FLASH NEWS
  • Loading...

विश्व पर्यटन दिवस ः झाडीले छाेपिँदै पर्यटन पदमार्ग, निरास बन्दै पर्यटन ब्यवसायी

  • पुनहिल डट कम
  • १ साल अघि
  • १९४ पटक पढिएको
विश्व पर्यटन दिवस ः झाडीले छाेपिँदै पर्यटन पदमार्ग, निरास बन्दै पर्यटन ब्यवसायी

कोरोना महामारीसँगै सुस्ताएको पर्यटन क्षेत्र फेरी ब्युँतिन नसकेपछि यहाँका पर्यटकीय पदमार्गहरु विराना बन्न थालेका छन । पाहुना हिँड्ने बाटाहरु झाडीले छोपिएका छन ।
अन्नपूर्ण चक्रिय पदमार्ग अर्न्तगतका महरे, पुनहिल र खोप्रा पदमार्गमा फाट्टफुट्ट बाहृय पर्यटक आएपनि बाँकी फदमार्गका होटल, रेष्टुरेन्ट तथा होमस्टेहरु विरक्तलाग्दा बनेका छन । रसिया–युत्रेन युद्धसमेत विश्वमा ब्याप्त आर्थिक मन्दीको प्रभाव बृद्धी भएपछि झन पर्यटन क्षेत्र त्रस्त बनेको छ ।
धार्मिक पर्यटक, साहसिक पदयात्रा, जलयात्रा, मेडिसिन, कृषी, सिकार (हन्टिङ), पर्यापर्यटन तथा हिमाल आरोहण गर्न जाने समेत जिल्लाका कम्तीमा १२ वटा पाहुना डुलाउने नयाँ/पुराना पदमार्ग सुनसान छन ।
‘०७२ सालको भुकम्पपछि नेपालको पर्यटन क्षेत्र प्रभावित हुन थालेको हो । त्यसलगत्तै भारतिय नाकावन्दी, अनि तङ्ग्रीन नपाउँदै कोरोना महामारीले थला परेको पर्यटन फेरी ब्युँझने आसा थियो, रसिया–युक्रेन युद्ध र विश्वब्यापी आर्थिक मन्दीले फेरी पर्यटन क्षेत्र प्रभावित भएको छ’ बेनी नगरपालिका, ४ सिङ्गाका पर्यटन ब्यवसायी प्रमोद श्रेष्ठले भने, ‘कोरोनापछि पर्यटकको लर्को लाग्ने विश्वासमा करोडौं खर्चेर ठूला होटलसमेतका पूर्वाधार बनाईयो । तर सोचे झै पर्यटक आएनन । पर्यटनमा गरेको लगानी डुबेपछि जिल्लाका दर्जनबढी नयाँ ब्यवसायी आर्थिक संकटमा फसेका छन ।’


