- Loading...
वैवाहिक जबर्जस्ती करणी मुद्दामा कान्छी श्रीमतीसहित कपिलवस्तुका न्यायाधीश गिरीविरुद्ध पक्राउ पुर्जी
- पुनहिल डट कम
- १ साल अघि
- १८२ पटक पढिएको
कान्छी श्रीमतीले दिएको वैवाहिक जबरजस्ती करणी मुद्दामा कपिलवस्तु जिल्ला अदालतका न्यायाधीश भुवन गिरीलाई सोही अदालतले पक्राउका लागि प्रहरीलाई अनुमति दिएको छ ।
जिल्ला अदालत कपिलवस्तुले न्यायाधीश भुवन गिरीविरुद्ध उनकी कान्छी श्रीमती आरती रावलले जबरजस्ती करणीको मुद्दा दिएकी थिइन् । यद्यपी न्यायधीश गिरी दुई साताअघि काजमा न्यायपरिषदमा गएका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले न्यायाधीश गिरीलाई पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै अदालत समक्ष पक्राउ पुर्जी माग गरेपछि अदालतले अनुमति दिएको हाे । न्यायाधीश गिरीविरुद्ध उनकै श्रीमतीले वैवाहिक करणीको उजुरी कपिलवस्तु प्रहरीमा दिएकी थिइन् ।
गत मंसिरमा न्यायाधीश गिरीकी पत्नीले गिरीविरुद्ध हिंसा र यौन शोषण गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालयमा कारबाहीका लागि निवेदन दिएकी थिइन् ।
गिरीकी पत्नीले न्यायाधीश गिरीलाई कारबाहीको माग गर्दै नयाँ वानेश्वरस्थित संसद् भवन अगाडि प्रदर्शनसमेत गरेकी थिइन् । तर न्यायाधीश गिरी र उनको परिवारले उजुरी दिएकी आरती रावलले अनेक बहानामा फसाउन षडयन्त्र बनाइरहेको दाबी गर्दै आएका छन् ।
यसअघि न्यायाधीश गिरीकी पत्नी आरती रावलविरुद्ध बाँके जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । शैक्षिक प्रमाणपत्र लगायतका सरकारी कागजात किर्ते गरेको अभियोगमा न्यायाधीशपत्नी रावललाई पक्राउ गर्न बाँके जिल्ला अदालतले अनुमति दिएको हो ।
न्यायधीश गिरी यसअघि सुर्खेतमा कार्यरत रहँदा आरतीसँग भेटघाट भएको र पछि विवादमा आएपछि ०७४ सालमा विवाह गरेर सम्पत्ति दिएको पारिवारिक स्रोतको दावी छ ।
रावलले आफूलाई सन्तान प्राप्तिको अधिकारबाट बञ्चित गराइएको भन्दै पटकपटक झैझगडा भएपछि न्यायाधीश बनेको केही समयमै भुवन गिरीले २०७९ मङ्सिर ११ गते पत्नी आरती रावलविरुद्ध बाँके जिल्ला अदालतमा सम्बन्धविच्छेदको मुद्दा दर्ता गराएका थिए ।
न्यायधीश गिरीलाई रावलले वैवाहिक बलात्कारको मुद्दा लगाएपछि गिरीले आफ्नो कोठाबाट पैसा चोरेर भागेको भन्दै कपिलवस्तु प्रहरीमा रावलविरुद्ध जाहेरी दिएपनि पछि त्यो दर्ता नगरी राखिएको थियो ।