FLASH NEWS
  • Loading...

म्याग्दीका विद्यालयमा सँधै गणित तथा विज्ञान शिक्षककाे पिरलो, गणित पढ्ने विद्यार्थी नै छैनन्

  • पुनहिल डट कम
  • १ साल अघि
  • ४८७ पटक पढिएको
म्याग्दीका विद्यालयमा सँधै गणित तथा विज्ञान शिक्षककाे पिरलो, गणित पढ्ने विद्यार्थी नै छैनन्

मंगला गाउँपालिका, १ पर्णगाउँ स्थित जनजागृती माध्यामिक विद्यालयले गणित विषयका शिक्षक भर्ना गर्न १० औं पटक विज्ञापन गर्दा पनि कसैले दरखास्त हालेनन् । पटक–पटक विज्ञापन गर्दा पनि शिक्षक नपाएर आजित विद्यालयले विषयगत शिक्षक नहुँदा पठनपाठन प्रभावित भएको जनाएको छ ।
त्यस्तै, अन्नपूर्ण गाउँपालिका, २ भुरुङतातोपानी स्थित सर्वोदय माध्यामिक विद्यालयले माध्यामिक तहमा पाचौं पटकसम्म गणित शिक्षकको विज्ञापन गरेपनि शिक्षक पाउन सकेको छैन । सर्वोदय माविमा गत पुसदेखी नै गणित शिक्षक दरवन्दी खाली छ ।
गणित शिक्षक नपाएपछि विद्यालयले एसईई दिने विद्यार्थीकालागी छिमेकी मुक्तिमार्ग माविका शिक्षक विमल बरुवाललाई विहान–बेलुकी तथा शनिवार पढाएर कोर्स सक्नेगरी पार्ट टाईम नियुक्तगरी पठनपाठन चलाएको थियो ।
‘धेरै पटक विज्ञापन गर्दा पनी कोही शिक्षक आएनन । हैरानै भैयो । लामो समयदेखी गणित विषयका शिक्षक नहुँदा विद्यार्थीको पठन पाठन प्रभावित भएको छ । गत एसईई परिक्षामा सम्मिलित भएका विद्यार्थीलाई त छिमेकी विद्यालयबाट शिक्षक पार्टटाईममा बोलाएर कोर्स सकाएर परिक्षामा सहभागी गराउनु परेको थियो’ सर्वोदय मावि तातोपानीका प्रध्यानअध्यापक गोविन्द थापाले भने, ‘अहिले ९–१० लाई विज्ञान विषयका र तल्लो कक्षाका शिक्षकले माथिल्लो तहमा पढाउन लगाएर कक्षा खाली हुन रोकेका छौं । जुन काम चलाउ मात्र हो ।’
मंगला गापाको जनजागृती, अन्नपूर्ण गापाको सर्वोदय मावि मात्र होईन, सदरमुकाम रहेको बेनी नगरपालिका भित्रकै सुगम विद्यालयहरुले पनि गणित र विज्ञान विषयका शिक्षक पाएका छैनन । बेनी नगरपालिका, ४ तातोपानी स्थित सरस्वती माविले विज्ञान शिक्षक, बेनी नपा, ९ नेप्टेचौरको राष्ट्रिय मावि र अथुङ्गेको ज्यामुखाखर्क माविले गत वैशाखदेखी गणित विषयका शिक्षक खोजेको खोज्यै छन । तीन पटक विज्ञापन गरिसके कोही दरखास्त हाल्न आउँदैनन । उस्तै समस्या छ, बेनी नपा, १ अर्जमको रामचन्द्र मावि र बेनी नपा, १० पात्लेखेतको दिपक माविको पनि ।
