FLASH NEWS
  • Loading...

समृद्ध बन्दै नारच्याङ्ग

  • पुनहिल डट कम
  • १ साल अघि
  • २७३ पटक पढिएको
समृद्ध बन्दै नारच्याङ्ग

निलगिरी साउथ हिमालको दक्षिणी तथा अन्नपूर्ण तथा वराह शिखरको पश्चिम फेदीमा अवस्थित अन्नपूर्ण गाउँपालिका, ४ नारच्याङमा पछिल्लो १० बर्षभित्र जीवन शैलीमा ब्यापक परिवर्तन आएको छ ।

४ नम्बर वडा रहेकाे नारच्याङको चालु आर्थिक वर्षको बार्षिक बजेट ७० लाख रुपैयाँ हो । कुल वजेटमध्य ६० लाख पालिकाले छनौट गरेका र १० लाख रुपैयाँ वडाध्यक्षको तजविजले छनौट गरेका योजनामा खर्च गर्ने गरिएको छ । अन्नपूर्ण गापा, ४ नम्बर वडा कार्यालयको विनियोजित ७० बजेट भन्दा छुट्टै कम्तीमा तीन गुणाबढी ८ करोड बजेट आन्तरिक आम्दानी हुने गरेको छ । याे रकम सोही वडामा पर्ने निलगिरी खोलामा निर्माणाधिन ३८ मेगावाट क्षमताको निलगिरी–१ र ७१ मेगावाटको निलगिरी २ आयोजनाले सामाजिक उत्तरदायीत्व र वातावरणीय संरक्षण क्षेत्रमा खर्च दिएका हुन । सोही वडामा निर्माणाधिन अर्को ६ मेगावाट क्षमताको रेलेखोला जलविधुत आयोजनाले सामाजिक क्षेत्रमा खर्च गर्ने बजेट आउन बाँकी छ ।
‘जलविधुत आयोजनाहरुबाट सामाजिक तथा वातावरणीय क्षेत्रमा प्राप्त औषत बार्षिक २ करोडको रुपैयाँ पनि यही वडा भित्र खर्च हुने हो । यस अघि निर्माण सम्पन्न भएको मिस्त्रीखोलाबाट पनि वडाले मनग्य सामाजिक क्षेत्रमा मनग्य सहयोग पाएको थियो’ अन्नपूर्ण गाउँपालिका, ४ नारच्याङका वडाध्यक्ष लोकबहादुर फगामीले भने, ‘जलविधुत आयोजनाहरुले नगद पैसा मात्र दिएनन, पहुँच मार्ग भएपनि गाउँवस्ती सडकले जोडे । स्थानीयले रोजगारी समेत ब्यापार ब्यवसायमा मनग्य लाभ पाएका छन ।’
