FLASH NEWS
  • Loading...

म्याग्दीमा क्वार्ज खानीहरु अलपत्र

  • पुनहिल डट कम
  • १ साल अघि
  • २७१ पटक पढिएको
म्याग्दीमा क्वार्ज खानीहरु अलपत्र

देशमा उपलब्ध कच्चा पदार्थमा आधारित उद्योग संञ्चालन गर्न खानीहरुको महत्व हुन्छ । तर म्याग्दीमा रहेका खनिजरत्न, खनिज पदार्थ समेत बहुमुल्य पदार्थका प्रयोगहीन भै अलपत्र छन ।
खानी तथा भुगर्भ विभागका अनुसार म्याग्दीमा सुन, तामा, फलाम, क्वार्ज, कप्रक, चुनढुङ्गा, खरिढुङ्गा, स्लेटढुङ्गा, मार्वल र तातोपानीमा मुहानहरु (हटस्पीङ) पाईन्छन ।
जिल्लाको धवलागिरी गाउँपालिका, १ गुर्जा र सोही गापा, ४ मुदीको विचमा पर्ने गुर्जाडाँडाको र रघुगंगा गाउँपालिका, ६ कोटगाउँको आर्या सामुदायीक वन भित्रको पहाडमा पनी क्वार्ज किस्टलको खानी छ ।
‘म्याग्दीको गुर्जामा पाईने क्वार्जको खानीबाट केही नुमना झिकेर काठमाण्डौका आभुषण ब्यापारी मार्फत त्यसको गुणस्तर नाप्न पठाएका हौं । यहाँको क्वार्ज क्रिस्टलको गुणस्तर (कठोरता) ५–६ कति छ भन्नु हुन्थ्यो । धेरै वर्ष भयो, पठाएको ल्याव रिपोर्ट पनि कता हरायो’ नेपाल उद्योग वाणिज्य महाँसंघका पूर्व उपाध्यक्ष प्रमोद श्रेष्ठले भने, ‘यहाँ क्वार्ज किस्टलको खानी छ, गुणस्तर पनि राम्रो छ भन्ने थियो तर कानुनी झन्झट, त्यसको भोलुम र पहुँच मार्गको समस्याले अल्झेको होला ।’
डिभिजन वन कार्यालय म्याग्दीको अभिलेख अनुसार केही बर्ष अघि धवलागिरी गाउँपालिका, १ गुर्जाडाँडाबाट उत्खनन गरी काठमाण्डौ लैजान लागेको एक हजार ३ सय १ हजार ३ सय ८ टन क्वार्ज क्रिस्टल वन कार्यालयले पक्राउ गरेको थियो । कतिपय मान्छेहरुले यहाँ भेटिने ‘सेतो टल्कने ढुङ्गा’ झिकेर झोलामा हाली लैजाने गरेको स्थानीयले बताउँछन ।
धवलागिरी गाउँपालिका, ४ मुदीका आसमान गुरुङले ०६६ फागुन ११ गते सोही गापा, १ गुर्जाडाँडबाट खानी तथा भुगर्भ विभागबाट क्वार्ज ढुङ्गा खोजतलास गर्न अनुमति लिएर उत्खनन गरी परिक्षणकालागी लैजानखोज्दा वन कार्यालयले पक्राउ गरी ‘गैहृकानुनी रुपमा वनपैदावर (सेतोढुङ्गा) ओसार–पसार मुद्धा’ दर्ता गरेको थियो ।
जिल्ला अदालत म्याग्दीले ०६७ फागुन ३ गते ‘खानी तथा भुगर्भ विभागबाट क्वार्ज ढुङ्गा खोजतलास गर्न अनुमति लिएको र ‘औधोगित स्तरको क्वार्ज ढुङ्गा’ खोजतलास कार्यको शिलशिलामा झिकिएका खजिन पदार्थको खनिज पदार्थको प्रकृति, परिणाम, महात्व र प्रस्तावित परिक्षण वा विश्लेषण गर्न वा गराउनको निमित्त विदेशसमेत लैजान पाईने कानुनी ब्यवस्था भएकोले बरामद भएको क्वर्ज ढुङ्गाको राजश्व असुलीगरी छोड्न आदेश गरेको थियो ।
