FLASH NEWS
  • Loading...

निर्माण ब्यवसायी महाँसघ अध्यक्षकै ठेक्का तीन वर्षदेखी अधुरो

  • पुनहिल डट कम
  • २ साल अघि
  • २११ पटक पढिएको
निर्माण ब्यवसायी महाँसघ अध्यक्षकै ठेक्का तीन वर्षदेखी अधुरो

निर्माण ब्यवसायी महाँसघका केन्द्रीय अध्यक्ष रवी सिंहले ठेक्का लिएको बेनी अस्पताल भवन तीन वर्ष अधुरो छ ।
साविक सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय बाग्लुङ्गले ०७३ पुस २१ गते महादेव खिम्ती/गल्वा/रफिना जेभि काठमाण्डौलाई भ्याटबाहेक १८ करोड ९० लाख रुपैयाँमा ठेक्का दिएको थियो । सम्झौता अनुसार भवन ०७६ मंसिर २० गतेसम्म सम्पन्न हुनु पथ्र्यो । ५० वेड क्षमताको ३ तल्ले बेनी अस्पताल भवनको दोस्रो तल्लासम्म ढलानपछि भवन अधकल्चो बनेको हो ।
तीन वर्षदेखी अस्पताल जस्तो संवेदनसिल संस्थाको भवन तीन वर्षबढी समय अधुरो राख्ने निर्माण ब्यवसायी महाँसघका अध्यक्ष रवी सिंह समेत ब्यवसायीले सरकारलाई सार्वजनिक खरिद नियमावली संसोधन गर्न लगाईगरी पुराना र म्याद सकिएका ठेक्कालाई एक वर्ष म्याद थपाउन सफल भएका छन ।
‘ठेकदार साँढे जस्तै परेछन । हाम्रो दवावले छेउटुप्पो छोएन । नियामक कर्मचारी छेउ पर्नै सक्दैनन’ बेनी अस्पताल विकास समितिका सदस्य बेलबहादुर कटुवालले भने, ‘भवन समयमा नवन्दा विरामीलाई जस्ताको छाप्रोमा राखेर उपचार गरिरहेका छौं । छिटो निर्माण गरिदिन मौखिक र लिखित ताकेता गऱ्यौं । न ठेकदारले टेरपुच्छर लगाउँदैन । नियामक निकाय मुख्य ठेकदारसँग बोल्नै सक्दैनन ।’
निर्माण ब्यवसायीकै हेलचक्र्याईले तोकिएको समयमा काम सम्पन्न नहुँदा बनेको संरचना रुग्ण भैरहेको अवस्थामा सार्वजनिक खरिद नियमावली सातौं पटक संशोधन भै एक वर्ष म्याद थपेसँगै बेनी अस्पताल भवन निर्माण थप अलपत्र बनेको छ ।
अस्पताल भवन समयमा निर्माण नहुँदा विरामीले थप सास्ती खेप्नु परेको छ । अस्पतालमा दरवन्दी भएका विषशज्ञ डाक्टरहरु पूर्वाधार नभएको भन्दै हाँजिर हुन आएका छैनन ।
५ हजार ३ सय बर्गमिटर क्षेत्रफलमा एक तल्ला अण्डरग्राउण्ड सहित ३ तल्ले अस्पताल भवन निर्माण हुन लागेको हो । भवनको पहिलो तल्लामा ओपिडि, दोस्रोमा इनडोर र तेस्रो तल्ला प्रशासनीयक प्रयोजनकालागी बन्न लागेको हो । भवन बाहेक गार्डेन, प्यासेज लगाएत थप काम पनि छन ।
बेनी अस्पताल भवन हेर्ने सघन सहरी तथा भवन निर्माण कार्यालय बाग्लुङका अनुसार अस्पतालको करिव ७० प्रतिशत भौतिक प्रगति पुगेको छ । निर्माण ब्यवसायी ‘निर्माण होलिडे’ मा रहँदा काममा ढिलाई भएको हो ।
‘ठेकदारले आउँदो पुससम्मको समय मागेका छन । ठेकदारले भने जसरी सरासर काम गरे, पुससम्म बेनी अस्पताल भवन तयार हुन्छ’ कार्यालयकी अस्पताल भवन हेर्ने साईड इन्चार्ज इन्जिनियर विना चाकटुले भनिन, ‘सार्वजनिक खरिद नियमावली नै परिवर्तन भएपनि ब्यवसायीलाई बारम्बार ताकेता गरेका छौं । थप काम गर्न दवाव दिन विलमा कडाई गरेका छौं ।’
ठुला ब्यवसायीले ठेक्का होल्ड गर्ने र साना ब्यवसायीलाई बेच्ने रोगबाट बेनी अस्पताल पनि प्रभावित भयो । जेभि मध्यको कान्छो रफिनाका रविन जोशिले ठेक्का विट गरेका हुन तर उनले काम गर्न सकेनन । मुख्य ठेकदार र पेटी ठेकदार विच बेलाबेलामा लेनदेनमा खटपट आउँदा पनि योजना प्रभावित हुने गरेको छ । बेनी अस्पताल निर्माणमा कम्तीमा तीन वटा पेटी ठेकदार फेरिएका छन । केही समय मुख्य ठेकदार र पेटी ठेकदारविच मुद्धामामिलामा पनि अल्झेको थियो ।
बेनी अस्पतालको पुरानो संरचना भत्काईएको र नयाँ भवन श्वास्थ्य परिक्षण, उपचार तथा प्रशासन अस्तब्यस्त भएको हो । अस्पताल अस्थाई टहरामा अस्तब्यस्त रुपमा अस्पताल चलेको छ ।
शल्यक्रिया, प्रसुती भएका महिला तथा नवजात शिशु र अन्य विरामी भर्ना गरिएको कोठामा जस्तापाताबाट शीतका थोपा विरामीको मुखमै पर्छ । कोठामा भ्यान्टीलेसन नभएका र धुलाम्मे छन ।
‘विरामी भर्ना गरिएको कोठाहरुको ढोकाबाट नै धुलो उड्दा विरामीलाई थप समस्या भएको छ’ इन्डोरकी नर्स भीमसरा पुनले भनिन्, ‘कम्तीमा शल्यक्रिया गरेका र नवजात शिशु राखिएको संवेदन क्षेत्र ब्यवस्थित गर्नु आवश्यक छ ।’
अस्पतालको पूर्वाधार नभएको भन्दै अस्पतालमा विशषज्ञ डाक्टरहरु आउन मानेका छैनन । बेनी अस्पतालमा वरिष्ठ कन्सल्टेन्ट (विशेषज्ञ) पेडियार्टिसियन (बालरोग), अब्य तथा गाईना (स्त्री रोग), सर्जन, अर्थो सर्जन (हाडजोर्नी), साईक्यार्टिक (मानसिक रोग), एनेस्थेसियालोजिष्ट, जनरल फिजिसियन, रेडियोलोजिस्ट, प्रमुख मेडिकल सुपरिटेन्डेन्ट जनरलिष्ट, सुपरिटेन्डेन्ट समेत १० जना डाक्टरको दरवन्दी छ । तर एक जना पनि विशेषज्ञ डाक्टर जिल्लामा छैनन् ।