- Loading...
यी हुन, म्याग्दीका प्रमुख तालतलैयाहरू र साँस्कृतिक महत्व
- पुनहिल डट कम
- १ साल अघि
- ७६३ पटक पढिएको
म्याग्दी जिल्लाका विभिन्न ठाउँका लेकाली क्षेत्रमा साना–ठूला ताल तलैयाहरु रहेका छन ।
भौगोलिक विकटता र प्रचार–प्रसार अभावमा यी पर्यटकीय, धार्मिक र सांस्कृतिक महत्व बोकेका ति हिमाली तालतलैयाहरु ओझेलमा परेका छन । यहाँका प्रमुख तालतलैयाहरु मध्य अन्नपूर्ण गाउँपालिकामा पर्ने खयरवराही, प्यारीवराही, कालीवराही, गोर्सेवराही, रघुगंगामा पर्ने रिहगात वराही, मंगलेवारही, मालिका गाउँपालिकामा पर्ने निस्कोट वराही, दहखर्क वराही, विमवराही धवलागिरी गाउँपालिकामा पर्ने गुर्जा वराही प्रमुख तालतलैया हुन ।
जिल्लाका सवै तालतलैयाहरुलाई स्थानीयले वराह/वराही भनी पुग्ने गरेका छन । जिल्लाको उपल्लो भेगका मगर बाहुल्य वस्तीको शिरान वा नजिक पर्ने यी तालहरुमा वराह/वाराही मन्दीर निर्मित छन । परम्परादेखी नै यी वराह/वराहीका तालमा जनैपूर्णीमाको दिन पशुवली चढाएर मनोकांक्षा पुरा गराउन ‘वर’ माग्ने चलन छ ।
खयरवराह
अन्नपूर्ण हिमालको पश्चिम फेदीमा अवस्थित खयरबराह ताल छ । अन्नपूर्ण गाउँपालिका, ५ पाउद्धार गाउँको सिरानमा समुद्रसतहदेखी ४ हजार ६ सय मिटर उचाईमा अवस्थ्ति खयरवराह तालमा जनै पूर्णीमाका दिन वराह स्नानगरी खयरवाराही देवीको मन्दीरमा पुजाअर्चना र पशु वलीदिएर ‘वर’ मागेमा मनले इच्छाएको पुरा हुने जनविश्वास छ ।
खयरवराही तालको नजिकै कालीदह र गोर्सेवराहको ताल पनि रहेको छ । तर यी तालमा स्थानीय भेडा गोठालाले जनै पूर्णिमाको दिनमै साँढको वली दिएर पुजा गरेपनी तिर्थालुहरु भने पुग्दैनन ।
प्यारी वराह ताल
विश्व प्रशिद्ध पर्यटकीय गन्तब्य घोडेपानी, पुनहिलदेखी एक घन्टा उत्तरपश्चिम जंगलयात्रा गरेपछि सुन्दर प्यारीबराह ताल पुग्न सकिन्छ ।
अन्नपूर्ण गाउँपालिका, ७ घराम्दीको भौगोलिक सीमामा पर्ने भएपनि प्यारीबराह ताल घोरेपानी र चित्रेबाट ताल नजिक पर्छ । घोडेपानीबाट प्यारीवराह तालसम्म मोटरबाटो, साईकल लेन र फुटट्रेलले जोडिएको छ । झण्डै दुई सय मिटर लामो र ७० मिटर चौडाई भएको तालमा हिँउदमा भने पानीको सतह केही घट्छ । स्थानीय किम्वदन्ती अनुसार उक्त तालमा खसेका पातलाई त्यहाँ रहेको सानो रातो चराले टिपेर फाल्ने गर्छन भन्ने भनाई रहेको छ । यस तालमा ऋषि तर्पणीका दिन मेला लाग्ने गर्दछ ।
निस्कोट वराह
पश्चिम मालिका गाउँपालिका, १ निक्कोट गाउँको सिरामा सुन्दर ताल छ । निस्कोट वराह तालमा जनैपूर्णिमाको दिन स्थानीयले जलदेवताको रुपमा पुजा गर्छन ।
