- Loading...
तेल कूटनीतिले जहिल्यै युद्धमा फसेको मध्यपूर्व
- पुनहिल डट कम
- १ साल अघि
- ५३१ पटक पढिएको

प्राकृतिक स्राेत कुनै देशकालागी उपयाेग र ब्यवस्थापन काैसलता र क्षमता राख्न सक्दा वरदान र नसक्दा श्राप हुन सक्छ । त्यसैकाे प्रमाण मानिएकाे छ, मध्यपुर्वमा जारी अशान्ती । भौगोलिक अवस्थिति, खनिज उपलब्धता, जलमार्ग, उत्पादन र त्यो भूगोलसँग जोडिएको ऐतिहासिक तथ्यले मध्यपूर्वमा भैरहेकाे अशान्तिलाइ मान्न सकिन्छ ।
मध्यपूर्व युरोप, एशिया र अफ्रीकाको महादेशको मिलन बिन्दु हो । अफ्रिका महादेशको उत्तरी भाग, एशिया महादेशको पश्चिमी भाग र युरोप महादेशको पूर्वी भागमा अवस्थित भूभागलाई नै अन्तर्राष्ट्रिय राजनीतिमा मध्यपूर्व भनेर चिनिन्छ । दक्षिण पश्चिम एशिया मेडिटेरियन समुन्द्र उत्तर पश्चिम उत्तरमा काला सागर र क्यास्पियन सागर पश्चिममा लाल सागर दक्षिणमा अरब सागर दक्षिण पूर्वमा पर्सियन गल्फ बिचको भूभाग मध्यपूर्व हो ।
मध्यपूर्वमा १७ देश छन् । बहराइन, इरान, इराक, इजरायल, प्यालेस्टाइन, जोर्डन, कुवेत, लेबनान, ओमन, कतार, साउदी अरबिया, सिरिया, यूएई, यमन पर्दछन् । मध्यपूर्वमा कच्चा तेलको विशाल भण्डार छ । मध्यपूर्वको सबैभन्दा धनी देश कतार हो भने सबैभन्दा विकसित देश इजरायल । साउदी अरेबिया मध्यपूर्वको सबैभन्दा ठूलो देश हो । पूर्वी युरोप, पश्चिम एशिया र उत्तर पूर्वी अफ्रिकाको ट्रान्जिट एरिया हो, मध्यपूर्व । मध्यपूर्वमा मुस्लिम देशको दबदबा छ । मध्यपूर्वको प्रमुख धर्म ईस्लाम हो । ती देशहरू तेल र ग्यास बेचेर धनी भएका हुन् ।
साउदी अरब, कतार, कुवेत, यूएई र बहराइन मध्यपूर्वका धनी देश हुन् । यमन त्यहाँको सबैभन्दा गरिब देश हो भने इजरायल सबैभन्दा विकसित देश हो । मध्यपूर्वलाई विश्वकै धेरै अरबपति खरबपतिको भूमी मानिन्छ । इजिप्टको कायरो मध्यपूर्वको ठूलो शहर मानिन्छ । भूगोलका आधारमा बहराइन र कतार मध्यपूर्वका साना देश हुन् ।
मिश्र मध्यपूर्वको सबैभन्दा धेरै जनसंख्या भएको देश हो । क्रमशः टर्की, इरान, इराक र साउदी धेरै जनसंख्या भएका मुलुकहरू हुन् । मध्यपूर्वमा साउदीपछि इराक ठूलो तेल निर्यातक देश हो । साउदी अरेबिया मध्यपूर्वको सबैभन्दा मजबुत देश हो ।
तनाव र उल्झनको जरो
विश्व राजनीतिमा मध्यपूर्वलाई नजरअन्दाज गर्न कठिन छ । साहित्य, गणित र दर्शनमा यो भूगोलको जति महत्त्व छ त्यसभन्दा बढी धार्मिक आधारले हेर्दा विश्वका महत्त्वपूर्ण धर्मको उद्गम बिन्दु पनि मानिन्छ । मध्यपूर्व अरु धेरै कोँणबाट पनि महत्त्वपूर्ण छ । यसको भौगोलिक सामरिक महत्त्व झन् विशेष छ ।
पहिलो विश्वयुद्ध र त्यसभन्दा अघिदेखि नै यहुदीहरू युरोपमा मज्जाले जमेका थिए । उनीहरू युरोपभरि छरिएका थिए । युरोपमा यहुदीहरूमाथि अत्याचार सुरु भयो । समूल यहुदीजातिकै उन्मुलन गर्ने उद्देश्यले व्यापक नरसंहारका घटनाहरू भए । बचेका यहुदीहरूलाई युरोपले राखेन । उनीहरूलाई मध्यपूर्वमा लगेर राख्ने काम बेलायत र अमेरिकाले गरे । इजरायल देशको रूपमा अस्तित्वमा आइसकेपछि उसलाई संस्थागत गर्न अमेरिकाले हतियार दियो । बेलायतले खाद्यान्न इन्धन औषधिदेखि हरतरहको सहयोग दियो । भनिन्छ, कुनै बेला बेलायतको बजेटको ५१ प्रतिशत रकम इजरायलको लागि खर्च हुन्थ्यो ।