जिल्लाका गाउँका सामुदायीक विद्यालयमा माक्र होईन सदरमुकाम बेनीका सुविधायुत्त निजी विद्यालयहरुमा समेत विज्ञान, गणित र कम्प्युटर विषयका शिक्षकको सँधै पिरलो भैरहन्छ । खाना, वस्न र तलवमै अतिरिक्त सुविधा थप्दासमेत दुर्गमका विद्यालयले विज्ञान विषयको शिक्षक पाएका छैनन । विज्ञान, गणित र कम्प्युटर विषयका शिक्षक करार र अस्थाई दरवन्दीमा आउन मान्दैनन । अन्यत्र जागिर सुरक्षित नहुँदासम्म शिक्षण पेशामा आएका शिक्षक पनि सहरी इलाकैमा खोसाखोस हुने भएकोले दुर्गममा पुग्नै पाईदैनन ।
‘हामीले विज्ञान शिक्षककोलागी तीन पटक सूचना निकाल्यौं तर शिक्षा शास्त्र संकाय अर्न्तगत विज्ञान विषय लिएका उम्मेदवार नै पाईएनन’ बेनी नगरपालिकाका शिक्षा, युवा खेलकुद शाखाका शिक्षा अधिकृत कमलप्रसाद ढकालले भने, ‘सदरमुकाम रहेकै बेनी नगरपालिकाका विद्यालयमा गणित र विज्ञान विषयका शिक्षक छैनन । दुर्गमका विद्यालयमा त गणित, विज्ञान र कम्प्युटर विषयको शिक्षकको सँधै पिरलो भैरहन्छ ।’
पेशा प्रतिको घट्दो आर्कषणले गर्दा शिक्षक पढेका उम्मेदवार शिक्षण पेशाभन्दा निजामती सेवा तर्फ आर्कषित छ । शिक्षा सेवा आयोगबाट नियुक्ति लिई आएका अधिकांश गणित, विज्ञान र कम्प्युटर विषयका शिक्षक केही महिनामै लोक सेवामा निजामति सेवा तर्फ नाम निकालेर पेशा वदल्ने गरेका छन । चालु वर्ष अर्जुन मावि भकुण्डे र अमर मावि चिमखोलामा मधेशी कोटाबाट नियुक्त भै आएका गणित शिक्षकले सरुवा भै गएका थिए ।
बेनी नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका स्रोत ब्यक्ति जयराम सुवेदीका अनुसार शुन्य दरवन्दी भएका विद्यालयमा सरकारले शिक्षण सहायता अनुदान भनी १२ महिनाको रकम दिन्छ । यही रकमले करारमा नियुक्त हुने हो । पारिश्रमिक पनि कम हुने भएकोले आर्कषण कमी हुनुको अर्को कारण हो । सुवेदीका अनुसार विद्यालयले शिक्षक आवश्यकता खुलाउँछन, कुनै न कुनै विद्यालयमा कार्यरत शिक्षकले नै पाएक पर्ने वा अनुकुलको विद्यालयमा निवेदन गर्ने हुन, नयाँ अनुहार त कसै शिक्षण सेवामा आउनै मान्दैनन ।
वेनीका सामुदायीक तथा संस्थागत बाहेक जिल्लाका सवै माध्यामिक तहका विद्यालयले बर्षमा कुनै न कुनै महिना विज्ञान वा गणित विषयको शिक्षक भाग्ने समस्या झेल्दै आएका छन । शिक्षक उपलब्ध भएका विद्यालयमा पनि कुनै न कुनै महिना शिक्षकको ‘ग्याप’ हुने गरेको छ ।
‘जिल्लामा विज्ञान, गणित र कम्प्युटर विषयका शिक्षक नपाउने वा टिकाउनै नसकिने समस्या छ । कक्षा ६ देखी नै विज्ञान विषय अनिवार्य गरेको छ तर सो अनुसारको जनशक्ति उत्पादन छैन । उत्पादन भएको र देशमा रहेको जनशक्ति पनि शिक्षण सेवामा भन्दा निजामति तर्फ आर्कषित छ’ शिक्षा विकास तथा समवन्यय इकाई प्रमुख दलबहादुर थापाले भने, ‘गणित, विज्ञान, कम्प्युटर विषय शिक्षण गर्ने जिल्लाकै उत्पादन छैन, बाहिरबाट आएकाहरु एक वर्षमै सरुवा मिलाउने भएकोले समस्या दोहोरिन्छ । अर्को शिक्षण लाईसेन्स परिक्षामा विषय नमिल्दो र अब्यवहारिक हुँदा पनि शिक्षक समस्या भएको हो ।’