अदालतको आदेशपछि आसमान गुरुङले नै प्रतिटन २० रुपैयाँका दरले १ हजार तीन सय ८ टनको २६ हजार १ सय ६० रुपैयाँ राजश्व बुझाएर क्वार्ज लगेका थिए । अहिले राजधानीमा बसोबास गर्ने गुरुङसँग सम्पर्क हुन सकेन ।
‘म्याग्दीमा क्वार्ज, तामा समेतका धेरै खनिज पदार्थहरु पाईन्छन । तामाका त पहिला स्थानीयले उत्खनन गर्ने गरेकै खानीहरु छन । केही बर्ष अघिसम्म खानी तथा भुगर्भ विभागबाट स्वीकृती लिएर जिल्लामा सुन, तामा समेतका खनिज पदार्थ अन्वेशण गर्न धेरै आउँले अहिले अन्वेशण गर्ने समेत घटेका छन’ डिभिजन वन कार्यालयका सहायक वन अधिकृत चन्द्रमणी सापकोटाले भने, ‘कोटगाउँको पहाडबाट केही बाहिरका मान्छेहरु आएर क्वार्ज क्रिस्टल खनेर झोलामा लैजाने गरेको वन उपभोक्ता समितिले सूचना दिएका छन ।’
जिल्लमा बढी पाईने खनिज पदार्थमा तामा प्रमुख हो । स्थानिय खनेलहरुले रैथाने प्रविधीबाट उत्खनन गरिएको मालिका गाउँपालिका, ४ (साविक ओखरबोट–८) खटेनडाँडा स्थित तामाखानी मुख्य हो । स्थानिय दीर्घनारायण भट्टचन र दीलिप शेरचनले ०१८ सालदेखी नै ओखरवोटको तामाखानी संञ्चालन गरेपनि आधुनिक प्रविधीको अभावमा ०४६ सालदेखी तामाखानी बन्द छ ।
‘उपयुक्त प्रविधी अभावमा जोखिममोल्न सकेनौं र खानी बन्द गर्‍यौं । खानी उत्खनन गर्ने परम्परागत शीप युवा पुस्तामा हस्तान्त्रण गराउन खानी विभागमा पुनः खानी उत्खनन गर्ने अनुमति नपाएपछि अलपत्र छ’ पूर्वखानी संञ्चालक दीलिप शेरचनले सुनाए,– ‘खानीसम्म मोटरबाटो र विजुली पुगेकोले पुनःउत्खनन गर्ने र आफ्नो शिप र ज्ञान हस्तान्त्रण गर्ने धोको छ ।’
खटेनडाँडाको भिरमा कम्तीमा २५ वटाभन्दा बढी तामा निकाल्ने गरिएको सुरुङ्गहरु छन् । ओखरबोट धौलागिरी गाउँपालिका, १ गुर्जा, ५ मच्छिम, रघुगंगा गाउँपालिका, ६ ठाडाखानी, ८ चौरको झिंखानी समेत २१ ठाउँमा तामाखानी भएपनि सवै बन्द छन । विभिन्न स्थानका खानीहरु संञ्चालन हुन नसक्दा खानी उत्खननमा पोख्त स्थानिय ‘खनेल’हरुको शिप पुस्तान्त्रण हुन नसक्दा लोप हुने अवस्थामा छ । स्थानीय सरकारको रुपमा रहेको गाउँपालिका निर्वाचनपछि स्थानीयले खटेनडाँडाको तामाखानी पुनः संञ्चालन गर्न प्रयास गरेपनि कानुनी अड्चन आएको छ ।
