FLASH NEWS
  • Loading...

किताव नपढी परिक्षा दिँदै दुर्गमका विद्यार्थी

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ४६८ पटक पढिएको
किताव नपढी परिक्षा दिँदै दुर्गमका विद्यार्थी

चैत १० गते आईतवारदेखी एसईई परिक्षा सुरु हुँदैछ । तर म्याग्दीका केही सामुदायीक विद्यालयका विद्यार्थी भने विज्ञान विषयको पाठ्य पुस्तक अध्ययन नै नगरि परिक्षामा सहभागी हुँदैछन । अध्ययन गरेका विद्यालयले पनि पुरै पाठ्यक्रम पढेका छैनन ।

शिक्षक फेला पार्न नसकेपछि जिल्लाका दर्जन बढी दुर्गम भेगका विद्यालयमा विज्ञान विषयको पुरै वा आंशिक रुपमा अध्यापन भएको छैन । विज्ञान विषयको अध्यापन नभएपछि केही समय अघि अमरमावि चिमखोलाका विद्यार्थीले आन्दोलन समेत गरेका थिए । तर स्वअध्ययनको भरमा परिक्षामा सहभागी हुनु पर्ने बाध्यता दोहोरियो । केही विद्यालयले योग्यताको शिक्षक नपाएपछि एक एउटा योग्यताको शिक्षक नियुक्ति गरी अर्कै कम योग्यताको शिक्षकबाट काम चलाएका छन । आईतवारदेखी सुरु हुने एसईई परिक्षामा जिल्लाका २ हजार २ सय ४२ विद्यार्थी सहभागी हुँदैछन ।

‘जिल्लाका धेरै सामुदायीक माविहरुमा विज्ञान र गणीत विषयको पुर्ण पाठ्यभारको अध्यापन भएको छैन । विद्यार्थी स्वअध्ययनको भरमा एसईईमा सहभागी हुँदैछन’ जिल्ला शिक्षा विकास तथा समवन्यय ईकाई प्रमुख दलबहादुर थापाले भने, ‘केही विद्यालयले तल्लो योग्यतामा अध्ययनरत विद्यार्थीलाई केही समयकालागी ल्याएर पनि विज्ञान विषय काम चलाउ अध्यापन गराएका छन । हामीले पनि विएस्सी वा विएड साईन्स भनेर पेलेनौं, आईएस्सी मात्र भएपनि खुल्ला राखेका छौं ।’

विज्ञान विषय अध्यापन गराउने शिक्षक नपाउँदा गौवमवस्त माध्यामिक विद्यालय, अमर मावि, जयन्ती माध्यामिक विद्यालय, पाउद्धार मावि, टिकोट मावि हिस्तान र आदर्श मावि रिमाका करिव ३ सय विद्यार्थीले विज्ञान विषयको पुरै वा आँशिक मात्र पाठ्यक्रम अध्यनकाभरमा परिक्षामा सहभागी हुँदैछन । यी विद्यालय उदाहरण मात्र हुन ।

हरेक बर्षको एसईई परिक्षामा कुनै न कुनै विद्यालयका विद्यार्थीले विज्ञान विषय अध्ययन/अध्यापन विनै सामेल हुन बाध्य हुने गरेका छन । शिक्षक उपलब्ध भएका विद्यालयमा पनि कुनै न कुनै महिना शिक्षकको ‘ग्याप’ हुने गरेको छ । दरवन्दी भएपनि शिक्षक नपाउँने मात्र होईन एक जना पनि शिक्षक दरवन्दी नभएका २० वटा माध्यामिक विद्यालयको अवस्था झन समस्या छ । जिल्लाका अधिकांश सामुदायीक विद्यालयमा विज्ञान र गणित विषयका शिक्षकको सँधै पिरलो भैरहन्छ । खाना, वस्न र तलवमै अतिरिक्त सुविधा थप्दासमेत दुर्गमका विद्यालयले विज्ञान विषयको शिक्षक पाएका छैनन ।

‘हामी दुर्गमका विद्यालयमा विज्ञान विषयका शिक्षक नै पाउँदैनौं । वल्नतल्न तल्लो योग्यताको भएपनि शिक्षक खोज्यो, उ पनि ६ महिना, वर्ष दिनमै जान्छन । हैरान छौं’ पाउद्धार माविकी प्रध्यानअध्यापक थममायाँ शेरपुजा मगरले भनिन्, ‘एउटा शिक्षकको वर्षभरीको तलव बराबरको खर्च शिक्षक खोज्दै खर्च हुन्छ । कोरा विद्यार्थी परिक्षामा सहभागी गराउनु भन्दा काम चलाउन अर्को विषयको शिक्षकले भएपनि काम चलाएका छौं । खासमा विद्यार्थी स्वअध्ययनको भरमा परिक्षामा सहभागी हुँदैछन ।’

सदरमुकाम वेनी नेरोफेरोका बाहेक जिल्लाका सवै माध्यामिक तहका विद्यालयले बर्षमा कुनै न कुनै महिना विज्ञान वा गणित विषयको शिक्षक भाग्ने समस्या झेल्दै आएका छन । जिल्लामा विज्ञान र गणित विषयका शिक्षक नपाउने वा नटिक्ने विकराल समस्या छ ।

दरवन्दीमा त विज्ञान शिक्षक अभाव छ, शुन्य दरवन्दीका जिल्लाका १९ माध्यामिक विद्यालयको अवस्था झन नाजुक छ । अधिकांश दरवन्दी रहित माविमा तल्लो तहको शिक्षकले माथिल्लो तहमा अध्यापन गराउने मात्र होईन, विज्ञान, गणित जस्ता विषयमा तल्लो तहको योग्यता भएको शिक्षकले माथिल्लो तहमा ‘काम चलाउ’ अध्यापन गराउँदै आएका छन ।