विज्ञान विषयको मात्र होईन, कक्षा ८ देखी कम्प्युटर विषय अध्यापन गराउने सदरमुकामका सामुदायीक तथा संस्थागत विद्यालयहरुमै योग्यता पुगेका कम्प्युटर शिक्षक छैनन । एउटा कम्प्युटर शिक्षकले विहानदेखी साँझसम्म समय मिलाएर सामुदायीक र संस्थागतगरी चार वटासम्म विद्यालयमा अध्यापन गराउने गरेका छन’ प्रकाश माध्यामिक विद्यालयका सहायक प्रध्यापक लेखबहादुर हमालले भने, ‘कम्प्युटर विषयमै शैक्षिक योग्यता प्राप्त शिक्षक पाउनै सकिन्न । अन्य विषयमा योग्यता लिएका र कम्प्युटर तालिमे शिक्षकबाट लटरपटर काम चलाउ पढाउनु पर्ने बाध्यता छ ।’
त्यसैगरी विद्यालयमा इन्जिनियरिङ र गणित विषयका शिक्षकको पनि उस्तै समस्या छ । प्राविधिक धारमा पठाई हुने बेनी नगरपालिका, ९ तोरीपानी स्थित गलेश्वर माविले विई तर्फका शिक्षक कहिल्लै पाउँदैनन । सरकारले डिजिटल शिक्षण भनेको र विद्यालयमा कम्प्युटर पढाई हुने भने पनि ति विद्यालयमा विषयगत शिक्षक अभाव हुने भएकोले कहिल्यै कम्प्युटर विषयको शैदान्तिक र प्रयोगात्मक पढाई नै हुँदैन ।
शिक्षा विकास तथा समन्वय इकाइ म्याग्दीका अनुसार गत वर्ष मात्र जिल्लाका ७ जना विज्ञान शिक्षकले शिक्षण पेशाबाट निजामति सेवा तर्फ गएका थिए । त्यसैगरी शिक्षा सेवा आयोगबाट मधेशीकोटा र अन्य जिल्लाबाट नाम निकालेर यहाँ नियुक्ति लिएर आउँने र एक वर्षपछि सरुवा मिलाएर जाँदा गणित र विज्ञान विषयका शिक्षक संधै अभाव हुने अर्को कारण हो ।
आधारभुत तह कक्षा ६ देखी नै सरकारले विज्ञानलाई पनि अनिवार्य विषयको रुपमा समावेश गरेको छ । शिक्षा विकास तथा समन्वय इकाइको तथ्याङ्क अनुसार जिल्लाका १ सय ७५ वटा आधारभुत तह (कक्षा ६–८) र १ सय १५ माध्यामिक तहमध्य जम्मा न्युन संख्यामा मात्र दरवन्दीका गणित र विज्ञान शिक्षक कार्यरत छन । बाँकी सवै विद्यालयले राहत तथा निजी श्रोतबाट विज्ञान शिक्षक करारमा खोजेर अध्यापन गराईरहेका छन । विज्ञान, गणित शिक्षक करार र अस्थाई दरवन्दी आउन मान्दैनन । अन्यत्र जागिर सुरक्षित नहुँदासम्म शिक्षण पेशामा आएका शिक्षक पनि सहरी इलाकैमा खोसाखोस हुने भएकोले दुर्गममा पुग्नै पाईदैनन ।
गणित पढ्ने विद्यार्थी नै पाईदैनन कसरी उत्पादन हुन्छन शिक्षक ?
