FLASH NEWS
  • Loading...

हरितालिका (तिज)मा घारमा ‘कृष्ण खड्का स्मृति कप’ भलिवल प्रतियोगिता हुने

  • पुनहिल डट कम
  • १ साल अघि
  • १२६३ पटक पढिएको
हरितालिका (तिज)मा घारमा ‘कृष्ण खड्का स्मृति कप’ भलिवल प्रतियोगिता हुने

अन्नपूर्ण गाउँपालिका, ६ घारको ‘भुवानी युवा परिवार’ले हरितालिका (तिज) २०८० सालको अवसर पारेर क्लवका संस्थापक स्व.कृष्णप्रसाद खड्काको स्मृतिमा ‘वडास्तरीय’ खुल्ला पुरुष भलिवल प्रतियोगिता गर्ने भएको छ ।

अन्नपूर्ण गाउँपालिकाको एक वडा एक मेला कार्यक्रम अर्न्तगत यस वर्ष ६ नम्बर वडाको भुवानी युवा परिवारले परम्परादेखी लगाउँदै आएको तीज मेला लगाउने पालो पाएको हो । तिज मेला प्रतियोगितामा पुरुष भलिवल, महिला भलिवल, पुरुष पौढ भलिवल, खुल्ला नृत्य तथा तीज गीत प्रतियोगिता आयोजना हुने आयोजक समितिका सदस्य विमल खड्काले बताए ।

२०४६/०४७ सालमा भुवानी युवा परिवार संस्थापक सदस्य स्व.कृष्णप्रसाद खड्का म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतको संस्थापक कोषाध्यक्ष, अध्यक्ष रहेका थिए । खड्काको गतवर्ष हृदयघातबाट मृत्यु भएको थियो ।

‘कृष्ण भुवानी युवा परिवारका संस्थापक मात्र होईन, परिवारका भलिवल तथा साँकृतिक कार्यक्रम सकृय सदस्य थिए । उनै कृष्णको सम्मानमा आयोजित मेलासँग परिवार पनि जोडिएका छौं’ स्व. कृष्णका दाजु श्यामप्रसाद खड्काले भने, ‘भाई मात्र होईन भुवानी युवा परिवारको संस्थापक र सकृय सदस्य म पनि भएकोले धेरथोर आर्थिक रुपमा सहभागीता हुन्छ । रकम कति हुने भन्ने परिवारमा सल्लाह हुँदैछ ।’

७७ हजार ७ सय ७७ रुपैयाँ प्रथम र ४४ हजार ४ सय ४४ रुपैयाँ दोस्रोलाई पुरस्कार राशी रहेको पुरुष भलिवल प्रतियोगिता वडा स्तरिय तर खुल्ला (जुनसुकै पालिकाबाट समेत सहभागी हुन पाईने तर एउटै वडाकाे हुनु पर्ने) हुने आयोजकले जनाएको छ । प्रतियोगिता आगामी भदौ २७ गतेदेखी असोज १ गतेसम्म अन्नपूर्ण गाउँपालिका, ६ घार भुवानीथानमा संञ्चालन हुने छ ।

‘प्रतियोगिता वडा स्तरिय भने जुनसुकै पालिकाबाट पनि सहभागी हुन पाईन्छ । तर टीम सम्बन्धीत वडाभित्रको मात्र हुनु पर्ने छ । टीम दर्ता गर्दा खेलाडी सम्बन्धित वडाको मात्र हो भन्ने प्रमाण पेश गर्नु पर्ने छ’ कृष्णप्रसाद खड्का स्मृति तिज मेला आयोजक समितिका अध्यक्ष राजाराम बरुवालले भने, ‘महिला र प्राैढ भलिवल प्रतियोगिताका सहभागी भने वडा भित्रका पनि वस्ती स्तरीय गाउँबाट सहभागी गराईने छ ।’

त्यसैगरी कृष्ण स्मृति तिज मेला ०८० को अवसरमा वस्ती स्तरीय महिला तथा प्राैढ भलिवल प्रतियोगिता पनि आयोजना हुने छ । महिला भलिवल तर्फ प्रथम पुरस्कार ३० हजार ३ सय ३३ र दोस्रो हुनेले १८ हजार ८ सय १८ पुरस्कार राशी रहेको छ । ३५ बर्ष माथीका प्राैढ सहभागी हुन पाईने पुरुष भलिवल प्रतियोगितामा प्रथम हुनेले ४० हजार ४ सय ४४ र दोस्रो हुनेले २५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार ब्यवस्था गरिएको आयोजक भुवानी युवा परिवारले जनाएको छ ।

मेला आयोजका अनुसार प्रतियोगितामा सहभागी पुरुष भलिवल टिमले ८ हजार, पौढ पुरुष भलिवलको ५ हजार, महिला भलिवलको ३ हजार र खुल्ला नृत्य तथा तीज गीत प्रतियोगिताका सहभागी टिमलाइ ५–५ सय दर्ता शुल्क तोकिएको छ ।