समुद्र सतहदेखी २ हजार ३ सय मिटर उचाईमा अवस्थित आर्कषक भु वनावट, हरियाली र विविधताले चित्ताकर्षक निस्कोट वराह प्रचारप्रसारको अभावमा ओझेलमा छन ।
निस्कोट वराह तालको फरक–फरक कोणबाट धवलागिरी हिमश्रृखला, जुर्जा, निलगिरी, अन्नपूर्ण, माछापुच्छ्रे लगाएत आधा दर्जन हिमालको छायाँ देख्न सकिन्छ ।
स्थानीयको किम्बदन्ती अनुसार परापुर्वकाल देखी नै निक्कोट वराह तालमा दुई वटा जलहाँस सवेरै जलक्रिडा गर्न आउने र सुर्योदयपछि हराउँछन ।
विम वराह ताल
पश्चिम मालिका गाउँपालिका, ७ विमको वाइन्नफाँटमा विम वराह ताल रहेको छ । पालिकाले विम वराह ताल संरक्षणगरी पर्यटकीय आर्कषणस्थल बनाउन होमस्टे समेत प्रर्यटन पूर्वाधार निर्माण गरेको छ ।
समुद्र सतहदेखी दुई हजार २ सय मिटर उचाईमा अवस्थित विमबराह ताल अन्दाजी ५० मिटर लामो र ४० मिटर चाडाई रहेको करिव गोलाकार अवस्थामा छ । बाढी पसेर तालको क्षेत्रफेल घट्दै गएपछि पालिकाले १० लाख र वडाबाट ३ लाख गरी १३ लाख लागतमा ताललाई पर्खालले घेरिएको र ताल पुग्न ढुङ्गा विच्छाएर पदमार्ग बनेको छ । स्थानीयले जनैपूर्णीमाको दिन कुखुराको भाले, बोकाको वली दिएर भाकल गर्ने चलन छ ।
गुर्जाको भुजुङ्गे वराह
जिल्लाको पश्चिम छेउमा अवस्थित धवलागिरी गाउँपालिका, १ गुर्जाको पनि सिरानमा भुजुङगे वराह ताल रहेको छ ।
समुद्र सतहदेखी करिव चार हजार चार सय मिटर उचाईमा अवस्थित अन्दाजी ६ सय मिटर लामो र २ सय मिटर चौडाई भएको गुर्जाको भुजुङ्गे वराह ताल प्रचार प्रसारको मानववस्तीदेखी धेरै टाढा भएकोले ओझेलमा रहेको यो ताल तालमा पुग्न धवलागिरी गाउँपालिकाले १८ लाख खर्चेर पदमार्ग निर्माण गरेको छ ।
त्यस्तै अर्काे गुर्जा वराह गुर्जा गाउँ पुग्नु अघि छेवैमा छ । गुर्जा पुग्ने मुख्य पैदलमार्ग लुलाङबाट देउरालीहुँदै जाँदै गाउँको नजिकै बाटोमुनी करिव ७ सय वर्ग मिटरमा फैलिएको गुर्जावराह ताल रहेको छ ।
गुर्जा जाने पहिलो यात्रुले गुर्जा वराह ताललाई उत्तर पारेर हिंड्नु पर्ने जनविश्वास छ । पूर्वबाट पश्चिम गुर्जा गाउँ जाने मुलबाटो भने दक्षिणमा पर्छ । घोडामा हिंड्दा वराहलाई देव्रे पारेर हिंड्न नहुने र बराहतालमा नचढाई मकैको डाँठ चुस्न नहुने र चुसेमा असोजमा बर्षा हुने मान्यता छ । गुर्जामा असोजमा पानी पर्नुलाई असुभ मानिन्छ ।
गाईखर्क ताल
