FLASH NEWS
  • Loading...

तीन पटक उद्घाटन भएको बेनी लिफ्ट सिंचाई, कृषकको वारीमा पानी नपुगी लथालिङ्ग

  • पुनहिल डट कम
  • २ साल अघि
  • २६६ पटक पढिएको
तीन पटक उद्घाटन भएको बेनी लिफ्ट सिंचाई, कृषकको वारीमा पानी नपुगी लथालिङ्ग

२०७५ साल माघ १ गते म्याग्दी उद्योग वाणिज्य संघले आयोजना गरेको म्याग्दी महोत्सव स्थल खुल्ला मञ्चबाट पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मोवाईल एप थिचेर जिल्लाको पहिलो लिफ्ट सिंचाई अन्र्तगत म्याग्दी खोलाको पानी लभ्लीहिलको डाँडाबाट फुरुरुर खसाले ।

मोवाईल एप थिचेर ताररहित प्रविधीको लिफ्ट सिंचाईको पानी लभ्लीहिलबाट कृषकको वारीवाट ठिक विपरित बेनी तर्फ फकाईउको पानीका फोहोरा देखेर महोत्सव हेर्न आएका दर्शकले रमिता माने । चाकडी, चाप्लुसी गर्न तामझाम सहित उद्घाटन गरिएको त्यही बेनी लिफ्ट सिंचाई योजना लक्षित कृषकको तरकारीवारीमा एक थोपा पानी नखसी लथालिङ्ग, भताभुङग भएको छ । नकच्चराे अायाेजना अहिले आफैले रमिता देखाईरहेको छ । 
बेनी नगरपालिका, २ ज्यामरुककोटका सिम्ले, दारिमपाटा र खवराका तरकारी पकेट क्षेत्रमा सिंचाई गर्न निर्माण थालिएको लिफ्ट सिंचाई अधुरै अवस्थामा प्रचण्डबाट उद्घाटन गराईएको थियो । प्रचण्ड भन्दा अगाडी बेनी नगरप्रमुख हरीकुमार श्रेष्ठ, प्रतिनिधी सभा सदस्य एमाले नेता भुपेन्द्रबहादुर थापाले पालै पालो उद्घाटन गरेका थिए ।

प्रधानमन्त्री कृषी आधुनिकिकरण परियोजना अन्र्तगत कृषी ज्ञान केन्द्र र समुदायको साझेदारीमा निर्माण गरिएको जिल्लाको पहिलो लिफ्ट प्रविधीको सिंचाई योजना अलपत्र पर्दा सरकारी बजेट १६ लाख ५० हजार मात्र खेर गएन कृषकको ६ लाख मुल्य बराबरको श्रमदान र नगद साझेदारीको ५ लाख रुपैया लगानी पनि डुबेको छ ।
‘वस्ती पुछारको खोलाको पानी माथी डाँडामा पुर्‍याएर खेतवारीमा १२ महिना सिंचाई गरौंला । हराभरा तरकारी बनाउँला भन्ने सपना उडायो सवै हावाले भने झै भयो’ उपभोक्ता समितिका अध्यक्ष चन्द्रबहादुर कार्कीले भने, ‘जनताको हातमा फोका उठे, पाईप बोक्दा काँधका छाला खुईले । खल्तीबाट हालेको नगद पैसा पनि खेर गयो । कृषकलाई लोप्रो न बोक्रो भयो ।’
म्याग्दी नदीबाट २ सय ५० मिटर ठाडो उचाई (भर्टिकल हेड)मा ५ सय मिटर लामो पाईपबाट लभ्लीहिलसम्म प्रति सेकेण्ड ९ लिटर पानी १० मिटर गहिरो ५ मिटर फराकिलो पोखरीमा खसालिएको थियो । तर लभ्लीहिलबाट अर्को २० मिटर भर्टिकल हाईटमा ५ सय मिटर माथीको पिपलडाँडाको दोस्रो पोखरीमा पानी पुर्‍याउने लक्ष्य पुरा नहुँदै ०७५ सालमा अधकल्चो योजनालाई तीन महिनाको अन्तरमा तीन पटक उद्घाटन गराईएको थियो ।
‘कृषी ज्ञान केन्द्रको साझेदारीमा निर्मित बेनी–पिपलडाँडा लिफ्ट सिंचाई योजना पुरा नहुँदै भताभुङ्ग भएको सुनेको छु । समुदायले अन्य श्रोतबाट रकम जम्मागरी केही समयसम्म खवराको तल्लो क्षेत्रमा सिंचाई गरेपनि दिगो हुन नसकेको सुनेको छु’ कृषी ज्ञान केन्द्रका कृषी प्रसार अधिकृत तथा सुचना अधिकारी गोविन्द पाण्डेले भने, ‘आफुसमेत हालका कर्मचारीको पुरै टिम नयाँ भएकोले पुरानो योजनाको डिटेल जानकारी भने छैन । नगरपालिकाको कृषी शाखा र समुदायसँग सहकार्यगरी पुन:संञ्चालन गर्न प्रयास गर्छौ ।’
योजना अपुरो भएपछि वडाले १ लाख ५० हजारको पोलिथिन पाईप, कृषकको ५ लाख र बेनी नगरपालिकाले ५ लाख साझेदारी गरी १० लाखमा दोस्रो खण्डको पोखरी, पम्पीङी सिस्टम, पाईप विच्छाउने समेतका काममा खर्च गरिएको थियो ।
दोस्रो चरणको काम पुरा नहुँदै म्याग्दी खोला किनाराको इनारमा प्राविधिक त्रुटीले गर्दा वालुवा पसेको र वालुवाले गर्दा मोटर विग्रेको र सरोकारवालाले समयमै योजना मर्मत संभार नगर्दा योजना झन झन लथालिफ्ट बनेको हो । इनारमा जोडिएको जिएसएम स्वीचिङ डिभाईस (एप) सहित २० एच.पि. सि.आर.टी पम्प, कन्ट्रोल वक्स सवै चोरी भएका छन । पानी तान्ने इनारमा अज्ञात मान्छेहरुले ढुङगा हालिदिएका छन ।
‘जिल्लाको पहिलो लिफ्ट प्रविधीको सिंचाई योजना प्राविधिक त्रुटीको कारण प्रयोगमै नआई भताभुङ्ग भयो । कृषी कार्यालयको संरचनात्मक हेरफेरसँगै कर्मचारी र कार्यक्रमका स्वरुप फेरिए । बजेट निरन्तरतामा समस्या भयो । समन्वय नहुँदा थोरै लगानीमा मर्मत गर्न सकिने योजना कामै नलाग्ने बन्यो’ बेनी नगरपालिका, २ का वडाध्यक्ष हिराबहादुर थापाले भने, ‘सरोकारवाला निकायको वेवास्तापछि कृषक पनि योजनाबाट निरास भएका छन । वडा कार्यालयले योजना संञ्चालन गर्न डिपिआर तयार पार्न बजेट विनियोजन भएको छ, नगरपालिकाका प्राविधिकले फर्सद नपाउँदा काम अगाडी बढेको छैन ।