- Loading...
महाकाली तुइन प्रकरणः तीन प्रत्यक्षदर्शी सदरमुकाम झिकाइँदै, ‘धामी तरिरहँदा घटनास्थल नजिकै आरा बोकेको एसएसबी’
- पुनहिल डट कम
- ३ साल अघि
- १५० पटक पढिएको
महाकालीमा तुइन तर्दै गरेका एक नेपाली नागरिक नदीमा बेपत्ता भएको घटनाबारे स्थलगत अनुसन्धान गर्न गएको टोलीका एक उच्च अधिकारीले डोरी काट्ने आरासहित भारतीय सीमा सुरक्षा बलका सुरक्षाकर्मीलाई देखेको प्रत्यक्षदर्शीले बताएको जानकारी दिएका छन्।
अध्ययन सकेर सशस्त्र प्रहरीको टोली आइतवार नै दार्चुलाको सदरमुकाम खलङ्गामा फर्कँदै छ।
सो टोलीले घटनाका तीन जना प्रत्यक्षदर्शीलाई सोमवार जिल्ला प्रशासन कार्यालय दार्चुलामा बोलाएको पाँच सदस्यीय टोलीको नेतृत्व गरेर घटनास्थल पुगेका सशस्त्र प्रहरी नायब उपरीक्षक वीरसिंह धामीले बताए।
तुइनबाट खसेर बेपत्ता भएका व्याँस गाउँपालिकाका ३३ वर्षीय जयसिंह धामी भारततर्फको बाटो हुँदै सदरमुकाम आउने क्रममा रहेका बताइएको छ।
भारतको पिथौरागढ जिल्लाका प्रशासकले उनी बेपत्ता हुनुमा सीमा सुरक्षा बलको कुनै हात नरहेको र उनी तुइनमा अल्झिएर बगेको नेपाली पक्षलाई बताएको छ।
स्थलगत अध्ययनमा के पाइयो?
शनिवार जिल्ला प्रशासन कार्यालयले घटना भएको खाङदाङ मालघाटमा टोली पठाएको थियो।
डीएसपी धामीले नेतृत्व गरेको उक्त टोलीमा नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि पनि सम्मिलित थिए।
अध्ययन सकेर फर्कने क्रममा रहेका धामीले भने, “तुइन तर्दा पारि एसएसबी थिए भन्ने कुरा छ। आरा र ह्याक्सो ब्लेड भएको एसएसबी केही माथि नै थियो रे। खाली हात भएको एसएसबी पारि पट्टी रुख भएको स्थान नजिकै थियो रे।”
“तुइन खोलेको पनि हामीले देखेनौँ। काट्ने सामान बोकेको माथि थियो त्यही भएर काटेको होइन भन्ने कुरा आएको छ। तुइन तर्ने व्यक्तिले एक मिनेट पनि लाग्दैन, म तरिहाल्छु भनेर गइदिएको र दुई तीन मिटर बाँकी हुँदा तार लच्किएर पानीमा खसेको देख्यौँ भनेर प्रत्यक्षदर्शीले भनिरहेका छन्।”
‘स्पष्ट भएको छैन’
तुइनको तार काटिएको वा तुइनलाई फेरो लगाएको रुखबाट तार एसएसबीले फुकालिदिएको भन्नेबारे यकिन विवरण आफूहरूले प्राप्त गर्न नसकेको उनले उल्लेख गरे।
धामी भन्छन्, “ठोस कुरा अझै स्पष्ट नभएकाले हामीले तीन जना प्रत्यक्षदर्शीलाई जिल्ला सदरमुकाममा बोलाइदिएका छौँ। अब त्यहीबाट एउटा निष्कर्ष निस्कन्छ।”
तर नेपाली सञ्चारमाध्यममा आएका विवरणमा प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै जयसिंह तुइनमा सुर्कँदै गर्दा एसएसबीका जवान तुइनको लट्ठा फुस्काउँदै गरेको उल्लेख गरिएको छ।
तुइनबाट उनी खसेपछि एसएसबीका सुरक्षाकर्मीहरू सडकतर्फ भागेको आइतवार प्रकाशित कान्तिपुर दैनिकले उल्लेख गरेको छ।
धामीले उक्त क्षेत्रमा सीमा वारपार गर्न तुइन पहिला पनि राख्ने गरिएको र ‘गैरकानुनी’ आवतजावत रोक्न भन्दै भारतीय पक्षले काटिदिने गरेको बताए।
स्थानीय बासिन्दाको आक्रोश
पछिल्लो पटक मालघाटमा राखिएको तुइन बढीमा तीन दिनअघि मात्रै राखिएको आफूहरूले जानकारी पाएको उनको भनाइ छ।
उनले व्याँस गाउँपालिकाका स्थानीय बासिन्दा पछिल्लो घटनाप्रति आक्रोशित रहेको भन्दै सहानुभूति दिएर फर्किएको उल्लेख गरे।
घटनास्थल नजिकै रहेका सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले बर्खायाममा पानीको सतह बढेको महाकाली नदीमा खोजी कार्य जारी राखेका छन्।
उनीहरूले १० किलोमिटरको क्षेत्रलाई आफ्नो खोजको मूल क्षेत्र बनाएको धामीले जानकारी दिए।
स्थलगत अध्ययनमा गएको नेपाली सुरक्षाकर्मीको समूहले भारतीय सुरक्षाकर्मीहरूसँग भने कुराकानी नगरेको बुझिएको छ।
डिएसपी धामी भन्छन्, “त्यहाँको मानिसहरूको इष्टमित्रहरू सबै पारि भएको हुनाले उताका सुरक्षा निकायहरूले पनि अनुसन्धानमा सघाउँछौँ भन्ने खालकै धारणा राखेको बुझिन्छ।”
भारतको एसएसबीले उक्त घटनाबारे आफूले पनि अनुसन्धान गरिरहेको दार्चुलाका आफ्ना नेपाली समकक्षीलाई बताएको विवरण आएका छन्।
उक्त पुल निर्माणको ठेक्का लागे पनि ढिलासुस्ती भएको आफूहरूले पाएको उनको भनाइ छ।
आफ्नो टोली भारतको धार्चुलाहुँदै सडक मार्गको यात्रापछि भिरैभिर सात घण्टाभन्दा बढी हिँडेर घटनास्थल पुगेको उनको भनाइ छ।
नेपाल-भारत र चीन सीमाविन्दु नजिकै अवस्थित विवादित कालापानी क्षेत्र समेत सो घटना भएको व्याँस गाउँपालिकामा पर्छ।
घटनास्थलभन्दा केही माथि छाङरूमा अघिल्लो साल सशस्त्र प्रहरीको चौकी स्थापना गरिएको थियो।
त्यस क्षेत्रमा सडक पूर्वाधारको पहुँच वृद्धि गर्ने वाचा विगतमा सरकारले गरे पनि अझै पनि त्यहाँका मानिसहरू सदरमुकाम खलङ्गा आउन भारतकै बाटोमा निर्भर हुनुपर्ने अवस्था छ। news source – bbc/nepali