FLASH NEWS
  • Loading...

नेपाली हाते कागजको घट्दो ब्यापार

  • पुनहिल डट कम
  • १ साल अघि
  • १७८ पटक पढिएको
नेपाली हाते कागजको घट्दो ब्यापार

अदालती तथा अन्य कामकाजमा नेपाली कागजको प्रयोग अनिवार्य छ । कुनै तमसुक, मञ्जुरीनामा, लेनदेन, राजिनामा लगाएत सरकारी काममा वरुवाको लोकताबाट बन्ने नेपाली हाते कागज नै प्रयोग हुन्छ । तर नेपाली हाते कागजका उद्योगहरु बर्षेनी घट्दै गएका छन ।

अन्नपूर्ण गाउँपालिका, ८ नागीमा स्थापना भएको हिमाञ्चल हाते कागज उद्योग पछिल्लो ३ बर्षदेखी बन्द छ ।हिमाञ्चल हाते कागज उद्योग मात्र होईन, धवलागिरी गाउँपालिका, २ लुलाङको ढोरपाटन हेण्डीक्राफ्ट र मालिका, ४ देविस्थानमा धौलागिरी हाते कागज पनि बन्द अवस्थामा छन । लुलाङमा संञ्चालित लोक्ताको हाते कागज र लल्लो प्रशोधनगरी धागो उत्पादन गर्थ्यो ।

नेपाली हाते कागजको माग र कच्चा पदार्थको संकलन पनि घटेपछि जिल्लामा खुलेका हाते कागज उद्योगहरु धमाधम बन्द हुन थालेका छन । स्थानीय उत्पादनलाई प्रोत्साहनमा खुलेका यी उद्योगहरु बजार प्रर्वद्धन नहुँदा संकटमा परेका हुन । हिमाञ्चल हाते कागज उद्योगले हाते कागज मात्र होईन, नोटबुक, कागजकै झोला, चिठीका खाम आदी बनाउँथे । ति सामाग्री गाउँ घुम्न आएका आन्तरिक तथा बाहृ पर्यटकले घर फर्कदा गाउँको चिनो स्वरुप किनेर लैजान्थे । घर फर्केपछि अर्डर पनि पठाउँथे ।

काठका बाकसमा कम्प्युटर राखेर गाउँ–गाउँमा कम्प्युटर साक्षरता अभियान चलाएको र नेपालका डाँडापाखामा लामो दुरीको वायरलेस प्रविधीको विकास गरेपछि राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष महावीरको पुख्यौली थलो नागी गाउँ पर्यटकीय क्षेत्रको रुपमा विकसित भैरहेको थियो । सामुदायीक सकृयतामा अन्नपूर्ण–धवलागिरी सामुदायीक पर्यापदमार्ग संञ्चालनमा ल्याएपछि नागी, राम्चे, हिस्तान, महरे, खोप्रा क्षेत्रमा धेरै पर्यटक आउन थालेका थिए । तर कोभिड कहरले बाहृय पर्यटक आउन छोडेको र विदेशबाट पनि नेपाली हाते कागजको माग आउन छोडेपछि यहाँका हाते कागज उद्योग बन्द भएको उद्योगले जनाएको छ ।

‘गाउँमा धेरै पर्यटकहरु आउन थालेपछि जंगलमा प्रशस्त पाईने वरुवाको लोक्ता र अर्घेलीबाट नेपाली हाते कागज बनाउन उद्योग खोल्यौं । केही बर्ष राम्रै आम्दानी थिएको पनि थियो । तर कोरोना आएपछि पर्यटक आउन ठप्प भयो, नेपाली कागज उद्योग पनि बन्द भयो’ हिमाञ्चल हाते कागज उद्योगकी म्यानेजर कुलमायाँ चोचाङ्गीले भनिन, ‘घर छेउमा खेर गएको अर्घेली र लोक्ताबाट कागज बनाएर दैलोमै रोजगारी पाएका थियौं । बन्द भएपछि अहिले उद्योग नविकरण र कर तिर्न पनि सकेका छैनौं ।’

गाउँलेले सामुदायिक बनबाट संकलन गरी ल्याएको वरुवाको लोकता उद्योगले खरिद गर्ने भएकोले अप्रत्यक्ष लाभ भने गाउँभरीका महिलाहरुले पाएका थिए । हाते कागज बन्द भएपछि स्थानीयको रोजगारी पनि गुमेको छ । जिल्लामा पश्चिम मालिका गाउँपालिका, ३ मा अदिवरामा स्थापित मालिका हाते कागज उद्योग भने जेनतेन चलेको छ । यहाँका अर्घेली र वरुवाको लोकताबाट उत्पान भएका सक्कली र गुणस्तरीय हाते कागजले केराको वोक्रा, रिफाईण्ड पेपर मिसाएर बनाएका सस्ता काजगसंग प्रतिस्पर्धा हम्मे परेको मालिका हाते कागज उद्योगले जनाएको छ ।

