FLASH NEWS
  • Loading...

योजना अलपत्र पार्ने ठेकदार कार्वाही गर्न खरिद ऐन बाधक–मुख्यमन्त्री पाण्डे

  • पुनहिल डट कम
  • १ साल अघि
  • १४९ पटक पढिएको
योजना अलपत्र पार्ने ठेकदार कार्वाही गर्न खरिद ऐन बाधक–मुख्यमन्त्री पाण्डे

नेपाल सरकारकाे खरिद एेन बाधक बन्दा बेनी अस्पताल समेत योजनाहरु अलपत्र पार्ने, अधुरा छोडी भाग्ने ठेकदारलाई कार्वाही गर्न बाधा पुर्याएकाे गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्र पाण्डेले बताएका छन ।

नेपाल जेसिजकाे क्षेत्र ख सम्मेलन उदघाटन गर्न बेनी आएका मुख्य मन्त्री पाण्डेले यस्ताे कुरा बताएका हुन । मुख्य मन्त्री पाण्डेले प्रदेश सरकार मातहत रहेको बेनी अस्पतालको भवन धेरै वर्षदेखी अधकल्चो अवस्थामा अलपत्र परेपनि सरोकारवाला निकाय रमिते बनेको जिल्लावासीको गुनासो सम्बोधन गर्दै खरिद ऐन बाधक बन्दा काम गुणस्तरिय तथा अलपत्र पर्दा पनि कुनै कार्वाही गर्न नसकिएको बताएका हुन ।
कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष बेलबाहादुर कटुवाल, बेनी नगरपालिकाका मेयर सुरत केसी, जिल्ला समन्वय समितिका संयोजक राजकुमार थापा समेतका वक्ताले प्रदेश सरकार मातहतका कार्यालयको काम प्रभावकारी बन्न नसकेको समेत गुनासो गरेका थिए ।
‘प्रदेश सरकार मातहत रहेको बेनी अस्पतालको बषौंदेखी अधकल्चो भवनले लज्जाबोध गराएको छ । अस्पताल प्रदेश अर्न्तगत भएपनि भवन निर्माण ठेक्का संघिय सरकारले गराएको हो । प्रदेशले हस्तक्षेप गरी निर्माण अगाडी बढाउन पहिला ठेक्का सम्झौता तोडिनु पर्छ । अहिले ठेक्का सम्झौता तोड्न सजिलो छैन । खरिद ऐनले बाधक छ’ सम्मेलन उद्घाटन गर्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भने, ‘ठेकदारलाई बोलाएर सम्झाउने, फकाएर काममा पठाउनुको विकल्प छैन । प्रयास गरिरहेको छु । संघिय सरकारले योजना हस्तान्त्रण गरेपनि बजेट हस्तान्त्रण नगर्दा धेरै योजनाहरु अलपत्र पनि परेका छन । कतिपय योजनाहरु सम्पन्न भैसकेपनि बजेट निरन्तर रहेको भन्ने गुनासा पनि छन ।’
मुख्य मन्त्री पाण्डेले थपे, ‘अव गण्डकी प्रदेश सरकार मातहत रहेका केही कार्यालयहरुको औचित्य अध्ययनगरी मर्जर गर्न कार्यदल बनाएका छौं । प्रदेशका असफल योजनाको लिस्ट बनाई योजना तथा निती आयोग मार्फत योजनाको धुलाई गर्ने तयारीमा छौं । त्यसो भएमात्र प्रदेश सरकार प्रभावकारी देखिन सक्छन ।’
असोज ६ गतेसम्म चल्ने सम्मेलनमा जेसिजको क्षेत्र ख अर्न्तगतका ४१ शाखाका करिव ६ सय प्रतिनिधी, पर्यवेक्षक तथा अतिथी बेनी आएका छन । सम्मेलनमा सहभागी हुन आएका पााहुनाको सत्कारमा म्याग्दीबासीले सदरमुकाम धजापतकाले सजाउने, घरघरमा जगघडाले स्वागत गर्नुको साथै आ–आफ्नो जातिय पहिचान झल्कने सांस्कृतिक झाँकीले सतकार गरेका थिए ।
परम्परागत प्रथाको प्रतिकात्मक रुपमा प्रमुख अतिथीलाई मञ्चमा आमन्त्रण गर्ने नयाँ शैली अपनाईएको थियो । जिल्लाका ग्रामिण वस्तीमा अझै पनि कटुवाल प्रथा कायम रहेको संदेश दिन ‘कटुवालले कर्णाल फुकेर घोक हाल्दै’ प्रमुख अतिथीलाई मञ्चमा आमन्त्रण गरेका थिए ।