FLASH NEWS
  • Loading...

च्युडीस्वाँराको पहिरोले गलेश्वर वस्ती जोखिममा

  • पुनहिल डट कम
  • २ साल अघि
  • ३०२ पटक पढिएको
च्युडीस्वाँराको पहिरोले गलेश्वर वस्ती जोखिममा

रघुगंगा गाउँपालिका, ३ पिप्लेको सतीपहरादेखी च्युडीस्वारासम्मको पहिरो नियन्त्रण नहुँदा फेदीमा रहेको वारीगलेश्वर वस्ती उच्च जोखिममा परेको छ ।
गलेश्व–पिप्ले–भगवती–बेग सडक कालोपत्रे स्तरमा उन्नत गर्न चेनेज ०–२.०० किलोमिटर सडकमा भिरालो पाखोको भित्ता काटेपछि गत वर्षको मनसुनमै पहिरो चलेको हो ।
गत वर्ष करिव २ महिना घर छोडेर आफन्तको घरमा आश्रय लिएका वारीगलेश्वरका २१ घरधुरी यस वर्ष पनि जोखिममा छन । पहिरो नियन्त्रण नभएको वरु बेनी–जोमसोम सडकले जारोमा कान्ला पर्नेगरी माटो काटेर फालेपछि स्थानीय थप जोखिममा परेका हुन ।
‘आजसम्म त पानी परेको छैन र घरमै बसेका छौं । कुन दिन ठूलो पानी पर्ने हो र भागदौड हुने हो । त्रास मात्र छ’ पहिरोको सवैभन्दाबढी जोखिममा रहेका भरत मल्लले भने, ‘पहिरो नियन्त्रणको कुनै काम भएन । हाम्रा घरको आगनबाट गाडी चढेर सयौं नेता/कर्मचारी धर्म गर्न मुक्तिनाथ गए तर हाम्रो चित्कार कसैले सुनेनन/देखेनन । स्थानीय, प्रदेश र केन्द्रीय सरकार सवै उस्तै ।’
पहिरोले गलेश्वर वस्ती मात्र होईन, बेनी–जोमसोम सडकको राहुघाट खोलामाथी निर्मित मोटर पुल जोखिममा छ । सडक थुप्रीएको लेदोले यातायात अवरुद्ध हुँदा स्काभेटरको वकेटले गाडी तानेर हिलो तार्ने गरिएको छ ।
पहिरोले गलेश्व–पिप्ले–भगवती–बेग सडकको उक्त च्यानेजमा नामो निशान देखिन्न । सोही स्थानमा सडक खन्न नसकिने हुँदा एलाईमेन्ट परिवर्तन गरिएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । एलाईमेन्ट नै फेरिएकोले सोही स्थानमा ग्याभिन भर्ने वा संरक्षणको कार्यक्रम नभएको पनि कार्यालयले जनाएको छ ।
‘पालिकाको प्रवेशद्वारमै पहिरोले विजोग छ । जुन कार्यालय र मन्त्रालयको योजनाबाट पहिरो चलेको हो, उ पन्छियो । पालिकोको श्रोतले काम गर्न सकिन्न’ रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले भने, ‘पहिरोबाट प्रभावित अर्को निकाय बेनी–जोमसोम–कोरोला सडक आयोजनासँग पहिरोको माटो पन्छ्याएर जोखिम घटाउने कुरा भएको छ ।’ अध्यक्ष भण्डारीले थपे, ‘आयोजना प्रमुख जगत प्रजापतिले पहिरोको माटो पन्छ्याउन २ करोड बजेट विनियोजन भएको जानकारी दिनुभएको छ । बजेट सुनिश्चित भए, उदारोमा भएपनि आजभोली नै कामगरी जोखिम न्यूनिकरण गर्न हुन्थ्यो, पहल गरिरहेको छु ।’
गलेश्वर वस्ती मात्र होईन, लगातारको वर्षापछि जिललका दर्जनबढी वस्ती पहिरोको जोखिममा परेका छन । पहिरोले बेनी नगरपालिकाको बगरफाँट,तोराखेत, बाँस्कुना, चिप्लेटी, पात्लेखेत, मालिका गापाको ओखरवोट, धौलागिरी गापा लम्सुङ, दर, लुलाङ, रघुगंगा गापाको बान्दुक, चौरखानी, रायखोर, दग्नाम, मंगला गापाको खस्रुपानी, र अन्नपपूर्ण गापाको काप्रो र फगाम गाउँ पहिरोको उच्च जोखिममा छन ।