- Loading...
कसरी चुनिन्छ राष्ट्रपति ?
- पुनहिल डट कम
- १ साल अघि
- १४३ पटक पढिएको
२०७४ कै जस्तो मोडलमा राष्ट्रपति एमाले र उपराष्ट्रपति माओवादी केन्द्रले लिंदैछन् भने सभामुख, प्रधानमन्त्रीसँग आलोपालो गर्ने सैद्धान्तिक सहमति जुटेको छ । तर भागबण्डाले अन्तिम रुप लिन बाँकी रहेको नेताहरुले बताएका छन् ।
एमालेका एक नेताका अनुसार, राष्ट्रपतिका लागि तीन जना भन्दा बढी नेताको नाममा छलफल हुने सम्भावना छ । दुई कार्यकाल भन्दा बढी राष्ट्रपति हुन नपाइने संवैधानिक व्यवस्थाका कारण विद्यादेवी भण्डारी यो कार्यकाल पूरा गरेपछि विदा हुँदैछिन् ।
यस्ताे छ राष्ट्रपति चयनको प्रक्रिया
नेपालको संविधानको भाग-६ राष्ट्रपति र उपराष्ट्रपति चयन हुने प्रक्रिया र उनीहरूको योग्यताबारे उल्लेख छ। उक्त भागको धारा ६१ मा राष्ट्रपति नेपालको राष्ट्राध्यक्ष हुने र उनले संविधान र सङ्घीय कानुन बमोजिम आफ्नो कार्यसम्पादन गर्नुपर्ने उल्लेख छ। संविधानले “नेपालको राष्ट्रिय एकताको प्रवर्धन गर्नु र संविधान पालन तथा संरक्षण गर्नु”लाई राष्ट्रपतिको “प्रमुख कर्तव्य” रहेको उल्लेख गरेको छ।
राष्ट्रपतिको निर्वाचन कसरी हुन्छ?
राष्ट्रपतिको निर्वाचनसम्बन्धी व्यवस्था संविधानको धारा ६२ मा गरिएको छ।
राष्ट्रपति हुने योग्यता
संविधानको धारा ६४ मा नेपालको राष्ट्रपति कस्तो व्यक्ति हुनसक्छ भन्ने योग्यता तोकिएको छ।
उक्त धाराअनुसार सङ्घीय संसद्को सदस्य हुन योग्य भएको व्यक्ति राष्ट्रपति हुनसक्छ। राष्ट्रपति हुनका लागि पैँतालिस वर्ष उमेर पूरा भएको नेपाली नागरिक हुनुपर्छ।
कुनै कानुनले अयोग्य ठहर नगरेको व्यक्ति मात्र नेपालको राष्ट्रपति हुनसक्छ। यद्यपि योग्यता पुगे पनि नेपालको संविधानअनुसार दुई पटक राष्ट्रपति भइसकेको व्यक्ति तेस्रो पटक राष्ट्रपतिको उम्मेदवार बन्न पाउँदैन।
उपराष्ट्रपतिका हकमा पनि सोही योग्यता लागु हुने संविधानको धारा ६९ मा व्यवस्था छ। संविधानको धारा ७० ले चाहिँ राष्ट्रपति र उपराष्ट्रपति फरकफरक लिङ्ग वा समुदायको हुने व्यवस्था गरेको छ।
त्यसको अर्थ महिला राष्ट्रपति भए पुरुष उपराष्ट्रपति वा पुरुष राष्ट्रपति भए महिला उपराष्ट्रपति हुनुपर्छ। समुदायका हकमा नेपालको जातीय समुदाय अनुसार फरकफरक समूहको हुनुपर्छ।
त्यस्ता समुदायलाई राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी कानुनले समुदायका रूपमा दलित, आदिवासी जनजाति, खसआर्य, मधेसी, थारू वा मुस्लिम समुदाय रहेको व्याख्या गरेको। नेपालको संविधानको धारा २८९ ले राष्ट्रपति र उपराष्ट्रपतिसहित सङ्घीय र प्रदेशतर्फका उच्च पदहरूमा वंशजका आधारमा नेपालको नागरिकता पाएका व्यक्ति मात्र हुन पाउने व्यवस्था गरेको छ।
प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेशसभाका सभामुख र सुरक्षा निकायका प्रमुख पदमा पनि निर्वाचित, मनोनित वा नियुक्ति हुन वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गरेको हुनुपर्ने व्यवस्था उक्त धारामा गरिएको छ।