हिंउँदमा वेशी र वर्खा लेक उक्लने नारच्याङवासीको दैनिकी फेरिएको छ । खेर गएको पाखापखेरा र ढुङ्गे वगरको मुल्य आकासिएको छ । परम्परागत ढुङ्गेघर विस्थापित हुँदै आधुनिक आरसिसि भवन बन्न थालेका छन । भान्सामा जौ/गहुँ/कोदोको ढिँडो र आलुको परिकारको सट्टा भात, मासु र तरकारी पाक्न थालेको छ । घर–घरमा टिभी, हात–हातमा मोवाईल छन । प्रायः सवै घरको बैंकमा खाता छ, खातामा बचत छ ।
परम्परागत ढुङ्गे घरको सट्टा आरसिसि घरको संख्या बढी छन । वस्तीसम्म मोटर बाटोको पहुँचले सिमेन्टको सहज ढुवानी र जंगलबाट काठ बोकेर ल्याई घर बनाउनु भन्दा आरसिसि घर धेरै सस्तो पर्ने भएको छ । कालीगण्डकी नदीले छोडेको बगर भएकोले जता खनेपनि ढुङ्गा र बालुवा प्रशस्त पाईन्छ । क्रसर उद्योग छेवैमा बनेपछि गिटीवालुवाको पनि समस्या छैन ।
‘हाईड्रो प्रोजेक्टहरु नारच्याङ आएपछि सवै वस्तीमा सडक पुग्यो, पाखोवारीले राम्रो मुल्य पाए । हृवात्तै आम्दानी बढेपछि परम्परागत ढुङ्गे घरको सट्टा नयाँ घर बनाउन सुरु भयो’ अन्नपूर्ण गाउँपालिका, ४ नारच्याङमा होमस्टे चलाउँदै आएका फत्तबहादुर तिलिजाले भने, ‘ढुङ्गेघर बनाउन भन्दा आरसिसि घर बनाउन सजिलो र सस्तो र आधुनिक पनि भएकोले शहरीकरण उन्मुख छ । हेर्दा सामान्य जस्तो देखिए पनि धेरथोर बैंक ब्यालेन्स नहुने घर नै छन । म आफैपनि छिमेकी गाउँबाट अवसर देखेरै बसाई सरी आएको हुँ ।’
एउटा वस्तीमा १० बर्षमा यतिका परिवर्तन कसरी संभव भयो ? उत्तर सजिलो छ, गाउँ भित्रिएका जलविधुत आयोजनाले सृजना गरेका आर्थिक अवसरले गाउँलेको जीवन स्तरमा परिवर्तन ल्यायो ।
बेनी–जोमसोम सडकको दाहिने किनारामा कालीगण्डकी नदीपारीको वस्तीमा नारच्याङमा एक साथ ५ वटा जलविधुत आयोजना भित्रिएपछि समृद्धिको ढोका खुलेको हो । जलविधुत आयोजनाले कालीगण्डकी नदीमाथी पुल र वस्ती–वस्तीसम्म सडक खनेपछि नारच्याङवासीले पहिलो लाभ लिएका हुन । हाईड्रोले नारच्याङ प्रवेशद्वारमै कालीगण्डकी नदीमाथी मोटर पुल बनाएसँगै समृद्धिको ढोका खुलेको हो ।