मालिका गाउँपालिका– ५, मगरदाङमा रहेको गाईखर्क ताल अवस्थित छ । अाेझेलमा रहेकाे गाईखर्क तालकाे पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यले गाउँपालिका र वडा कार्यालयले संरक्षणको थालेका छन । ४६/४६ मिटर लम्बाइ, चौडाइ तथा तीन मिटर गहिराइ भएको तालको लम्बाई चौडाई बढाएर ५५/५५ मिटरको बनाउन लागिएको हो । क्षेत्रफलसँगै बाँध बनाएपछि गहिराइ पनि बढ्ने जनाइएको छ ।
गोलो आकारको तालको पृष्ठभूमिमा धौलागिरि, गुर्जालगायतका हिमालको दृष्य अवलोकन गर्न सकिन्छ । हिमालको छायाँ परेको मनमोहक दृष्य अवलोकन गर्न सकिन्छ । मगरदाङदेखि ३० मिनेट उकालो पैदल हिँडेपछि गाईखर्क ताल पुगिन्छ ।
चिमखोला कालीवराह
रघुगंगा गाउँपालिका, ७ चिमखोला गाउँको शिरानमा धवलागिरी आईसफल जाने पदमार्गमा कालीवराह ताल अवस्थित छ । कालीवराह ताल अन्दाजी दुई सय मिटर लामो र ६० मिटर चौडा रहेको छ ।
जिल्लाका अन्य वराह तालहरुमा जस्तै चिमखोलाको यस कालीवराह तालमा पनि स्थानीय चिमखोला र वरपरका वस्तीबाट जनैपूर्णिमाको दिन साँढको वली दिएर पुज्ने गर्छन । करिव ४ हजार २ सय मिटर उचाईमा वस्थित कालीवराह ताल वस्तीदेखी धेरै माथी भएकोले जनैपूर्णिमाका दिन धेरै भक्तजन पुग्न नसकेपनि बर्षेनी ४०–५० जना भक्तजन पुग्ने गर्छन । कालीवारहमा त्यस क्षेत्रमा रहने भेडा गोठले बर्षेनी आलोपालो गरी भेडाको साँढ दिने र वडा कार्यालय (साविक गाविस)बाट वराह पुज्ने प्रचलन छ ।
बरंजा दह
मंगला गाउँपालिका, ४ बरंजामा एउटा सुन्दर मानव निर्मित दह छ । गाउँको विचमा पानीको मुहानसँगै गोलो आकारमा दह निर्मित छ । पानीको मुहानको सीमसार क्षेत्रलाई संरक्षण गरी दह बनाईएको र पानीका मुलको स्रोत संरक्षणकालागी पुर्खाहरुले दह निर्माण गरेको स्थानीय बताउँछन । दहमा पुग्न तारवारगरी छेकिएको छ । यहाँ ठूलो पुजा नहुने भएपनि स्थानीयले बर्खे नयाँवाली मकै र अन्य वाली खानु अघि चढाउने तथा जनैपूर्णिमाकादिन धजाअक्षता चढाउने गर्छन ।
बराह र धार्मिक तथा सांस्कृतिक महत्व
हिन्दु धार्मिक मान्यता अनुसार भगवान विष्णुका दश अवतारमध्य मत्स्य, कच्छव पछिको तेस्रो अवतारको रुपमा वराह (बँदेल) अवतारलाई लिने गरिन्छ । र भाद्र महिनाको शुक्लपक्षको तृतीया तिथिमा वराह जयन्ती मनाईन्छ ।
पौराणीक कालमा कश्यप ऋषिकी पत्नी दितीको गर्भबाट ३ बर्षसम्म हिरण्याक्ष तथा हिरण्यकश्यपु नाम गरेका दुई बालक जन्मिए । हिरण्याक्षले ब्रहृमाको कठोर तपश्यागरी सँधै अमर रहने बर मागे । बहृमाले मनुष्य, देवता, यक्ष, किन्नर आदीको हातबाहेक आफ्नै आमाको कोखबाट जन्म नभएको पशुबाट मात्र मृत्यु हुने वरदान दिए । वरदान पाएपछि हिरण्याक्षले पृथ्वी, स्वर्ग र मर्त्यलोकमा उपद्रव मच्चाए । उनले पृथ्वीलाई लगेर पानीमा डुबाई दिए ।
