- Loading...
आँखा पाक्ने रोग फैलिएपछि बेनीका विद्यालय चार दिन बन्द
- पुनहिल डट कम
- १ साल अघि
- २१३ पटक पढिएको
आँखा पाक्ने सरूवा रोगको प्रकोप बढ्दै गएपछि म्याग्दी सदरमुकाम समेत रहेकाे बेनी नगरपालिका भित्रका विद्यालयहरू चार दिन बन्द गरिएकाे छ ।
बेनी नगरपालिकाले साेमबार सूचना प्रकाशित गरी नगर क्षेत्रका अधिकांश विद्यालयका विद्यार्थीहरू संक्रमित भएकाे, संक्रमण दर बढेकाे र थप फैलन सक्ने भएकाेले आँखा पाक्ने सरूवा रोगकाे संक्रमणा नियन्त्रण गर्न भन्दै साउन २९ गतेदेखी भदाै १ गतेसम्मकालागी विद्यालय बन्द गरिने उल्लेख छ ।
आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएकाले सम्भावित जोखिम न्यूनीकरण गर्न विद्यालय बन्द गर्ने निर्णय गरेको बेनी नगर प्रमुख सुरत केसीले बताए ।
बेनी अस्पतालले पिन पछिल्लो केही दिनदेखि आँखा रोगका बिरामीको भीड पनि बढेको जनाएकाे छ । डाक्टरहरूका अनुसार सङ्क्रमण भइसकेपछि सुरूमा आँखा बिझाउने, चिलाउने, चिप्रा टाँसिने, आँखा रातो हुने, आँसु बग्ने, घाममा हिँड्न गाह्रो हुनेलगायत लक्षण देखापर्छन् । कसैकसैको आँखाको ढकनी पनि सुन्निन्छ ।
चिकित्सकले रोग लाग्न नदिन आँखा सफा राख्न र रोग लागेको खण्डमा बिहान–बेलुकी सफा पानीले आँखा पखाल्न तथा बरफले सेक्न आग्रह गरेका छन् । आँखामा समस्या देखिएका व्यक्तिलाई चस्माको प्रयोग गर्न र भीडभाडमा नजान पनि आग्रह गरिएको छ । चिकित्सकको सल्लाहअनुसार उपचार गर्न पनि आग्रह गरिएको छ ।