- Loading...
के यस वर्ष पनि हिउँदे वर्षा नहुने जोखिम देखिदैछ ?
- पुनहिल डट कम
- १० महिना अघि
- १८० पटक पढिएको
नेपालमा पर्ने वर्षालाई प्रकृति अनुसार पूर्व-मनसुन (मार्च-मे), मनसुन (जुन-अगष्ट), पोस्ट-मनसुन (सेप्टेम्बर-नोभेम्बर) र हिउँदे मनसुन (डिसेम्बर-फेब्रुवरी) गरी चार खण्डमा बाँडिएको छ । हिउँदमा (मंसिर १६ देखि फागुन १६ सम्म) हुने ‘हिउँदे सरदर वर्षा’ ६० मिलिमिटर हुन्छ।
यो वर्ष माघ पहिलाे सातासम्मम हिउँदमा औसत भन्दा ९५% कम वर्षा ३ मिलिमिटर भन्दा कम भएको छ । जल तथा मौसम बिज्ञान बिभागको अहिले सम्मको वर्षा मापन हेर्दा सुख्हा हिउँदको प्रत्यछ असर कृषिमा पर्ने देखिन्छ।
हिउँदे वर्षा प्राणी जगतका लागि अत्यन्त महत्वपूर्ण हुन्छ। हिउँदे झरीले तोरी, फापर, गहुँ, ऊवा लगायतका खेती उब्जाउन सघाउँछ। हिउँदे वर्षाले सिंचेको जमिनबाट विरुवालाई बसन्त ऋतुमा पालुवा पलाउन, राम्ररी हुर्कन र फूल फुल्न चाहिने पोषण प्राप्त हुन्छ। पर्याप्त हिउँदे वर्षा भएका समयमा विरुवाहरू बढी उम्रन्छन् र तिनीहरू हुर्कने सम्भावना राम्रो हुन्छ। हिउँदको वर्षाले पानीका मूल छिट्टै सुक्नबाट जोगाउँछ, चैत वैशाखमा सुख्खाको असर कम हुन्छ। जति धेरै हिउँदे वर्षा हुन्छ, जलाधारको पर्यावरणमा उत्ति नै बढी टेवा पुग्छ।
विभिन्न प्रजातीका बिऊ समयमै गतिलो गरी उम्रन हिउँदे वर्षा र हिउँको भूमिका महत्वपूर्ण छ। नेपालका उच्च पहाडी र हिमाली फलफूलहरू हिउँ, तुषारो राम्ररी परेका वर्ष राम्रो फल्छन्। हिउँदे वर्षाले बोटबिरुवाको जीवन-चक्र, तिनमा आश्रित कीट, चराचरको जीवन-चक्रमा सहयोग र अन्ततः सिङ्गो पारिस्थितिक प्रणालीलाई जिवन्त राख्छ। हिउँदे वर्षाले जमिनको प्राकृतिक वैभवको विकास र संरक्षण गर्छ। सधैं हिउँद सुख्खा हुँदै गयो भने विभिन्न बोटबिरुवा, कीट, पशुपन्छीको अस्तित्व सङ्कटमा पर्छ।
हिजो आज हिउँदे वर्षा कम हुन थालेको छ। हिउँ पर्ने, तुषारो पर्ने कम भएको छ। समग्रमा हिउँदे पानी कम भएको छ र यसको प्रकृति पनि फरक भएको छ। एकछिन झरर्र परेर सकिन्छ, पहिले जस्तो धेरै दिनसम्म झमझम पानी पर्दैन। पानीकै अभावमा पहाडतिर हिजो आज हिउँदे खेती निकै कम भएको छ। अन्य कारण भएपनि, मूलतः हिउँदे वर्षामा आएको विश्रिङ्खलताले खडेरी बढ्दै गएको छ।