- Loading...
‘च्याङ्ग्रा ट्रेल’मा फेरिँदाे, ‘ब्यापार ट्रेन’
- पुनहिल डट कम
- १ साल अघि
- ४३० पटक पढिएको
सडक संरचनाले हिमाली क्षेत्रसम्म यातायात संचालन भएपछि मुस्ताङी खसी (चेलुक, च्याङ्ग्रा) पाेखराहुँदै काठमाणडाै, वुटवलसम्म पुग्ने तिब्बती ‘च्याङ्ग्रा ट्रेल’मा अहिले ढुवानीका साधन, व्यापारी भने फेरिएका छन् । दुइ दशक अघिसम्म मुस्ताङगी खसी राजधानी पुग्दैनथे । म्याग्दी, बाग्लुङ र पाेखरा क्षेत्रबाट राजधानी बसाइ सरेका बाहेक राजधानीमा मुस्ताङी थकालीकाे घरमा मात्र पुग्थ्याे । तर अहिले यहाँका बस्तीमा भन्दा धेरै राजधानी पुग्छन ।
नेपाली भान्छामा दसैंसँगै जोडिने खान्की हो मासु । महंगो भए पनि एक छाक त हो भन्दै चेलुकच्यांग्राको मासु खोज्ने धेरै हुन्छन् । दसैं गाउँवस्ती देखी सहरका घर–घरमा खसीबोका र भेडाच्यांग्राको व्यापार बढेको छ । म्याग्दी, बाग्लुङ्ग, पर्वतका गाउँवस्ती हुँदै पोखरा, वुटवल, काठमाण्डौ समेतका सहरका प्रायः घरमा दशैंकालागी च्याङ्ग्रा, चेलुक बाँधिएको छ । न्यून आय भएका परिवारले पनि रमा (च्याङ्ग्री) भएपनि राखेका छन । महंगीले गर्दाएकै परिवारले मात्र सिंङ्गो खसी खान नसक्ने अवस्था भएकोले छिमेकी परिवार मिलेर खसी बाँधेका छन । यहाँको समाजमा माशुलाई किलोमा तौलेर भन्दा चार खुर (चार खुट्टा)को आधारमा भागविलो लगाएर मासु खाने चलन छ ।
‘उसवेला सवै अहिले जस्ताे सवै तिर सहजै मासु पाइन्नथ्याे । कुखुरा, बंगुर र वफकाे मासु अहिले सवै जातीसमुदायमा सहज सेवन गर्छन त्याे बेला खसी, बाेका बाहेक अरू मासु वर्जित भएकाेले दशैंमा मात्र मासु खाने हुन्थ्याे । महिनाैं हिंडाएर ल्याउने भएकाले खसीलाइ धेरै टाढा पुर्याउन संभव थिएन । यतैका वस्तीमा बेच्थे । यति धेरै ल्याउँथेकी कति खसी त बाटाे छाेडेर बस्तीका घरमा पस्थे, कतिले बाँकाे समेतका कुरा खुवाएर खसी चाेर्थे पनि । मासुकाे मुल्य पनि सस्ताे भएकाेले सवै घरमा प्रशस्त मासु हुुन्थ्याे ’ अन्नपूर्ण गाउँपालिका, ६ घारका भुपेन्द्रबहादुर खड्काले भने, ‘अाजभाेली कुखुरा, बाख्रा घरघरमै पाल्छन, फ्रेसहाउसमा सवै समय कुखुराकाे मासु पाइने भएकाेले खसीकाे मासुकाे महत्व कम भएकाे छ । त्यै अझै दशैंमा मुस्ताङ्गी च्याङ्ग्राकाे मासु खाेजीखाेजी खाने चलन हटेकाे छैन ।’
