FLASH NEWS
  • Loading...

बेनीबासीलाई वस्ती र बालबालिका जोगाउने पिरालो

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ३३३ पटक पढिएको
बेनीबासीलाई वस्ती र बालबालिका जोगाउने पिरालो

तीन दिनअघि म्याग्दीखोलामा पौडि खेल्न गएका बेनी सामुदायीक माध्यामिक विद्यालय कक्षा ९ मा अध्ययनरत छात्र हेमचन्द्र गर्वुजा डुबेर वेपत्ता छन ।

बेनीबजारको दायाँ र वायाँ कोखाबाट वग्ने काली र म्याग्दी खोलाले बर्षेनी हेमचन्द्र गर्वुजा जस्ता वालवालिका बगाउने गरेको छ । गर्मी बढेसँगै अभिभावक र विद्यालयलाई कसरी वालबालिका जोगाउने पिरलो भैरहन्छ । म्याग्दी र कालीगण्डकीबाट बस्ती मात्र होईन, वालबालिकालाई जोगाउन हम्मे परेको छ, बेनीबासीकालागी । बर्खा कटानले घर नै बगाउला भन्ने त्रास, हिउँदमा पौडी खेल्न गएका छोराछोरी पानीसँगै बग्लान भन्ने डर ।

गर्मी बढेपछि सदरमुकाम र म्याग्दी नदी आसपासका बालबालिका खोलामा पुग्ने गर्छन । सयौं बालबालिकाहरु अभिभावकको आँखा छलेर पौडिखेल्न नदीमा पुग्ने गरेका हुन्छन् । खासगरी अभिभावकको नियमन नपुगेका वालबालिकाको बन्द, हडताल र विदाको दैनिकी म्याग्दी र काली नदीमा डुबुल्की मार्दै वित्छ ।

‘काली र म्याग्दी नदी सँधैको त्रास भए । कहिले बस्ती बगाउला भन्ने पीर कहिले छोराछोरी’ बेनी नगरपालिका, ७ का वडाध्यक्ष राजेन्द्र श्रेष्ठले भने, ‘वालबालिकालाई खोलामा पुग्नबाट रोक्ने प्रयास गर्दागर्दै कता कताबाट फुत्केर खोलामा पुग्छन । स्कुल नहुने दिन त अभिभावक केटाकेटीको पिछा लाग्दै हैरान भईन्छ ।’

नदीमा पौडि खेल्दा रमाईलो मात्र हुंदैन । राम्रोसंग पौडि खेल्न नजान्नेलाई नदीले बगाउने समेत गरेको छ । तथ्याङ्ढ अनुसार हरेक वर्ष दुई जना ठाढो नदीमा पौडी खेल्न जाने बालबालिकाको डुवेर वा बगेर मृत्यु हुने गरेको छ । साथीभाई र अग्रजहरुको पछिलागेर नदीमा जाने साना बालबालिकालाई बढी बगाउने गरेको छ ।

चैतदेखी जेठ महिनासम्म म्याग्दी र कालीगण्डकी नदी किनाराका वस्तीबाट छुट्टीको मौका छोप्दै बालबालिकाहरु पौडी खेल्न नदीमा भिड लाग्ने गर्छ । अरु दिन स्कुलमा हुनेहुंदा शनिवार नदीमा पौडि खेल्न धेरै बालबालिका नदीमा पुग्छन् । पौडिखेल्न राम्रोसंग नजान्नेहरु नदीमा टायरको ट्युव, भलिवल र खाली जर्किनहरु बोकेर जान्छन् ।

साथीभाईसंग मिलेर मनलाग्दो खेल्न र डुल्न पाईने भएकोले विद्यार्थीहरु सवैभन्दा बढी खुशी सायद स्कुल विदा हुन्छन् । तर ठिक उल्लो अभिभावकलाई भने स्कुल विदाहुंदाको दिन कता नानीहरु नदीले बगाउला भन्ने चिन्ताबाट सताईन्छन् । ‘यी केटाकेटीलाई स्कुल छुट्टी पनी नभए हुन्थ्यो जस्तो लाग्छ । कता खोलाले बगाउँछ भन्ने सन्त्रास भै रहन्छ’ बेनी मंगलाघाटकी मधु कार्कीले बताईन् ।

विद्यालयमा नयाँ शैक्षिक सत्रको पढाई शुरु नभएकोले अभिभावकलाई आफ्ना केटाकेटी नदीमा पुग्नबाट रोक्न समस्या भएको छ । पौडी खेल्न गएका बालबालिकाले नदीमा पौडी खेलेर रमाईलो मात्र गर्दैनन्, किनारामा बसेर गाँजा र चुरोट समेत तान्ने गर्छन् ।

‘बालबालिका नदी किनारामा पौडी खेल्न मात्र जाँदैनन्, गाँजाचुरोट जस्ता लागुपदार्थ सेवन गर्न पनी जम्मा हुन्छन’ माउण्ट एभरेष्ट आवसिय मावि बेनीका प्रिन्सिपल राजु केसीले भने । बालबालिका पौडी खेल्ने गरेको म्याग्दी नदीमा बजारको ढल र प्रहरी तथा सेनाको ब्यारेकबाट सोझै मिसाईएको सोफिटले नदीको पानी प्रदुशित पनी भएको छ ।