- Loading...
नाग पञ्चमीकाे महिमा र महत्व
- पुनहिल डट कम
- ३ साल अघि
- १७७ पटक पढिएको
हिन्दु धर्म संस्कारमा विभिन्न जीव जन्तु वनस्पतिलाई पनि देवताका रूपमा पूजा गर्ने परम्परा रहिआएको छ। श्रावण शुक्ल पञ्चमीको दिनलाई नाग पञ्चमी भनिन्छ।
यस दिन सर्प जातिका विशेष रूपले नाम चलेका अष्टनागलाई देवताको रूप मानेर परम्परा अनुसार पूजा आराधना गरी मनाइन्छ। यसै दिनमा नागलाई धारण गर्ने भगवान भोलेनाथको पनि पूजा आराधना गर्ने चलन छ।
यसै दिनमा भगवान भोलेनाथ शंकरको पूजा गर्नाले कालसर्पदोष र पितृदोष पनि निवारण हुन्छ भन्ने मान्यता रहिआएको छ। जन्मकुण्डलीमा हजारौँ दोष र गुण पनि हुन्छन्। अगाडि राहु र पछाडि केतु ग्रह रही अरू सातवटा ग्रह यस बीचमा रहेका बेलामा जन्म हुँदा काल सर्पदोष हुन्छ भनेर ज्योतिष शास्त्रमा उल्लेख गरेको पाइन्छ।
केन्द्र त्रिकोणमा शुभ ग्रह रहेका छन् भने कालसर्पदोष उसै पनि निवारण हुन्छ। यही दिनमा रुद्राभिषेक गर्नाले मुक्ति मिल्ने कुरा कुरा पनि धर्मशास्त्रमा पाइन्छ।
यही नाग पञ्चमीका दिनमा नागका अष्टकूल अर्थात् अनन्त, वासुकी, पद्य, महापद्य, तक्षक, कुलीर, कर्कट र शंखनाग गरी अष्टनागको चित्र घरका मूल ढोकामाथि टाँस्नाले वा गोबरको नाग बनाई पूजा गर्नाले वर्षभरि घरमा नाग, सर्प र बिच्छी लगायत कुनैपनि जीवले दुःख नदिनुका साथै अग्नि मेघ चट्याङको भयबाट बच्न सकिन्छ भन्ने धार्मिक मान्यता छ।
धर्मशास्त्रका अनुसार पञ्चमी तिथिका स्वामी नाग देवता हुन्। नागदेवता पातालमा नै बस्ने भएको हुनाले नाग पञ्चमीमा भूमि खन्दा नागलाई कष्ट हुने हुनाले नाग पञ्चमीका दिनमा हलो जोत्नु वा जग खन्नु शुभ हुँदैन भन्ने धार्मिक विश्वास रहेको छ। यस वर्ष नागपञ्चमी शुक्रबार, हस्ता नक्षत्र, साध्ययोग, बालवकरण , आनन्दादिमा अमृतयोग परेको हुनाले शुभ मानिएको छ।
यस कारण यो वर्षमा नागमा श्रद्धा भक्ति राखी पूजा गर्नाले वज्रपात अग्निभय हटेर घरमा लक्ष्मीको वास हुने कुरा धर्मशास्त्रमा पाइन्छ। किनकि भगवान् विष्णु लक्ष्मीको आसन नै नाग हो। क्षीरसागरमा शेष सैयामा लक्ष्मीनारायण रहनुहुन्छ। यस कारण नागपूजा गर्दा लक्ष्मीनारायण, गौरीशंकर सहित पूजा गर्दा सबै देवताको पूजा हुनेकुरा धर्मशास्त्रमा पाइन्छ।
अनन्त ब्रह्माण्डको निषेध हुँदा पनि जसको निषेध हुँदैन त्यो शेष हो यसर्थ शेषलाई नागमात्रको अर्थ नभई ब्रह्म तत्त्व हो भन्ने बुझ्नुपर्छ। यो दिनमा घरको ढोकाको दुबैतिर गाईको गोबरले लिपेर वा सफा गरेर अथवा गाईको गोबरकै नागको चित्र बनाएर वा नागको चित्रलाई चन्दन, अक्षता,अवीर,दही, दूवो, लावा, नैवेद्य, भेटी, दूधले नाग पूजा गर्ने प्रचलन रहेको छ।