जिल्लामा विश्व प्रशिद्ध अन्नपूर्ण चक्रिय पदमार्गबाहेक गुर्जा, पुथा र चुरेन हिमाल वेसक्याम्पहुँदै डोल्पा निक्लने यार्सागुम्बु ट्रेल, जिल्लाको सवै भन्दापरको लुकेको वस्ती गुर्जा (हिडन भिलेज)हुँदै रुकुम निक्लने गुर्जा ट्रेल, माओवादीले शसस्त्र विद्रोहकालमा प्रयोग भएको बेनी–ताकम–जलजल–रुकुमको मैकोटहुँदै रोल्पाको थवाङ्ग जोड्ने गुरिल्ला ट्रेल, ढोरपाटन सिकार आरक्ष पुग्ने ढोरपाटन पदमार्गमा पछिल्ला केही बर्षदेखी पर्यटक आएका छैनन । पर्यटक नै नआएपछि पर्यटन क्षेत्रका होटल रेष्टुरेन्टहरु बन्द भै ब्यवसायी विस्थापित भएका छन ।
‘माओवादीको द्वन्द्वकालमा पनि बरु विदेशी पर्यटकहरु आउँमा आउँथे । पर्यटन विकास गर्ने भनेर बाटा मर्मत गर्‍यौं, पर्यटककालागी खाना, खाजा पकाउने तालिम लियौं, गाउँका घर मर्मतगरी होमस्टे सहित होटल, रेष्टुरेन्ट बनायौं तर कोरोनापछि त झन गाउँमा पर्यटक आउनै छोडे । पछिल्ला चार–पाँच बर्ष यो बाटो पर्यटक हिंडेको देखेको छैन’ ढोरपाटन सिकार आरक्ष भित्र पर्ने धवलागिरी गाउँपालिका, २ लम्सुङ स्थित लम्सुङ होटलका ममता पुनले भनिन् ‘ढोरपाटन सिकार आरक्षहुँदै उपल्लो डोल्पा जाने र गुर्जा, चुरेन, पुथा हिमाल जाने पर्यटक पर्यटक छुटिने दोभानमा रहेको लम्सुङमा पर्यटन मन्त्रालयले बनाएको क्याम्पेन साईट र पाहुना घरमा पनि अलपत्र छ ।’
त्यसैगरी म्याग्दी खोला करिडोरबाट गरिने धवलागिरी प्रथम आरोहण गर्न सोझै वेस क्याम्पमा ओर्लने आरोहीले वेस क्याम्पमा सिजनमा चहलपहल हुने गरेपनि पदमार्ग सुनसान छन । पदमार्गका पर्यटन ब्यवसायी विस्थापित भैसके । पछिल्ला केही बर्षदेखी धवलागिरी फन्को लगाउाने, धवलागिरी सेन्चुरी, र धवलागिरी आईसफलहुँदै मुस्ताङ्गको टुक्चे निक्लने आईसफल ट्रेलमा एक जना पनि पर्यटक हिंडेका छैनन ।
नारच्याङ्गहुँदै अन्नपूर्णको पश्चिम फेदी र निलगिरीको पूर्वी फेदी जोडिएको संयुक्त वेस क्याम्प तथा अन्नपूर्ण आरोहणमा पर्यटक आउने गरेपनि उनीहरु तातोपानीबाट सोझै वेस क्याम्प ओर्लने गरेका छन । पर्वतारोहीहरु पदयात्रा गर्ने प्रायः चलन अन्त्य भए जस्तो छ । अन्नपूर्ण हिमाल आरोहणको सुरु यही वेसक्याम्पबाट भएको हो । अहिले पनि यही मोहोडाबाट मात्र अन्नपूर्ण आरोहण गर्ने गरिएको छ । स्थानीय अन्नपूर्ण गाउँपालिकाले यस हिमालको वेस क्यााम्प पुग्न सजिला मौरिस हर्जोग पदमार्ग बनाएको छ । बाटोमा पर्ने जलविधुत आयोजनाहरुले पहुँच मार्ग बनाएकोले पदयात्रा छोटिएकोले मौरिस हर्जोग पदमार्गमा अघिल्लो बर्ष आन्तरिक पर्यटक भने केही बढेका थिए ।
‘अन्नपूर्ण नर्थ वेस क्याम्प पुग्ने पर्यटक र अन्नपूर्ण प्रथम आरोहण गर्ने आरोहीको संख्या बढेको छ । तर ति पर्यटक न तिनका सहयोगी पैदल मार्गबाट जान्छन । ट्रेकिङ एजेन्सी कम्पनीहरुले ताातोपानीबाट सोझै हेलिकोप्टरबाट पर्यटक बोक्ने भएकोले विचका पर्यटन ब्यवसाय चिन्तित छन’ अन्नपूर्ण नर्थ वेस क्यााम्प पुग्ने मौरिस पदमार्ग पहिचान तथा प्रर्वद्धनका अगुवा पर्यटन ब्यवसायी तेजबहादुर गुरुङले भने, ‘सहरमा पर्यटन दिवस मनाएर के गर्नु ? पर्यटन दिवस मनाउनेहरु नै एक दिनको पदयात्रा गर्दैनन । पर्यटन ब्यवसाय प्रमुख श्रोत भनिएपनि यो झन झन खस्कदो छ ।’
नेपालको नमुना पदमार्गको रुपमा परिचित नागी–महरे–खोप्रा सामुदायीक पर्यापदमार्गका नागी, फुलवारी, हिस्तान लगाएतका वस्तीमा रहेका होटल, होमस्टेहरुले पर्यटक भेट्न छोडेको धेरै भैसक्यो । कालीगण्डकी तथा म्याग्दी नदीमा जल यात्राको रुपमा कायकिङ तथा र्‍याफ्टिङ् गर्ने पर्यटक देखिदैनन ।
म्याग्दीको भौगोलिक स्वरुप, जैविक विविधता, सामाजिक तथा सास्कृतिक मौलिकता, धौलागिरी समेतका हिमाश।ृंखलाहरु, हिमनदी, स्वच्छ पानीका नदीहरु, झरना तथा छांगाहरुका साथै पुरातात्विक महत्वका सास्कृतिक तथा धार्मिक सम्पदाहरु पर्यटकीय गन्तब्य हुन ।
मुक्तिनाथ तथा दामोदर कुण्ड जाने प्रवेश द्वारको रुपमा रहेकोले धार्मिक पर्यटनको संख्यामा भने उल्लेख्य बृद्धी भएको छ । पनि उत्तिकै राम्रो संभावना छन । प्रशिद्ध गलेश्वरलाई कालीगण्डकी नदी तटका मुख्य तीर्थस्थलको रुपमा प्रशिद्ध छ । हिन्दु प्रमुख धार्मिक ग्रन्थ रामायणका चर्चित पात्र रावणको बाल्यकाल बेनीदेखी केही माथी पुलाहश्रम क्षेत्रमा रावण पार्क निर्माण हुन थालेको छ । त्यसैगरी मालिका, रिखार, नागी वराह, खयरवराह जस्ता धार्मिक क्षेत्र पनि उत्तिकै चर्चित छ ।
‘हाम्रा धेरै आफन्त आफ्ना देवताहरु पुख्यौली थलो मै छोडेर विदेश तथा देशका ठूला शहरमा बसाई सरेकाहरुलाई कम्तीमा बर्षमा एक पटक जिल्लाका पर्यटकीय क्षेत्रमा डुलाउनै पर्ने भएको छ । प्रवासीहरुले देशको पर्यटन उद्योग बचाउन अव आ–आफ्ना थलोमा ल्याउन चाहन्छौं’ म्याग्दी प्रवासी नेपाली संघ (मोना)का उपाध्यक्ष दधिवल खड्काले भने, ‘यस्ले पर्यटन कल्चरको विकास र पूर्वाधार विकासमा स्थानीय सरकारलाई समेत जोड्ने विश्वास गरेका छौं ।’ *कान्तिपुरमा समाचार छ ।