FLASH NEWS
  • Loading...

तातोपानी चिकित्सालय सञ्चालनमा उल्झन

  • पुनहिल डट कम
  • २ साल अघि
  • १४४ पटक पढिएको
तातोपानी चिकित्सालय सञ्चालनमा उल्झन

छुट्टै दर्ता आवश्यक हुनुपर्ने प्रशासनको सुझावपछि प्रक्रियामा

प्राकृतिक तातोपानीसँग जोडेर नेपालमा पहिलो पटक निर्मित बेनी नगरपालिका–४ सिंगास्थित ‘तातोपानी सामुदायिक प्राकृतिक चिकित्सालय’ सञ्चालनमा कानुनी उल्झन आएको छ । तातोपानीको पोखरीमा डुबुल्की मारेर गरिँदै आएको परम्परागत उपचार विधिमा साउना बाथ, थेरापी र योगालाई जोडेर चिकित्सालय सुरु हुन लागेको थियो ।

थेरापीसहित चिकित्सालयको रूपमा सञ्चालन गर्न कानुनी रूपमा दर्ता गर्नुपर्ने कुरा उठेपछि तयारी अवस्थामा रहेको थेरापीयुक्त चिकित्सालय सञ्चालन तत्कालका लागि स्थगित गरिएको छ ।

तातोपानी कुण्ड व्यवस्थापन समिति मातहत नै चिकित्सालय सञ्चालन गर्नेगरी पूर्वाधार निर्माण, उपकरण जडान र डाक्टरसमेत स्वास्थ्यकर्मी व्यवस्था गरिएको छ । ‘सञ्चालन गर्ने बेलामा चिकित्सालय भएकोले छुट्टै दर्ता आवश्यक हुने भनी प्रशासन कार्यालयको सुझाव आएकोले दर्ता प्रक्रियामा छा,ैं’ समितिका सहसचिव कुमार केसीले भने, ‘तातोपानीको पोखरीमा डुबेर गरिने परम्परागत उपचार विधिसँग जोडेर मंसिर १ देखि मसाज थेरापी सुरु गर्छौं । तर अन्य चिकित्सकीय थेरापी भने तयारी अवस्थामा भए पनि कानुनी प्रक्रिया पूरा भएपछि मात्र सञ्चालन गर्छौं ।’

चिकित्सालयमा परम्परागत प्राकृतिक तातोपानी पोखरीमा डुबुल्की लगाउँदै आएको उपचार विधिमा योगा थेरापी, मसाज थेरापी, हाइड्रो थेरापी, होमियोथेरापी, फिजियोथेरापी, नेच्युरोप्याथिक थेरापी र अकुपंचर विधिबाट पनि उपचार हुनेछ । ‘प्राकृतिक अस्पतालमा आवश्यक थेरापीका आवश्यक सबै उपकरण सेटअप भइसकेका छन् । कानुनी उल्झनले सञ्चालनमा ढिलाइ भएकोले म फर्कदै छु,’ थरापी उपकरण सेटअप गरी राजधानी फर्कनेक्रममा प्राकृतिक चिकित्सक डा. आयुशा अधिकारीले भनिन्, ‘चिकित्सालयका लागि आवश्यक अन्य फिजियो थेरापिस्ट, मसाज थेरापिस्ट र नर्सिङ स्टाफको नियुक्ति प्रक्रिया पूरा भए पनि तत्कालका लागि स्थगित गरिएको छ । अव अर्काे डाक्टर अाएर संञ्चालन हुन्छ ।’

चिकित्सालय निर्माण गर्न संघीय सरकारको गत आवमा ५० लाख र थेरापीका उपकरण खरिद गर्न गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले ५० लाख रुपैयाँ बजेट दिएका थिए । जिल्ला प्रशासनमा संस्था दर्ता ऐनअन्तर्गत दर्ता भएको तातोपानी कुण्ड व्यवस्थापन समिति मातहत ‘तातोपानी सामुदायिक प्राकृतिक चिकित्सालय’ सञ्चालन तयारी भएकोमा बेनी नगरपालिकाले हस्तक्षेप गरी कम्पनी दर्ता ऐनअन्तर्गत दर्ता गरी सञ्चालन गर्न भनेपछि चिकित्सालय सञ्चालन ढिलाइ भएको समितिले जनाएको छ । एलोपेथिक औषधीय उपचारबाट सन्चो हुन नसकेका बिरामी यहाँका तातोपानीका पोखरीमा डुबेर उपचार गराउँदा लाभ पुगेको अनुभव गर्छन् । त्यसैगरी, बेनीका प्रमोद श्रेष्ठले तातोपानीमा ५० करोड रुपैयाँ

लगानीमा श्रेष्ठ हटस्प्रिङ होटल सञ्चालनको तयारी गरिरहेका छन् । म्याग्दीमा कालीगण्डकी, राहुघाट र म्याग्दीखोला किनारका ८ स्थानमा प्राकृतिक तातोपानीका मुल छन् । स्थानीयले भने परम्परादेखि नै तातोपानीमा डुबुल्की मारेर (हट वाटर स्पा) प्राकृतिक उपचार गर्थे । यीमध्ये सिंगा तातोपानी र अन्नपूर्ण गाउँपालिका–२ स्थित कालीगण्डकी किनारको भुरुङ–तातोपानीको मुहान बढी प्रख्यात छन । सिंगामा विरेनुन र भुरुङ र नारच्याङ तातोपनीमा नुनको गन्ध र स्वाद पाइन्छ । अन्य स्थानका तातोपानी भने गन्धरहित छन् । *घनश्याम खड्का, कान्तिपुर