नागपूजागर्दा गुरु पुरोहितद्वारा पूजा गरेर घरको मूल ढोकामा टाँसिएको नाग उत्तम मानिन्छ । गुरु पुरोहितलाई दक्षिणासहित भोजन गराएर विदा गर्दा विशेष फल मिल्छ। केवल बजारमा पाइएको नागको चित्र किनेर ल्याइएको नाग टाँस्दैमा नाग पूजाको पूर्ण फल प्राप्त हुँदैन।
नागदेव रिसाए भने अनिष्ट हुने भएकाले नागलाई खुसी पार्नको लागि वर्षमा एकदिन नागदेवतामा श्रद्धा भक्ति विश्वास पूर्वक पूजागर्ने चलन रहिआएको छ। खेत बारी सीमसार आदि क्षेत्रमा मानिआएका नागदेवताको पनि त्यसै दिन विशेष पूजा गर्ने परम्परा छ। यसै दिनमा काठमाण्डौ नक्साल नागपोखरीमा रहेको नागको विशेष पूजा गर्ने चलन छ। यस्तै देशभरिमा रहेका नागपीठहरूमा गई नागदेवको विशेष पूजा गर्ने चलन छ।
आस्तिक ऋषिकी आमा नागकी छोरी थिइन् । परीक्षित् छोरा जन्मेजयले उनका पितालाई डसेर मार्ने तक्षक नागलाई हवन गरी डढाउने प्रसंगमा सर्प यज्ञ गर्दा सबै सर्प नाशिने हुनाले र दोषीका निहुँमा निर्दोषी सर्प पनि नाशिने हुनाले नाग वंशको रक्षाको लागि नागकी पुत्री आस्तिक ऋषिकी माताले आस्तिक ऋषिलाई अह्राए बमोजिम आस्तिक ऋषिले राजा जन्मेजयको सर्प यज्ञलाई बीचैमा बन्द गराई सर्प वंशको रक्षा भएको हुँदा नागपञ्चमीमा आस्तिक ऋषि र उनकी माताको स्मरण गर्ने चलन छ।
आस्तिक ऋषिको स्मरणले नागभय तथा नागदोष नासिन्छ। यसै दिनमा सूर्यास्त भएपछि नागदेवताको नाममा मन्दिर तथा घरको कुनामा माटाको दियोमा गाईको दूध राख्नु, साँझमा पूजा आरति गर्नु उत्तम मानिन्छ।
नाग पञ्चमीका दिनमा नाग देवताका निमित्त व्रत लिई खीर पकाएर प्रसादको रूपमा नागदेव र शिवलाई अर्पण गरेर प्रसाद खाने चलन छ। नून तेलजन्य पदार्थ नखाई सकभर निराहार व्रत गर्नु उत्तम मानिन्छ। यस दिनमा शुभकार्य गर्न माङ्गलिक कार्य गर्न हेर्न जुराउनु पर्दैन भन्ने मान्यता छ।
नागको पूजा गर्नुमा वैज्ञानिक पक्ष पनि छ। प्रकृतिमा रहेका विषालु पदार्थलाई नागसर्पले ग्रहण गरी मानव तथा अन्य जातिलाई विषालु पदार्थको प्रभाव पर्न नदिने हुँदा पर्यायवरण संरक्षणमा सर्पको विशेष भूमिका भएको मानिन्छ।
सर्पले वायुमण्डलमा फैलिएको विषाक्त पदार्थ ग्रहण गर्दछ।यस कारण सर्प रहेमात्र मानव जीवित र स्वस्थ्य रहन सक्छ। यसर्थ नाग पञ्चमीका दिन नागदेवताको श्रद्धा , विश्वास र भक्तिपूर्वक पूजा आराधना गर्नु पर्दछ।