- Loading...
गाईमा लम्पीस्किन रोग फैलिएपछि चीज उद्योग बन्द
- पुनहिल डट कम
- १ साल अघि
- २८२ पटक पढिएको
गाईहरुमा लम्पी स्किन रोग फैलिएपछि यहाँको अन्नपूर्ण गाउँपालिका, ६ घारा स्थित हिमालय चीज उद्योग बन्द गरिएको छ ।
गाउँभरीका गाईको दुध संकलन गर्दा दुधका भाँडा र कृषकहरुबाट लम्पी स्किन रोग अन्य निरोगी गाईसम्म पुग्ने जोखिम भएपछि उद्योग नै बन्द गर्नु परेको उद्योगले जनाएको छ । कोरोना कहरले पर्यटक आउन छोडेपछि ०७६ फागुनदेखी बन्द भएको चीज उद्योग गत माघदेखी पुनः संञ्चालनमा ल्याईएको थियो । यहाँ उत्पादित चीज अन्नपूर्ण चक्रिय पदमार्गका प्रमुख गन्तब्यहरु तातोपानी, घोडेपानी, टाडापानी समेतका पर्यटकीय क्षेक्रमा वित्रि हुन्छ ।
‘स्थानीय गाईगोरुमा लम्पी स्किन रोग देखियो । उन्नत गाईमा धेरै फैलिएको छैन । दुध लिएर आउने कृषकसंग रोगका जीवाणु उद्योगमा आउने र त्यहाँबाट झन फैलने खतरा भएपछि चीज उत्पादन नै बन्द गरेका छौं हिमालय चीज उद्योग संञ्चालन गर्दै आएको निलगिरी गाई पालक कृषी सहकारीका सचिव श्याम खड्काले भने, ‘लाखबढी मुल्य हालेर किनेका होलेस्टिक, जर्सी समेतका गाईलाई रोगबाट जोगाउन सकेसम्म सचेत छौं । गाईहरुमा खोप लगाएका भएपनि खुल्ला चरिचरनमा रहेका स्थानीय गाईमा बढी संक्रमण देखिएको छ ।’
३५ जना गाईपालक कृषक आवद्ध निलगिरी गाई पालक कृषक सहकारीले चीज उद्योग खोलेका थियो । गाईको दुधबाट उत्पादित चीज सेवन गर्ने खास ग्राहक मानिएका तेस्रो मुलुकका पर्यटक आउन थालेपछि कृषकले चीज बनाउन थालेका थिए । उद्योगले सिजनमा प्रतिदिन ३० केजीबढी चीज उत्पादन गर्थ्यो ।
चीज उद्योग संञ्चालनमा आएसँगै प्रतिलिटर ८० रुपैयाँ रहेको दुधको मुल्य बढाएर एक सय प्रति लिटर पुर्याइएको छ । चीज उद्योग खुल्दा कृषकले दुध वेचेर मासिक न्यूनतम १० हजारदेखी ३० हजारसम्म पैसा बुझ्ने गरेका थिए ।
‘दुध वेचेर गाईको ऋण तिरौंला, दुई पैसा वच्ला भन्ने थियो, कोरनाले तीन वर्ष खायो, अहिले फेरी लम्पी स्किन रोगले चीज नै उत्पादन बन्द हुँदा हाम्रो दुध खेख गैरहेको छ’ कृषक लिलबहादुर खड्काले भने, ‘दुधको चीज बनाउने बाहेक अर्को ज्ञान र प्रविधी हामीसँग छैन । दुधको पनीर समेत विभिन्न खाद्य वस्तु उत्पादन गर्न त सकिन्छ तर नजिकै ठूला वजार छैन, चीजलाई जस्तो धेरै दिन स्टोर गरी राख्ने हामीसँग उपकरण छैन ।’
चीज बजारको सहजता, प्रयाप्त घाँसे क्षेत्र, मोटरबाटोले दैलोमा पुग्ने हुँदा दाना लैजान सहज, विजुली पानी र संञ्चार सेवाको सहज पहुँच वस्तीसम्म पुगेपछि परम्परागत गाई गोठहरु विस्तारै ब्यवसायीक बन्न थालेका थिए ।