FLASH NEWS
  • Loading...

बेनी नगरपालिकाले याेजना नसकी भुक्तानी दिँदा विवाद

  • पुनहिल डट कम
  • २ साल अघि
  • १२२ पटक पढिएको
बेनी नगरपालिकाले याेजना नसकी भुक्तानी दिँदा विवाद

बेनी नगरपालिकाको अभिलेखमा एक घर एक धारा कार्यक्रमअन्तर्गत वडा नं. ३ भकिम्लीको चिनाखेतका ७६ घरमा मिटर जडित खानेपानी पुगेको छ । तर, कागजमा योजना सम्पन्न भएको जनाइए पनि घरहरूमा धारा भने जोडिएको छैन ।

बेनी नगरपालिकाले याेजना सम्पन्न नगरी ठेकदारलाइ अन्तिम भुक्त्तानी दिएपछि अनियमितता र मिलेमताे भएकाे भन्दै विवाद भएकाे छ ।  

नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ मा विनियोजन गरेको ७० लाख बजेटबाट ०७८ असार मसान्तभित्र खानेपानी योजना निर्माण सक्ने गरी सुन्दर निर्माण सेवा पोखरासँग सम्झौता गरेको थियो । कम्पनीले ५८ लाख रुपैयाँमा चिनाखेत खानेपानी योजनाको ठेक्का पाएको हो । तर सम्झौताअनुसारका पूरै संरचना निर्माण नगरी र घर–घरमा धारा पनि नबाई ठेकेदार फर्केपछि योजना अलपत्र छ । नगरपालिकाले अधुरो योजनालाई कार्य सम्पन्न भनी भुक्तानी गरेपछि स्थानीय आक्रोशित भएका छन् ।

‘मुहानको पानी रिजर्ववेयर ट्याङ्कीमा खसेको छैन । मुहानमा इन्टेक बनेको पनि छैन । वितरण लाइनबाट घर–घरमा पानी जोड्ने आरिविटी हिलोमा पुरिएका छन्,’ नगरपालिकाले हालै आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीय दीपक पुनले भने, ‘हाम्रो घरको धारामा कहिले पानी आउँछ ? काम सम्पन्न नभई नगरपालिकाले ठेकेदारलाई भुक्तानी किन दियो ? काम सम्पन्न भएको प्रतिवेदन कसरी बनायो ?’

सम्झौतामा ३ घेराबारसहित इन्टेक, २० घनमिटर क्षमताका २ फेरोसिमेन्ट ट्याङ्की, डिस्ट्रिबुसन च्याम्बर १४ वटा, कलेक्सन ट्याङ्की एउटा, ब्रेक च्याम्बर २ वटा, तीन किलोमिटर मुख्य पाइप लाइन, नौ किमि लामो वितरण लाइन बनाउने उल्लेख छ । यसैगरी घर–घरमा कनेक्सन फिटिङ (पाइप, मिटर, धारा) आदि बनाई माझखर्क ठूलाछहरा मुहानको पानी धारामा झार्ने थियो । ठेकेदारले सम्झौताअनुसार बनाउनुपर्ने एउटा इन्टेक, ब्रेक च्याम्बर दुई वटै बनाइएको छैन ।

सबै ७६ घरमा पानीको धारा निर्माण भएको छैन । ठेकेदार कम्पनीले निर्माण नभएको इन्टेक एउटा र ब्रेक च्याम्बर दुई वटाको रकम कटाएर नगरपालिकाबाट कन्टेन्जेन्सी पनि कटाई ५१ लाख ५४ हजार ४० रुपैयाँ भुक्तानी लिएको छ । नगरपालिकाले भने डिजाइन, लागत अनुमान र ठेक्का सम्झौताअनुसार कामको मूल्यांकनको आधारमा भुक्तानी दिएको दाबी गरेको छ । क्रमागत योजना भएकाले चालु आवमा बजेट विनियोजन नभएकाले केही काम बाँकी रहेको र आगामी बजेटमा योजना समेटेर सम्पन्न गर्ने नगरपालिकाले दाबी गरेको छ ।

‘चिनाखेत खानेपानी योजनामा निर्माण व्यवसायीले ढिलासुस्ती र केही लापरबाही नगरेको भए यो समस्या आउने थिएन । तर व्यवसायी दोषी होइनन् । हामीले नै ७० लाखले जति पुग्छ त्यतिको लागत इस्टिमेट निकालेका हौं, इस्टिमेटमा उपभोक्ताको घरमा धारा निर्माण गर्ने भन्ने नै उल्लेख छैन,’ नगरपालिकाबाट डिजाइन इस्टिमेट गर्ने र अनुगमन गरेका असिस्टेन्ट सव इन्जिनियर चन्द्रबहादुर थापाले भने, ‘सबै काम प्रक्रियागत र कानुनसम्मत भएका छन् ।’

थापाका अनुसार ठेक्का नै अधुरो ठेक्का लागेको हो । क्रमागत योजनामा बजेट निरन्तरता नभएपछि यो योजना अधुरो र आलोचित भएको भन्दै उनले चालु आवमा समस्या सुल्झिने बताए । *कान्तिपुरबाट