले मगर समुदायको मौलिक कला, संस्कृतिदेखि भाषा भेषभुषा पुस्तान्तरणको अभियानमा सघाएको प्रतिनिधी सभा सदस्य खमबहादुर गवुर्जाले बताए । उक्त कार्यक्रममा पूर्वमन्त्री नरदेवी पुन, जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा, बेनी नगरपालिकाका मेयर सुरत केसी, सामाजिक विकास कार्यालयका प्रमुख रमेश थापा समेतले मन्तब्य राखे ।