कुनै बेला मुस्ताङ हुँदै तिब्बती नुन र पाल्पा हुँदै मधेशको सामानको (भोट–मधेश) बस्तु भेडा–च्यांग्रामा बोकाएर व्यापार गर्ने ‘साल्ट ट्रेड रुट’ थियो । अन्नपूर्ण–धवलागिरी बीचको कालीगण्डकी खोंच परम्परादेखि तिब्बती ‘च्याङ्ग्रा ट्रेल’ हो । तिब्बतबाट भेडाच्यांग्रामा नुनको भारी ल्याएर दसैंअघि बेंसीका बस्तीमा ओर्लने भोटका व्यापारी दुईथरी कारोबार गर्थे, नुनसित अन्न साट्ने र मासुका लागि भेडाच्यांग्रा बेच्ने ।
हिउँद सकिएपछि तराइ र पहाडी क्षेत्रबाट खाद्यान्नको भारी बोकाएर उकालो लाग्ने उनीहरु बर्खाभर लेकतिर चराएर फेरि अर्को दसैंअघि बेंसी झर्दै । दशैं–तिहारमा तिव्बतको प्रमुख व्यापारिक नाका मुस्ताङबाट तिब्बती र डोल्पा, मुगु तथा उपल्लो मुस्ताङबाट भेडाच्यांग्रा महिनौंसम्म धपाउँदै भोटकै ब्यापारी बेंसीका बस्तीसम्म झर्ने चलन थियो । सडक संरचनाले हिमाली क्षेत्रसम्म यातायात संचालन भएपछि मुस्ताङी खसीका नामले राजधानीसम्म पुग्ने तिब्बती ‘च्याङ्ग्रा ट्रेल’मा अहिले ढुवानीका साधन, व्यापारी भने फेरिएका छन् ।
परम्परादेखि तिब्बत, डोल्पा, मुगु र उपल्लो मुस्ताङबाट हिँडाउदै ल्याएका च्याङ्ग्रा म्याग्दीको घारखोला (अन्नपूर्ण गाउँपालिका–६) बाट बाँडिन्थे । कोहीले घारखोलाबाट पूर्व घार, शिख, घाडेपानी, विरेठाँटी, नयाँ पुल हुँदै पोखरा पुर्याउँथे । केही व्यापारी भने दक्षिण तिप्ल्याङ, बेनी, बाग्लुङ, कुस्मा हुँदै स्याङ्जा तर्फ लैजान्थे । व्यापारीहरु सबै मुस्ताङी वा तिब्बतीनै हुन्थे । अहिले पनी च्याङ्ग्रा ट्रेल कायम छ तर संख्या घटेकाे छ, ब्यापार ट्रेन फेरिएकाे छ, ब्यापारी फेरिएका छन ।
पहिला मुस्ताङ्गी वा तिब्बतीहरू (भाेटे)ले मात्र गर्ने चेलुक, च्याङ्ग्राकाे ब्यापारमा हिजाेअाज रून्वाहरू (तल वेंसीतिरका) ब्यापारी संलग्न हुन थालेका छन । सडक पहुँच सहज हुन थालेपछि खसी ब्यापारमा सहरका ठूला ब्यापारी नै माथी गाेठ उक्लन थालेका छन । गाउँघरका साना खसी ब्यापारी पनि विस्थापित हुन थालेका छन । त्यसकाे उदाहरण हाे, सिन्धुपाल्चोकका महेश थापा तीन वटा कन्टेनर (ठूला ट्रक) ल्याएर म्याग्दी सदरमुकाम बेनी पुगेका छन् । उनी कन्टेनरमा कुनै निर्माण सामग्री, लत्ताकपडा वा खाद्यान्न लिएर आएका हैनन् । न म्याग्दीका लेकाली आलु वा मुस्ताङका स्याउनै लिन आएका हुन् ।
१० वर्षदेखि मुस्ताङका भेडाच्याङ्ग्रा लगेर भक्तपुरको सल्लाघारीमा व्यापार गर्दै आएका उनले यो रुटमा खसी ब्यापारको शैलीमा धेरै परिवर्तन देखेको सुनाए । मोटरबाटोको पहुँच सहज बन्दै गएपछि मुस्ताङीको जीवनशैलीमा मात्र फेरिएको नभई भोट–काठमाडौं परम्परागत खसी व्यापारमा पनि परिवर्तन आएको उनले सुनाए ।