पृथ्वी पुरै जलमग्नहुँदै डुब्न थालेपछि देवताहरुले भगवान विष्णुको आराधना गरे । त्यहीक्रममा ब्रहृमाले हात्छ्यु गर्दा नाकबाट भगवान विष्णुले बँदेल (वराह)को रुपमा अवतार लिए । त्यही बँदेलले आफ्नो दाहृाले उधिनेर पानीमा डुबेको पृथ्वीलाई बाहिर निकाले । त्यसवेला देखी बँदेल (वराह)लाई देवताको रुपमा पुज्दै आईएको बताईन्छ ।
सामान्यतयाः वस्तीदेखी माथी भएका तालतलैला, कुण्ड र मुहानहरुमा वराह पुजा गर्ने चलन छ । म्याग्दीका पनि विभिन्न ठाउँहरुमा रहेका ताल, पोखरीहरु छन । ती वराह ताल/पोखरी र पानीका मुलहरुमा जनैपुर्णिमाको दिन पुजा गर्ने चलन छ ।
मगर समाजमा बाहृ भाई (वराह) र बाईस बहिनी (वराही) सम्बन्धी किंवदन्ती प्रचलनमा छ । केही मगर समुदायले वराह/वराहीलाई पितृको रुपमा पुजा गर्ने चलन छ । उनीहरुको कुल पुजा समेत सवै पितृ कार्यमा सुँगुर अनिवार्य चाहिने भएकोले वराह (बँदेल)लाई पितृको रुपमा मान्ने प्रचलन सत्यको नजिक देखिन्छ ।
तर म्याग्दीको उत्तरी भेगका मगर/पुन समुदायमा भने बाहृ भाई (वराह)र बाईस बहिनी (वराही)को भन्दा फरक खरयवराहीका ९ बहिनीको बढी चर्चा हुने गरेको छ ।
पञ्चकुण्ड हिमताल
म्याग्दीमा अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ हुँदै अन्नपूर्ण प्रथमको उत्तरी आधार शिविर पुग्दा हिमालमुनिसम्म फैलिएको आकर्षक र सुन्दर नीलो ताल छ । अन्नपूर्ण फेदीमा हिमताल भएको थाहा पाएका स्थानीयबासीले त्यही बेला ‘पञ्चकुण्ड हिमताल’ नामकरण गरेका हुन् । तर वेबसाइटमा भने अरू कसैले त्यस हिमताललाई ‘डिकिचो’ नामकरण गरिदिएको भेटिन्छ ।
सन् १९५० मे–जुन महिनामा अन्नपूर्णको उत्तरी आधार शिविरमा मानव पाइला पुगेको हो । तिनताका त्यहाँ हिमताल थिएन । उत्तर अमेरिकाको निकोलस कलेजका वातावरण विज्ञानका प्रोफेसर मौउरी पेल्टोले एडभाइजिङ अर्थ एन्ड स्पेस साइन्स जर्नलमा लेखेको ‘नर्थ अन्नपूर्ण ग्लेसियर रिच्योल एन्ड लेक डेभलपमेन्ट’ लेखमा उल्लेख गरेअनुसार सन् १९८८ सम्म यहाँ हिमताल थिएन । अहिले हिमताल भएको करिब १.५ किलोमिटर क्षेत्रफलमा सक्रिय हिमनदी थियो । पेल्टोले भू–उपग्रहबाट लिएका ल्याडस्याट र सेन्टिनेल तस्बिरमा सन् १९९१ पछि हिमताल बन्न थालेको, सन् २०१८ देखि हिमनदी र ग्लेसियर तीव्र पग्लने र ताल फैलने क्रम बढेको उल्लेख गरेका छन् ।