FLASH NEWS
  • Loading...

बेनीमा वैकल्पिक खानेपानीको खोजी, म्याग्दीखोलाबाट लिफ्ट प्रविधीबाट पानी उपयाेग गरिने

  • पुनहिल डट कम
  • २ साल अघि
  • १६४ पटक पढिएको
बेनीमा वैकल्पिक खानेपानीको खोजी, म्याग्दीखोलाबाट लिफ्ट प्रविधीबाट पानी उपयाेग गरिने

चैत मध्यदेखी नै सदरमुकाम बेनीबासीले पिउँदै आएको पुम्दीखोला मुहान सुकेपछि खानेपानीको वितरणमा दैनिक समस्या आईरहेको छ ।
खानेपानी समस्या बढेपछि बेनी खानेपानी उपभोक्ता संस्थाले वैकल्पिक श्रोतको रुपमा म्याग्दीखोलाबाट लिफ्ट प्रविधीबाट पानी पुर्याउने योजना सुरु गरेको छ । १७ लिटर प्रति सेकेण्ड पानी आईरहेको पुम्दीखोला मुहानबाट अहिले १२ लिटर प्रतिसेकेण्ड मात्र पानी आएको छ ।
पानी मुहान सुकेपछि बेनीमा एक हजार ३० घरधुरीका १९ हजार जनसंख्यालाई २४ सै घन्टा श्वस्च्छ र सफा खानेपानी पुर्‍याउँदै आएको खानेपानी उपभोक्ता संस्थालेले मुलको पानी सुक्दै गएपछि बाहृयश्रोत (खोला)को पानी मिसाएर वितरण गरेको छ ।
चैत–जेठसम्म मुहान सुक्ने र असार–भदौ मनसुनजन्य विपद (बाढीपहिरो)ले क्षति पुर्याउनु हुँदा जहिल्लै खानेपानी समस्या भएकोले वैकल्पिक श्रोतको रुपमा बेनीको मंगलाघाट छेउ म्याग्दीखोलाबाट ५० लाखको लागतमा खानेपानी तान्ने तयारी भएको हो ।