पहिला भेडाच्याङ्ग्रा धपाउँदै मुस्ताङी वा भोटकै कृषक/व्यापारी बेच्न आउँथे । अहिले तलबाट ब्यापारी पैंसाका बिटा बोकेर हिमाली उक्लिन्छन् ।
यातायातको सुविधा नपुग्दासम्म भेडाच्यांग्रा बेच्न व्यापारीहरु महिनौंको यात्रा तय गर्थे । महिनौंसम्म हिँडाउर लैजानु पर्दा बाटोमा अनेक समस्या हुन्थे । लड्ने, चोरी हुनेलगायत समस्या हुन्थे । वन संरक्षण र सामुदायिक वन विकास हुँदै गएपछि पछिल्लो समय बाटोमा चरन र बस्न समेत समस्या हुने गरेको थियो । ‘पहिले गाउँबस्तीमा पनि धेरै भेडाच्यांग्रा बेच्थ्यौं । कुनै ठाउमा त अन्न लिएर साट्थ्यौं पनि । अचेत सहर बजारतिर धेरै बिक्रि हुन्छन्,’ थापाले सुनाए, ‘अचेल गाउँघरमा कुखुरा भित्रिइसके । सहरमा भेडा खोज्छन् ।’
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङका अनुसार दसैंमा मुस्ताङबाट ८ हजार हाराहारी भेडा च्याङ्ग्रा पोखरा, काठमाडौंसम्म पुग्ने अनुमान छ । मुस्ताङमा बर्षेनी उत्पादन घट्दै गएको र कोरोला नाका बन्द भएर तिब्बतबाट आयात रोकिँदा भेडाच्याङ्ग्राको मूल्य भने आकाशिएको छ । विज्ञ केन्द्रका अनुसार गत वर्षभन्दा चार हजार भेडाच्याङ्ग्रा कम आएका छन् । मूल्य बढेपछि सामान्य परिवारले मुस्ताङी च्याङ्ग्राको मासुको खान नसक्ने अवस्था आएको छ ।
लोघेकर दामोदरकुण्ड र लोमन्थाङ गाउँपालिकाका अनुसार चार वर्षअघि उपल्लो मुस्ताङमा धेरै दिनसम्म परेको बाक्लो हिउँमा पुरिएर आठ हजार बढी भेडाच्याङ्ग्रा मरेकोले मुस्ताङमा उत्पादन घटेको हो । लोघेकर दामोदरकुण्ड गाउँपालिका क्षेत्रभित्र हरेकमा ३ सय बढी भेडाच्याङ्ग्रा पाल्ने १३ वटा गोठ सूचिकृत छन् । थप ५०–१०० का दरले पाल्ने १० परिवार छन् । ‘युवा पुस्ता पशुपालनमा आर्कषित छैन । भेडी गोठको संख्या घटेको छ ।
मुस्ताङको लोमन्थाङ, लोघेकर दामोदरकुण्ड र बाहृगाउँमुक्ति क्षेत्र गाउँपालिकाका क्षेत्रमा मात्र भेडाच्याङ्ग्रा पालन गरिन्छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले लोमन्थाङबाट २ हजार, लोघेकर दामोदरकुण्डबाट २ हजार र वारागुङमुक्ति क्षेत्र गाउँपालिकाबाट ३ हजार र डोल्पाबाट एक हजार हाराहारीमा भेडाच्याङ्ग्रा तल झार्दै गरेको जनाएको छ ।
‘अगुवा कृषक, समूह र व्यापारीसँग लिएको जानकारीबाट यो वर्ष ८ हजार जति भेडाच्याङ्ग्रा दसैंकालागि बजार झर्दैछन्,’ केन्द्रका प्रमुख पशु चिकित्सक लालमणि आचार्यले भने, ‘मुस्ताङबाट बजार झार्ने भेडाच्याङ्ग्राको आधारभूत क्वारेन्टाईन (सामान्य स्वास्थ्य परीक्षण) गरिएको छ । गत सातासम्म ५ हजारको निरोगिता प्रमाणपत्र लगेका छन् ।’