FLASH NEWS
  • Loading...

हाइड्रोपावरमा पाइप पड्किँदा दुई इन्जिनियरको मृत्यु

  • पुनहिल डट कम
  • २ साल अघि
  • २७७ पटक पढिएको
Post Thumbnail

सोलुखुम्बुस्थित सोलुखोला दूधकोसी हाइड्रोपावरमा पाइप पड्किँदा दुई इन्जिनियरको मृत्यु भएको छ । मृत्यु हुनेमा अछामका २६ वर्षीय सुवासराज रेग्मी र काभ्रेका २९ वर्षीय अर्जुन थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रहरीका अनुसार दुवैजना सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–११ र थुलुङ दूधकोशी गाउँपालिका–३ पञ्चनमा निर्माणाधीन अवस्थामा रहेको ८६ मेगावाट क्षमताको उक्त हाइड्रोपावरमा काम गर्थे । सुरुङमार्गको काम सम्पन्न गरी विद्युत् उत्पादनको अन्तिम तयारीमा रहेको आयोजनामा पानी परीक्षण गर्ने क्रममा पाइप विस्फोट भएको थियो ।

दुर्घटनामा परी हाइड्रो मेकानिकल समुह माछापुच्छ्रे मेटल एन्ड मेकानिकल कम्पनीका इन्जिनियर रेग्मी र काभ्रेका कन्सल्ट्यान्ट इन्जिनियर थापाको मृत्यु भएको हो । फलामको पाइपमा पानी हालेर परीक्षण गर्ने क्रममा आइतबार अपरान्ह पाइप पड्किँदा रेग्मी र थापा बेहोस भएका थिए ।

उनीहरूलाई उपचारका लागि ओखलढुंगा अस्पताल लगिएको थियो । सो अस्पतालले थप उपचारका लागि काठमाडौँ रिफर गरेपनि मौसमका कारण बेलैमा काठमाडौँ पठाउन नसकिएका कारण दुवैको मृत्यु भएको बताइएको छ ।

घटनामा हाइड्रो मेकानिकल कम्पनीका प्रोजेक्ट म्यानेजर नै गम्भीर घाइते भएका छन् । विराटनगर निवासी घाइते मोहम्मद राइनलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ । कम्मरमुनिको भाग चल्न नसक्ने अवस्थाका उनको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ ।