FLASH NEWS
  • Loading...

सामुदायिक विद्यालयमा प्राविधिक धार खाेल्न रहर, चलाउन कहर

  • पुनहिल डट कम
  • २ साल अघि
  • ५१९ पटक पढिएको
सामुदायिक विद्यालयमा प्राविधिक धार खाेल्न रहर, चलाउन कहर

जिल्लाका विभिन्न सामुदायिक विद्यालयमा अहिले प्राविधिक धारतर्फका विषय पढाउने होडबाजी नै छ । प्रत्येक पालिकामा कम्तीमा एउटा प्राविधिक धारतर्फको विषय पढाउन थालिएको छ ।

गाउँकै विद्यालयमा प्राविधिक शिक्षा पढ्न पाउँदा विद्यार्थी र अभिभावक दंग परे पनि पर्याप्त विद्यार्थी नहुनु र विषय शिक्षक अभावका कारण कक्षा सञ्चालन गर्न विद्यालयलाई भने सकस पर्न थालेको छ । सुरुमा रहरमै कक्षा थालेका विद्यालयलाई अहिले त्यसको सफल व्यवस्थापन गर्न नै हम्मे परिरहेको हो ।

धवलागिरी गाउँपालिकाको ताकम माध्यमिक विद्यालय र अन्नपूर्ण गाउँपालिकाको नारच्याङस्थित प्रभा माध्यमिक विद्यालयमा कक्षा ८–१२ सम्म इलेक्टिकल्स इन्जिनियरिङ पढाइ भइरहेको छ । ‘हामीले यस वर्षदेखि कक्षा १२ मा इलेक्ट्रिकल्स इन्जिनियरीङ विषयको पढाइ थाल्दै छौं । तर विद्यार्थी संख्या अपुग छ,’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेजबहादुर गुरुङले भने, ‘छिमेकी गाउँका विद्यार्थी आएकोले कक्षा ९ मा १२ जना र कक्षा ११ मा २५ विद्यार्थी छन् । अघिल्ला २ वर्ष एसईईमा कोरोनाका कारण विद्यार्थीको स्वतन्त्र मूल्यांकन हुन सकेन । अब एसईई र कक्षा ११ को रिजल्ट आएपछि हाम्रो पढाइको गुणस्तर मापन होला ।’

मालिका गाउँपालिकाको विममा कृषिबाली विज्ञान विषयमा कक्षा ८ देखि ३ वर्षे स्नातक तहसम्म र यसबाहेक प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अर्न्तगत १५ महिने पशु विज्ञान विषयमा पनि पढाइ भइरहेको छ । कृषीको आधुनिकीकरण, व्यावसायीकरण र यन्त्रीकरण नगरी परम्परागत कृषिबाट ग्रामीण जीवनशैलीमा परिवर्तन असम्भव भएको र गाउँगाउँमा कृषि प्राविधिक आवश्यक भएको स्थानीयको ठहरपछि मंगलाको मंगला मावि र रघुगंगाको मुक्तिधाम माविमा पनि कक्षा ८–१२ सम्म कृषिबाली विज्ञान विषयको पढाइ भइरहेको छ ।

सीटीईभीटीबाट स्वीकृति लिई २०६८ देखि १५ महिने कृषि जेटिए विषयको अध्यापन गराउँदै आएको किसानी माविले पछिल्लो ३ वर्षदेखि बाली विज्ञानतर्फ पनि ३ वर्षे डिप्लोमा तहको अध्यापन गराउँदै आएको छ । ‘गाउँमै घरको आटोढिंडो खाएर, गाईगोठको काम भ्याएर पनि ग्रामीण भेगका विद्यार्थीका लागि कृषि विषयमा उच्च शिक्षा हासिल गर्ने अवसर मिलेको छ,’ प्रधानाध्यापक जंगबहादुर गर्बुजाले भने, ‘मावि तहमा कृषि प्राविधिक विषय पढ्ने तर उच्च शिक्षा पढ्न नपाउने समस्या आएपछि गाउँमै स्नातक तहसम्मको पढाइ थालेका हौं ।’

 
 

त्यसैगरी, बेनी नगरपालिकाको गलेश्वर माविमा पनि कक्षा ८–१२ सम्म सिभिल इन्जिनियरिङ विषयको पढाइ भइरहेको छ । ‘व्यावसायिक तथा प्राविधिक शिक्षाधार कार्यक्रमअन्तर्गत सिभिल इन्जिनियरिङ विषयको पढाइ भइरहेको छ,’ विद्यालयमा प्राविधिक धार तर्फका संयोजक हरि सुवेदीले भने, ‘हाम्रो विद्यालयका उत्पादनले निजामती तथा अन्य गैह्रसरकारी क्षेत्रमा प्राविधिक जनशक्तिको अभाव पूरा गर्न योगदान दिएका छन् ।’

शिक्षा विभागले प्राविधिक धारका विषयको अध्ययन र अध्यापनतर्फ आकर्षण गर्न दरवन्दीसहित विभिन्न शीर्षकमा उल्लेख्य आर्थिक सहयोग गरे पनि पूर्ण योग्यताका विषयगत शिक्षक भने सुनिश्चिता हुन सकेको छैन । प्राविधिक धार सञ्चालन गरेका केही विद्यालयले कक्षा ११ र १२ मा पूर्ण योग्यताको शिक्षक नपाएपछि तल्लो तह उत्तीर्ण भई अनुभव भएका व्यक्ति खोजेर अध्ययन/अध्यापन गराइरहेका छन् ।

‘भवन, ल्याबमा आवश्यक संरचना भए पनि ८–१० जना विद्यार्थीलाई पढाउन मात्र स्नातकोत्तर तह उत्तीर्ण इन्जिनियर/कृषि विज्ञ वा पूर्ण योग्यताको शिक्षक गाउँका विद्यालयमा नआउने, आए पनि ६ महिना पनि नटिक्ने समस्या छ,’ शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दलबहादुर थापाले भने, ‘प्राविधिक धारतर्फको पढाइ राम्रो हो, अभिभावक उत्साही छन् तर न्यून योग्यताको शिक्षकले माथिल्लो तह थेग्नुपर्ने बाध्यता जहिल्यै छ ।’

विद्यालयलाई प्राविधिक धारका विषय अध्ययन गर्न चाहने विद्यार्थीको पनि जहिल्यै समस्या हुने गरेको छ । बसाइँ सराइले बर्सेनि विद्यालयमा विद्यार्थी संख्या घट्दो छ, त्यसमा पनि इलेक्टिकल्स, सिभिल इन्जिनियर, बाली विज्ञान आदि विषय पढ्ने विद्यार्थीको संख्यै पर्याप्त छैन । छिमेकी विद्यालयबाट आउँदा समेत विद्यार्थी संख्या नपुग्ने समस्या छ । यो समस्या खेपिरहेको छ धवलागिरि–७ को ताकम माविले । विद्यालयले यस वर्ष कक्षा ११ मा इलेक्टिकल्स इन्जिनियरीङ विषयको अध्यापन गर्न भर्ना खोलेकोमा हालसम्म ५ विद्यार्थी मात्र भर्ना भएका छन् ।

‘पालिकाभरीमै इन्जिनियरिङ विषय पढ्नसक्ने दक्ष विद्यार्थी उत्पादन न्यून छ । विषय छनोटको अधिकार हुने भएकाले धेरैजना पोखरा, काठमाडौं पुग्छन् । गाउँमा राम्रा विद्यार्थी टिकाउनै मुस्किल छ,’ ताकम माविका शिक्षक गोपाल आचार्यले भने, ‘छिमेकी सवै विद्यालय मिलेर प्रतिभाशाली विद्यार्थी छनोट गरी आवसीय शिक्षा दिनसके प्राविधिक धारतर्फको पढाइ प्रभावकारी हुन सक्छ । तर, सबैले आफ्नै स्कुलको रिजल्ट/प्रफर्मेन्सको पिरलोले विद्यार्थी नै दिन्नन् ।’

जिल्लाका ६ वटै पालिकामा एक–एक वटा प्राविधिकधार तर्फका विषयको अध्ययन/ अध्यापन भइरहे पनि विद्यालयहरू छुट्टाछुट्टै शैक्षिक पद्धतिअनुसार चलेका छन् । किसानी मावि र गलेश्वर माविले सीटीईभीटीको स्वीकृति लिएर कक्षा सञ्चालन गरेका छन् भने बाँकी विद्यालय स्थानीय तहको सिफारिसमा शिक्षा विभागको माध्यामिक शिक्षा परिषद्को स्विकृतिबाट चलेका छन् ।

सीटीईभीटीबाट सम्बन्धन प्राप्त विद्यालयलाई शिक्षा विभागले मावि तहमा एक जना प्रशिक्षक र एक जना सहायक प्रशिक्षकको तलबभत्ता अनुदान, प्रयोगशाला स्थापना गर्न एकमुष्ट २५ लाख अनुदान र एक जना विद्यार्थी बराबर वार्षिक १५ हजारका दरले ‘अन दी जब ट्रेनिङ’ (ओजेटी) अनुदान दिने गरेको छ । माध्यमिक शिक्षा परिषद्बाट सम्बन्धन पाएका विद्यालयले भने प्राविधिकधार तर्फ कक्षा ९–१२ सम्मका लागि ९ जना शिक्षक दरबन्दी, प्रयोगशाला स्थापना गर्न एकमुष्ट २५ लाख र ओजेटी गर्न प्रतिविद्यार्थी एकमुष्ट १५ हजारका दरले अनुदान दिने गरेको छ ।