‘वन मन्त्रालयसँगको समवन्ययमा खानी उत्खनन गर्न वतावारणीय प्रभाव मुल्याङ्ढन प्रतिवेदन र विस्तृत वातावरणीय प्रभाव मुल्याङ्ढन प्रतिवेदन तयार पारी खानी विभागमा गयौं तर स्वीकृत प्राप्त भएन’ मालिका गाउँपालिका प्रमुख बेगप्रसाद गर्वुजाले भने, ‘खानी उत्खननको स्वीकृत प्रदेश कानुन अनुसार हुने भएकोले कानुनी अल्झन आएको छ ।’
तामा खानी मात्र होईन, धौलागिरी गाउँपालिका, ९ मल्कवाङ्ग र रघुगंगा गाउँपालिका, ८ मंगले क्षेत्रमा फलामखानी पनि रहेका छन । तामाखानी तथा फलामखानी पत्ता लगाउने र उत्खनन गर्ने विज्ञ छन्त्याल जातिलाई मानिन्छ । छन्त्यालहरु आफूलाई खानी खन्ने जातिको रुपमा गर्व गर्ने गरेका छन । जहाँ छन्त्याल जातिको बसोबास छ त्यहीं नै फलाम र तामाखानी रहेको पाईन्छ । छन्त्याल वस्ती रहेका गाउँको पछाडी ‘खानी’ जोडिएको हुन्छ ।
रहुघाट र कालीगण्डकी नदीमा प्लेसर गोल्ड भनिने बालुवामा पाईने सुनका टुक्रा पाईने गरेको छ । बालुवामा सुनका टुक्रा भेटिनुलाई नदीका उद्गम क्षेत्रमा सुनखानी हुन सक्ने बलियो आधार हो । करिव १० बर्षअघि काठमाण्डौको एक कम्पनीले दाना गविस र र सदरमुकाम नजिक बगुवाखोलामा सुन उत्खनन गर्न खानी विभागबाट अनुमति लिएको परिपत्र जिल्ला प्रशासनमा आएको थियो । तर कम्पनीले अन्वेषण गरे/नगरेको खुलेन । गतबर्ष एक चिनियाँ कम्पनीले घाँसा क्षेत्रमा कालीगण्डकी नदी क्षेत्रमा सुनखानी अन्वेषण गरेको थियो ।
गैहृखनिज फदार्थ खरीढुङ्गा अर्को महत्वपूर्ण हो । जिल्लाको रघुगंगा गाउँपालिका, २ भगवतीमा खरीढुङ्गाको खानी छ । यहाँको खरीढुङ्गा खानी संञ्चालन गर्न गौतम खनीज उद्योग भरतपुर, ४ चितवन (हाल एएसडिसी एसिया प्रालि त्रिपुरेश्वर, काठमाण्डौ)ले उत्खनन गर्दै आएकोमा वन विभागको स्वीकृति नभएको भन्दै अख्तियारमा मुद्धा परेपछि उत्खनन रोकिएको हो । गैहृखनिज पदार्थ अर्न्तगत चुनढुङ्गा विश्वमा सवै भन्दाबढी उत्खनन हुने पदार्थ हो । सिमेन्टमा प्रयोग हुने चुनढुङ्गा म्याग्दीका धेरै ठाउँमा रहेको छ । सदरमुकाम वरपरका पहाडबाट निक्लने पानीको मुहानमा अधिक चुनढुङ्गा भेटिएको छ । त्यसैगरी मुदी गाविसको बगरा तातोपानीको मुलमा अधिक मात्रामा चुनढुङ्गा बग्ने गर्छ । यहाँको मुलबाट चुनको लेग्रालेग्रा बग्ने गर्छ ।
धौलागिरी गापा, ३ मच्छिममा अप्रकको पहाड नै पाईन्छ ।  डाईमन्सन ढुङ्गाहरु पनि जिल्लामा छन । अन्नपूर्ण गाउँपालिका ५ शिख र ६ घारको दगुर्नेपानी क्षेत्रमा मार्वल पाईन्छ । मालिका गाउँपालिका, ३ रुममा स्लेट ढुङ्गेखानी छ । स्लेट ढुङ्गा जिल्लाका अन्य दर्जनबढी क्षेत्रमा छन ।