‘हाईड्रोसँगै गाउँमा आएको मोटरबाटोले नारच्याङवासीको जीवनमा धेरै परिवर्तन ल्याएको छ । अहिले कुनै पनि नारच्याङवासी भोकै बस्नु पर्ने र घरबास नभएका छैनन’ अन्नपूर्ण गाउँपालिका, ४ नारच्याङका वडाध्यक्ष लोकबहादुर फगामीले भने, ‘गाउँको विकासमा राज्य तहबाहेक अतिरिक्त आर्थिक सहयोग आएको छ । चालु आर्थिक वर्ष पनि वडामा ८ करोडबढी बजेट आयोजनाबाट प्राप्त भएको छ । अन्य अवसर छँदैछ ।’
हाईड्रोहरुबाट नारच्याङबासी प्रत्यक्ष/अप्रत्यक्ष रोजगारी पाए, स्थानीय उत्पादनले बजार पायो । खेर गएको जग्गाले मुल्य पायो । स्थानीय विद्यालयहरुले शिक्षक पाए, खेलकुदका ब्यवस्थित मैदान बने, आमा समुहका भवन बने, धार्मिक मन्दीरहरु पुनःनिर्माण तथा संस्कृति संरक्षणमा सहयोग पाएका छन । नारच्याङवासीले जलविधुतमा शेयर लगानीगरी राम्रो आर्थिक लाभ पाए । निर्माणाधिन अवस्थाका आयोजनाले थप भविश्य प्रति आसा दिएका छन ।
‘घलेम्दीमा आयोजना सुरु हुँदै संस्थापक शेयर भनेर मागे सवैले सक्ने रकम हालियो । निर्माण समय लम्बियो र संस्थापक शेयर भएकोले आईपिओ जारी भएको पनि ३ बर्ष थप मार्केटमा जान सकिएन त्यसैले अपेक्षित लाभ भएन । तर मिस्त्रीखोला जलविधुतको आईपिओमा शेयर हाल्ने सवैले राम्रो आम्दानी गरे’ वडाध्यक्ष रहेका फगामीले थपे, ‘आयोजना आफैले गाउँमै बैंकका प्रतिनिधी बोलाएर डिम्याट खोल्न लगायो, आइपिओमा सवैको शेयर हाल्न सिकायो । एक बर्षमै एक सयको शेयर हजारमा बेच्न पाईयो । राम्रो कमाई भो । शेयर कामय भएकालाई सुरु वर्ष नै १० प्रतिशत नगद लाभाशं पठाएको छ । निलगिरीले पनि २–४ महिनापछि फेरी खोल्ने भन्दै छ, सवैले आइपिओ भर्न रकम जोहो गरी बसेका छन ।’
नारच्याङ्ग गाउँमा ५ वटा जलविधुत आयोजनामध्य ६ मेगावाटको घलेम्दी र ४२ मेगावाटको मिस्त्रीखोला जलविधुत आयोजनाले एक वर्षदेखी केन्द्रीय प्रशासरण लाईनमा जोडिएका छन । ७१ मेगावाटको निलगिरी क्यास्केट, ३८ मेगावाटको निलगिरीखोला र ६ मेगावाट क्षमताको रेलेखोला आयोजना निर्माणाधिन छन । निलगिरी १ र २ दुवैले चालु वर्षमा निर्माण सक्ने लक्ष्य लिएका छन ।
जलविधुतबाट स्थानीयले मात्र होईन स्थानीय अन्नपूर्ण गाउँपालिकाले पनि विधुत विधुत रोयल्टी मार्फत आर्थिक लाभ पाउन थालेको छ । अन्नपूर्ण गाउँपालिकाले चालु आवमा रोयल्टी वापत ८ करोडबढी पाउने भएको छ । ‘वित्त आयोगबाट विधुत रोयल्टी ८ करोडबढी, वन रोयल्टी, पर्यटनसमेतबाट ४० हजारहजार बढी रोयल्टी विनियोजन भएको पत्र प्राप्त भएको छ तर पालिकाको संचित कोषमा रकम भने दाखिला भएको छैन’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरणप्रसाद शर्मा पौडले सुनाए ।
जलविधुत आयोजनामा करिव ५ सयबढी स्थानियले नियमित सीप र क्षमता अनुसारको रोजगारी पाएका छन । स्थानिय तीन वटा विद्यालयले शिक्षकको तवलभत्ता, अन्य खेलकुद मैदान समेत पूर्वाधारमा सहयोग, आमा समुह, युवा क्लवहरुलाई आर्थिक तथा भौतिक सहयोग पाएका छन ।
‘हाईड्रोहरुबाट नारच्याङबासी आर्थिक तथा भौतिक क्षेत्रमा राम्रो लाभ पाएका छन । खेर गएको जग्गाले मुल्य पायो, अनकन्टार भुगोलको असिक्षित वस्तीमा गुल्जार नै आएको छ’ स्थानीय सुवास विकले भने ‘स्थानियलाई प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी, शिक्षा, स्वास्थ्य, खेलकुद र संस्कृति संरक्षणमा सहयोग दिएको छ । आर्थिक जीवनमा जोडिन सिकाएको छ ।’
अहिले नारच्याङ ‘हाईड्रो भिलेज’ भनेर पनि परिचित हुन थालेको छ । २ वटा आयोजनाले एक बर्षदेखी उत्पादन थालेका छन । ३ वटा निर्माणाधिन छन । थप दुई वटा कालीगण्डकी गर्ज र मध्यकालीगण्डकी जलविधुत आयोजना नारच्याङहुँदै बग्ने कालीगण्डकी नदीमा बन्दै छन । *कान्तिपुरमा समाचार छ ।