‘ठूला कारखानामा उत्पादन भएका काजगसँग दुर्गम गाउँमा परम्परागत शैलीमा चलेका कुटिर उद्योगको उत्पादनले प्रतिस्पर्धा गर्न मुस्किल हुने रहेछ’ मालिका हाते कागजका संञ्चालक मोतिराज गौतमले भने, ‘गुणस्तरीय, भरपर्दो र टिकाउ खोज्नेले अझै गोवर लत्पतिएका हातले बनाएका कागज नै प्रयोग गर्छन । संघ, प्रदेश र स्थानीय सरकार र नेपाली कागज ब्यवसायीले प्रर्वद्धन नगरे आर्दशले मात्र केही हुनेवाला छैन ।’

यहाँ चलेका नेपाली हाते कागज उद्योग परम्परागत शैलीका मौषमी उद्योग हो । आफ्नो क्षेत्रको सामुदायीक तथा राष्ट्रिय वनमा पाईने वरुवाको लोकता मात्र प्रयोग गरिने भएकोले कच्चा पदार्थको परिणाम पनि थोरै हुने तथा नयाँ प्रविधीयुक्त नभएकोले आकाश हेरेर उद्योग संञ्चालन गर्ने गरिएको छ । मालिका हाते कागज उद्योगले अहिले बार्षिक एक हजार छ सय कोरी हाते कागज उत्पादन गरी बेनी, बाग्लुङ र पोखराका प्रेस, धुप उद्योग र कागज उद्योगमा बेच्ने गरेको छ । केही मात्रमा आफैले डायरी समेत बनाई बेच्ने गरेको छ ।

प्रति ताउ १३ सय रुपैयाँ मुल्य पर्ने ५ ग्रामको पत्ता भएको एक ताउ हाते नेपाली कागजको तौल एक किलोग्राम पाँच सय ग्राम हुन्छ । २० ग्राम पत्तावाला एक ताउ कागजको मुल्य चार हजार र तौल ४ केजी हुन्छ । त्यस्तै, ७ हजार प्रति ताउ मुल्य भएको ३० ग्राम भएको कागज ताउमा ६ केजी हुने उद्योगले जनाएको छ ।
हाते कागज उद्योगकालागी पुस, माघमा वरुवाक् ालोकता संकलन गरी प्रशोधन गर्ने र फागुन, चैत र बैशाखमा कागजको उत्पादन गर्ने सिजन हो । यस वर्ष हिउँदमा वर्षा नभएकोले हिउँदमा पनि थोरै थोरै कागज उत्पादन भैरहेको छ । गाऊँलेले सामुदायिक बनमा गै अर्घेली र लोकताको बोक्रा संकलनगरि यहाँ ल्याएर वित्री गर्ने गरेका छन् । सामुदायिक बनबाट लोकता ल्याएको स्थानीयले पैसा भने तिर्नु पर्दैन । उद्योगले गाउँलेसंग लोकताको कच्चा पदार्थलाई प्रतिकिलो ५० रुपैयामा खरिद गर्छ ।

‘यो चिसो मौषम भएकोले यो सिजनमा लोक्ता संकलन गरी फागुनमध्यपछि घाम चर्केपछि कागज उत्पादन हुन्छ । आजभोली घाम लागेको दिन दैनिक पातलो र बाक्लो गरी १५ सय ताउ कागज उत्पादन भैरहेको छ’ मालिका हाते काजगका गौतमले भने, ‘विरुवामा नयाँ पालुवा लाग्नु अगावै लोक्ता झिक्नु पर्छ । अहिले सवै काजग उद्योगमा लोक्ता संकलन र प्रशोधनमा लागेका छौं ।’ गौतमले थपे, ‘हाम्रो ज्ञान, सीप र प्रविधीको क्षमताले सवै सिजनमा कागजको काम गर्न सकिन्न ।’

डिभिजन वन कार्यालय म्याग्दी सहायक वन अधिकृत नरबहादुर क्षत्रीका अनुसार जिल्लाभरको सामुदायीक तथा राष्ट्रिय वनमा गरी कुल १० मेट्रिक टन लोकता उत्पादन क्षमता छ । तर जिल्लाका हाते कागजबाट धेरै थोरै क्षमताको संकलन गर्ने गरेका छन । नेपाली हाते कागज बनाउन जंगलमा पाईने अर्घेली र वरुवाको लोकता संकलन गरीन्छ । लोकता ल्याएर कुट्ने, उसिन्ने गरी भिटार नाम गरेको उपकरणमा राखेर फिटेपछि निक्लेको घोललाई पातलो कपडा राखी बनाएको फ्रेममा राखी घाममा सुकाईन्छ ।