इजरायलले लडेका हरेक लडाइँमा अमेरिकाले आर्थिक र शैन्य सहयोग गरेको छ । विश्वमै सबैभन्दा धेरै विवाद भएको क्षेत्र हो- मध्यपूर्व । बेरोजगारी, आर्थिक मन्दी, बढ्दो गरिबी र असमानता मध्यपूर्वका सदाबहार चुनौती भैरहेका छन् ।
शक्ति-सन्तुलनको कडी
मध्यपूर्वमा तेलको लागि धेरै लडाइँ भएका छन् । लिबिया, सिरिया, इराक, इजरायल, प्यालेस्टाइन, लेबनान जहिल्यै युद्वरत अवस्थामा हुन्छन् । भूराजनीतिक बनोटका कारण पनि मध्यपूर्वमा जहिल्यै युद्वको बादल मडारिइरहेको हुन्छ ।
तेल प्रशोधन र निर्यात मध्यपूर्वको मुख्य आय आर्जनको स्रोत हो । मध्यपूर्वका देशलाई एकापसमा भिडाएर त्यहाँको स्रोतमा अमेरिकाले आफ्नो हातलाई मजबुत बनाइरहन चाहन्छ । मध्यपूर्वमा अमेरिकाको जे जति गतिविधि हुन्छन् ती सब यसै दिशामा केन्द्रित छन् ।
अमेरिकाको लागि मध्यपूर्व जति महत्त्वको छ त्यसभन्दा बढी युरोपको लागि मध्यपूर्वले महत्त्व राख्दछ ।
युरोपमा ऊर्जाको खपत ठूलो छ । युरोपमा ऊर्जा आउने स्रोत दुईवटा छन् । एउटा रसिया र अर्को मध्यपूर्व । युरोपमा इन्धन ल्याउन मध्यपूर्वबाट भन्दा सहज रुसबाट हुन्छ । रुसबाट एकलौटी इन्धन ल्याइरहँदा रुस एकपक्षीय रूपमा मजबुत हुने सम्भावना प्रबल हुन्छ । रुस आर्थिक र शैन्य दृष्टिले मजबुत हुनु भनेको रणनीतिक दृष्टिले युरोपको लागि खतराको घन्टी बज्नु हो भन्ने युरोपेली देशहरूले राम्रोसँग बुझेका छन् । रुसको विकल्पको रूपमा मध्यपूर्वबाट आफ्नो आवश्यकता परिपूर्तिका लागि युरोप मध्यपूर्वमा पाईला बढाउन चाहन्छ । उनीहरूले बिगतदेखि नै मध्यपूर्वमा सहज बाटो खोजिरहेका थिए ।
उनीहरूको बाटोमा इरान पर्खाल बनेर उभिएको छ । त्यसैले अमेरिका मात्रै होइन युरोप समेत इरानमा सत्ता पल्टाएर त्यहाँ कठपुतली सरकार गठन गरेर त्यहाँको तेल भण्डारसम्म आफ्नो बाटो सहज बनाउने प्रयासमा छन् । अमेरिका इरानमा आणविक हतियारको कटौती चाहन्छ ।
मध्यपूर्वका अधिकांश देश इजरायललाई छाडेर मुस्लिम धर्मावलम्बी भए पनि उनीहरू बीचको सम्बन्ध कटुतापूर्ण अवस्थामा छ । उनीहरूले विगतदेखि नै एकअर्काविरुद्व मोर्चा बनाउने, सहकार्य गर्ने र कतिपय अवस्थामा युद्व नै लडेका इतिहास छन् । इजरायलले हमासको नाममा समग्र प्यालेस्टाइनहरूको नरसंहार गरिरहँदा पनि उनीहरूको एउटै आवाज नआउनुका पछाडि अनेक कारणहरू देखिन्छन् ।
१९७० मा इरानविरुद्व साउदी, जोर्डन र यूएईको गठबन्धन थियो । इरान र इराक १९८० देखि १९८८ सम्म लगातार आठ वर्ष युद्ध लडे । १९९० मा इराकले कुवेतमा आक्रमण गरेपछि गल्फवार भयो । जसमा अमेरिका इराकको विरुद्वमा प्रत्यक्ष सामेल भयो ।