संघिय खानेपानी तथा ढल ब्यवस्थापन आयोजना अर्न्तगत बेनीबजार खानेपानी आयोजनाले म्याग्दीखोला बगरमा इनार खन्ने र पानी उपभोक्ताको घरमा पुर्याउन बराहपाखोमा रिर्जवेयर ट्याङ्की निर्माण गरिरहेको छ । आउँदो असार भित्र लिफ्ट प्रविधीको पानी उपभोक्ताको घरमा पुर्याउने लक्ष्य छ ।
‘हिउँदमा मुहान सुक्ने र वर्खायाममा पहिरोले पाईपलाईनमा बारम्बार क्षति पुग्दा खानेपानी अवस्द्ध भैरह्यो । त्यसैले महङ्गो भएपनि वैकल्पिक श्रोतको रुपमा लिफ्ट प्रविधीको योजना निर्माण थालेका हौं’ संघिय खानेपानी तथा ढल ब्यवस्थापन आयोजना जिल्ला कार्यालय बेनीका इन्जिनियर प्रदिप रेग्मीले भने, ‘सहज हुँदा चालु खानेपानी मुहान नै प्रयोग हुन्छ । भैरहेको मुहान सुक्यो, पहिरोले पाईपलाईन वा मुहानमा क्षति पुग्यो र खानेपानी अवरुद्ध हुँदा मात्र लिफ्ट प्रविधी चलाउने योजना छ ।’
अहिले बेनी–जोमसोम सडकसंगै रहेको ट्याङ्कीदेखी मुहानसम्म ८ किलोमिटर लामो जिआई पाईपको मुख्य लाईन रहेको छ । बेनी–जोमसोम सडक विस्तार गर्ने क्रममा भित्ता काटिएपछि यो खण्ड झन बढी पहिरोग्रस्त भएको छ । त्यति मात्र होईन, फलामे (जिआई) पाईप प्रयोग भएकोले कहीं फुट्दा मर्मत गर्न झन समस्या हुने गरेको छ । पाईप ठूलो भएकोले हत्तपत्त १–२ जनाले चलाउन र जोड्न मिल्दैन । फलामको भएकोले फुटेको पाईप जोड्न वल्डिङ मेसिन र विधुतकालागी छुट्टै ठूलो जेनेटर बोकेर पहिरोमा मजदुरले ज्यानको उच्च जोखिम मोलेर जानु पर्ने भएकोले मर्मत कठिन र ढिलो हुने गरेको हो ।
‘मुहानदेखी ट्याङ्कीसम्मकै वितरण लाईन पहिरोग्रस्त क्षेत्रमा रहेकोले हैरान भएको छ । असारका पछिल्लो २४ दिनमा पाईपलाईनमा हरेक दिन कुनै न कुनै ठाउँमा सानो/ठूलो क्षति पुग्ने गरेको छ । पाईप लाईन मर्मत गर्न केही घन्टादेखी चार–पाँच दिनसम्म लाग्ने गरेको छ’ बेनी खानेपानी उपभोक्ता संस्थाका प्रवन्धक याम किसानले भने, ‘असार–भदौ तीन महिना बेनीको खानेपानी वितरणमा समस्या मात्र हुँदैन, फुटेर विपत्ति निम्त्याउला भन्ने त्रास पनि उस्तै छ ।’
पुम्दीखोलाको मुहानबाट प्रति सेकेण्ड १५–१७ लिटर पानी आउने दुई वटा पाईप लाईन रिर्जवयर ट्याङ्कीसम्म लगिएको छ । हस्पिटलचोक, क्याम्पसचोक, हिससाईड, न्युरोड, हुलाकचोकका मुख्य बजारको पछाडी भिरालो पाखोमा दुई वटा मुख्य र एक वटा वितरणगरी ठूला तीवटा पाईप लाईन राखेर बाट खानेपानी वितरण गरिएकोले कुन दिन सानो पहिरो वा ढुङ्गा खसेर पाईप लाईन फुटाउने अर्को विपत्ति आउने जोखिम बढेपछि महंगो भएपनि वैकल्पिक श्रोतबाट पानी आपुर्तीको खोजी गरिएको बेनी खानेपानी उपभोक्ता संस्थाले जनाएको छ ।
१५ बर्षअघि एशियाली विकास बैंकबाट ऋण लिएर निर्माण गरेको बेनी खानेपानी योजनाले प्रति सेकेण्ड ३२ लिटर मुलको सफा र शुद्ध एवं नेपाली स्ट्याण्डरको गुणस्तरीय खानेपानी वितरण गर्दै आएको बेनी खानेपानी संस्थाले प्रयोग गर्दै आएको स्लो स्याण्ड फिल्टर ट्याङ्ढीले पनि फिल्टर गर्न छोडेपछि क्लोरिन राखेर उपभोक्ताको घरमा पानी पठाउने गरिएको छ ।
बेनीको खानेपानी वितरण क्षमता बढाउने मात्र होईन, पानीको गुणस्तर कायम राख्न छुट्टै २ करोड ४६ लाख लागतमा संघिय खानेपानी तथा ढल ब्यवस्थापन आयोजना अर्न्तगतकै बेनीबजार खानेपानी गुणस्तर सुधार आयोजना निर्माणाधिन छ ।
खानेपानी गुणस्तर सुधार आयोजनाले बेनी खानेपानी उपभोक्ता संस्थासँगै रिर्जवयर ट्याङ्की र पानी ट्रिटमेन्ट युनिट (फिल्टर) निर्माण गरिरहेको छ । ‘बेनीको खानेपानीको मुहान आफैमा शुद्ध र सफा छ । अझ पानी ट्रिटमेन्ट युनिट (फिल्टर) निर्माणपछि बेनीको खानेपानी गुणस्तर मापदण्ड सुनिश्चित हुने छ’ इन्जिनियर रेग्मीले बताए ।