जिल्लाका सामुदायीक विद्यालयहरुमा एच्छिक गणित पढ्ने विद्यार्थी नै छैनन । गणित शिक्षक हुनकालागी विद्यालय तह देखी नै एच्छिक गणित पढ्नु पर्‍यो । जुन विषयमा विद्यार्थीको आर्कषण नै छैन ।
जिल्लाको चार वर्षे स्नातक तहमा शिक्षा संकाय तर्फ गणित, विज्ञान र कम्प्युटर विषय अध्यापन गराउने एक्लो म्याग्दी क्याम्पसको अभिलेख अनुसार विएड पहिलो वर्षमा ४ जना, दोस्रोमा ६, तेस्रोमा ३ र चौंथो बर्षमा ३ जना विद्यार्थीले मात्र गणित विषय अध्ययन गर्छन । विएड तर्फ विज्ञान लिएर पढ्ने जम्मा ३ जना मात्र छन । त्यस्तै, ब्याचलर अफ इन्फरमेसन कम्युनिकेसन टेक्नोलोजी एजुकेसन (विआइसिटिई) पढ्ने विद्यार्थीको संस्था २१ जना रहेका छन ।
विज्ञान र कम्प्युटर विषयका शिक्षकको सँधै पिरलो भैरहेपछि म्याग्दी बहुमुखी क्याम्पसले गत शैक्षिक सत्रदेखी स्नातक तह शिक्षा शास्त्र तर्फ विज्ञान र कम्प्युटर तथा सूचना प्रविधी विषयको अध्ययन/अध्यापन सुरु गरेको छ ।
जिल्लाका सामुदायीक तथा संस्थागत विद्यालयमा आवश्यक पर्ने विज्ञान, गणीत र कम्प्युटर विषय अध्यापन जनशक्ति उत्पादन गर्ने उद्देश्यले म्याग्दी क्याम्पसले त्रिभुवन विश्व विद्यालय अर्न्तगत स्नातक तहमा शिक्षा शास्त्र तर्फ विज्ञान र कम्प्युटर तथा सूचना प्रविधी विषयको अध्ययन/अध्यापन सुरु हो । जिल्लामै स्नातक तहमा विज्ञान र कम्प्युटर विषय अध्यापन गराउन जिल्लाका सवै स्थानीय तहले आर्थिक श्रोत ब्यवस्थापन गरेका छन ।
‘जिल्लाका विद्यालयमा विज्ञान विषयका शिक्षकको अति धेरै माग भएपनि उत्पादन शुन्य रहेकोले म्याग्दी क्याम्पसले स्थानीय विद्यालयको माग सम्बोधन गर्न शिक्षा शास्त्र संकाय अर्न्तगत गणित, विज्ञान र कम्प्युटर तथा सूचना प्रविधी विषय अध्यापन सुरु गरेका हौं’ गणित विषयका सहप्रध्यापक तथा म्याग्दी क्याम्पसका सहायक प्रमुख नारायण सुवेदीले भने,‘स्नातक तहमा गणित विषय अध्यापन गराउने म्याग्दी क्याम्पसका स्रोत विद्यालय जम्मा ५ वटा छन । ति विद्यालयबाट स्नातक पढ्न आउने जम्मा ४–५ जना विद्यार्थी हुन । यी विद्यार्थी पनि स्नातक तहको चार वर्ष पुग्दासम्म हराइ सक्छन, अनि कसरी गणित विषयका शिक्षक उत्पादन हुन्छ ?’
गणितमा भन्दा तुलनात्मक विज्ञान पढ्ने बढी छन । खासगरी डाक्टर, इन्जिनियर, सिए लगाएत विषय अध्ययन गर्न कक्षा ११ र १२ मा विज्ञान विषय पढ्नु पर्ने हुन्छ । रोजेका डाक्टर, इन्जिनियरमा नाम निकाल्न नसकेका विद्यार्थी फर्केर विएड अध्ययन गर्ने र उनीहरु नै विज्ञान शिक्षक बन्ने हुन ।