आधा इजरायलको मध्यपूर्वका कुनै पनि देशसँग सम्बन्ध छैन । मध्यपूर्वका देशहरूको एकअर्काबीच कतै शत्रुता देखिन्छ त कतै मित्रता । इन्धनको बलमा मध्यपूर्वका देशले सम्पन्नता हासिल गरेका हुन् । उनीहरूले यो पनि बुझेका छन् कि समुन्द्रको पानी त निकाल्दै जाँदा एकदिन सकिन्छ । जमिन मुनिको इन्धन भन्डार पनि एकदिन सकिने कुरा उनीहरूले राम्ररी बुझेका छन् । त्यसैले उनीहरूले आम्दानीको स्रोतको रूपमा पर्यटनलाई आधार बनाएर आफ्ना सिमामा अनेकन पूर्वाधार निर्माण गरिरहेका छन् । अहिलेको अवस्थामा हेर्दा कतार, यूएई, साउदी अरेबिया लगायतका देशले ठूलो सङ्ख्यामा पर्यटकलाई आकर्षित गरेका छन् ।
मध्यपूर्वमा सफ्टपावरको रूपमा कतारको उदय भएको छ, जुन कुरा पचाउन साउदी अरब, इरान, यूएई जस्ता देशलाई गाह्रो भैरहेको छ । कतारले विश्वकै लोकप्रिय खेल फुटबलको महाकुम्भ खेल विश्वकप प्रतियोगिता आयोजना गरेर आफ्नो खुबी विश्वमाझ देखाइसकेको छ । चर्चित टेलिभिजन नेटवर्क अलजजिरा र अन्य कतिपय मुद्वालाई लिएर साउदी अरब, यूएईका देशहरूले लामो समयसम्म नाकाबन्दी लगाउदा समेत कतारलाई कुनै असर परेन उल्टो उ मध्यपूर्वमा नयाँ शक्तिको रूपमा उदाउन पुगेको छ ।
तेलको राजनीति र ओपेक
द्वितीय विश्वयुद्वपछि तेल कुटनीतिले अन्तर्राष्ट्रिय राजनीतिलाई विशेष प्रभाव पारेको थियो । अध्यननले विश्वको तेल भन्डारको ४८ प्रतिशत मध्यपूर्वमा छ भन्छ । अर्गनाइजेसन अफ द पेट्रोलियम एक्सपोर्टिङ कन्ट्रीज (ओपेक) मा १३ देश छन् । अल्जेरिया, अङ्गोला, कंगो, इरान, इराक, कुवेत, लिबिया, नाइजेरिया, साउदी अरब, यूएई, भेनेजुएला लगायतका देश ओपेकमा आवद्व छन् । यसको स्थापना १९६० मा इराकको राजधानी बगदादमा भएको थियो । तेलको उचित र स्थिर मूल्यका लागि तेल उत्पादक देशहरूले ओपेक संगठन जन्माएका थिए । तेल उत्पादनमा कटौती गरेर मूल्य स्थिर राख्ने, मूल्य घट्न नदिने सवालमा ओपेकको स्थापना प्रभावकारी साबित भएको थियो ।
मध्यपूर्वको जमिन मुनिको इन्धन मध्यपूर्वको लागि बरदान र अभिशाप दुवै बनेको छ । मध्यपूर्वले बितेको एक शताब्दीमा अनेकन युद्वहरू झेलेको छ । लाखौँ करोडौँ मानिसहरू युद्वमा मारिएका छन् । खरबौँ मूल्यका भौतिक संरचनाहरू ध्वस्त बनेका छन् । धनको आडमा त्यहाँ अनेकन तानाशाहहरूको जन्म भएको छ र उनीहरूकै कारण एक्काइसौँ शताब्दीमा पनि त्यहाँका नागरिकहरूले मौलिक हकअधिकारबाट बन्चित हुनुपरेको छ । तेल बेचेर आर्जित मुद्राबाट कठोर प्रतिकुल हावापानी भएको मरुभूमिमा समेत कृत्रिम स्वर्ग निर्माण गर्न सक्नु त्यहाँको सकारात्मक पक्ष मान्न सकिन्छ । त्यहाँ भएको विकास निर्माणले विश्वका अनेक मुलुकका युवाहरूका लागि अवसर र रोजगार सिर्जना हुनुलाई राम्रै कुरा मान्नुपर्छ ।
खस्किँदो अमेरिकी साख
अमेरिका विश्वकै शक्तिशाली र वैभवशाली देश हो । भनिन्छ, विश्वका ८५ बढी देशमा अमेरिकन सैन्य बेसहरू छन् । मध्यपूर्वकै कतार, इराक, बहराइन, ओमन, कुवेत, साउदी अरब, यूएईलगायतका देशमा अमेरिकाका शैन्यबेसमा छन् । अमेरिकाले मध्यपूर्वको शक्ति सन्तुलन बनाइरहन खरबौँ डलर खर्च गर्दै आएको छ । यसका बाबजुद पनि मध्यपूर्वमा अमेरिकाको साख खस्किँदै गइरहेको छ भने चिनले आफ्नो गतिविधि बढाउँदै लगेको देखिन्छ ।
साउदी अरब र अमेरिकाको सम्बन्ध निकै राम्रो भइरहेको बेला अमेरिकाले साउदीलाई इजरायलसँग सम्बन्ध विस्तारका लागि महत्त्वपूर्ण सहकार्य गर्दै आएको थियो । यस्तैमा साउदी अरबका पत्रकार जमाल खाशोजिको टर्कीमा भएको हत्यामा साउदी राजकुमार मोहम्मद बिन सल्मानको हात रहेको अमेरिकी खुफिया एजेन्सीको रिपोर्ट सार्वजनिक भएपछि साउदी अरब र अमेरिकाको सम्बन्धमा निकै शिथिल बनेको थियो ।
साउदी विश्वकै प्रमुख तेल उत्पादक देश हो र अमेरिका साउदीले आफू र आफ्ना लबीका देशलाई कम मूल्यमा पेट्रोलियम पदार्थ दियोस भनेर लामो समयदेखि साउदीसँग अनेक विषयमा सहकार्य गर्दै आएको छ । अमेरिकाको भित्री उद्देश्य भनेको साउदीको साथ लिएर रुसको तेल बजारलाई कमजोर बनाउनु हो भनेर विश्लेषकहरूको ठम्याइ रहेको छ ।
इरान सैन्य दृष्टिले मध्यपूर्वको सबैभन्दा शक्तिशाली देश हो । उ जसरी हुन्छ आफूलाई आणविक शक्ति रास्ट्र बनाउने ताकमा छ । उ विश्व रंगमञ्चमा शक्तिशाली मुस्लिम रास्ट्रको रूपमा आफ्नो पहिचान स्थापित गर्न चाहन्छ जुन अमेरिका कुनै हालतमा स्विकार्न चाहन्न । मध्यपूर्वमा इरानको शक्ति बढ्नु इजरायलको लागि पनि खतराको विषय हो ।
मध्यपूर्वमा अमेरिका डिफेन्सिभ हुँदै गएको छ । विश्व रंगमञ्चमा अनेक मुद्दामा चीन र रुसबीच घोषित गठबन्धन र सहकार्य बढ्दै गएको देखिन्छ । हालै मात्र हमासका नेता, इरानका नेता रुस गएर बैठक गरे । उनीहरूले गाजामा इजरायलले अबिलम्ब युद्वबिराम गर्न दबाब दिएका छन् ।
शान्तिपूर्ण विश्वको परिकल्पना
शक्तिमा भएकाले न्यायपूर्ण समाज बनाउने प्रेरणा र सन्देश दिनुपर्छ । शक्तिको आडमा अमेरिकाले बनाउन खोजेको विश्वव्यवस्था निकै कुरूप देखिन्छ । अमेरिकाले शान्तिको लागि भन्दा पनि युद्वलाई प्रश्रय दिने काम गरेको आजसम्मका उसका गतिविधि देख्दा प्रस्ट हुन्छ । उ युद्वरत दुवै पक्षलाई उछाल्ने र दुइटैलाई हतियार बेच्ने काम गर्ने गरेको घाम जत्तिकै छर्लङ्ग छ । अमेरिकी प्रविधि र साथ सहयोगबाट दक्षिण कोरिया, चीन, जापान, इजरायल केही देशहरू बने पनि विश्वका धेरै देशहरू कंगाल बनेका छन र अनन्त गृहयुद्धमा फसेका छन् ।
मध्यपूर्वमा इजरायलले देश पाउँदा प्यालेस्टेनिहरूले पनि देश पाउनुपर्छ । मान्छेको देशै खोस्ने काम कुनै हालतमा कसैलाई पनि स्वीकार्य हुँदैन । आजको विश्वमा धेरै देशसंग अणुबम छन् । आर्थिक र सैन्य दृष्टिले धेरै देश बलिया छन् । कुनै न कुनै दिन आणविक हतियारको मिसयुज होला । कुनै पनि बहानामा ती पड्किएलान् । शक्तिको उन्माद बोक्नेहरू को कोसँग लड्ने, ककसलाई सिद्याएपछि उनीहरूको मनोरथ पूरा हुने ? विश्वका शक्तिशाली भनिएका देशहरूले सोच्न जरुरी छ ।
एउटा बिन्दुमा पुगेर त युद्व रोक्नै पर्ला र रोकिएला । दिगो शान्तिका लागि ठूला देशहरू ठूला अर्थतन्त्र भएका शक्तिशाली र प्रविधिले सम्पन्न देशहरूले पहल गरून् । प्यालेस्टाइनहरूले बगाएको रगतले मध्यपूर्वलाई एउटा निकास देओस् ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
