FLASH NEWS
  • Loading...

असारमा पहिरोमा पुरिएर २ को मृत्यु, ५८ घर भत्के, विस्थापितको वर्खेभरीमा पालको वास

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १२२ पटक पढिएको
असारमा पहिरोमा पुरिएर २ को मृत्यु, ५८ घर भत्के, विस्थापितको वर्खेभरीमा पालको वास

संभावित विपदबाट वच्न गाउँ छोडेका अन्नपूर्ण गाउँपालिका, ५ धस्केखोरिया वस्ती झण्डै एक महिनादेखी त्रिपालमुनी छ ।
असारको पहिलो दिनबाट सुरु भएको पहिरो बढ्दै वस्ती नै जमिन धजाधजा भै फाटेर बग्न थालेपछि दर्के झरीमा गाउँ छोडेका धस्केखोरियाका १६ घरपरिवारका ६० जनाले डाँडामा प्लास्टिकको गोठ बनाई बसेका छन । संभवत : पहिरोले घर बगाएन भने असोज अघि वस्ती पुरानै स्थानमा फर्कने छैन ।
‘ज्यान बचाउन मात्र हामी गोठमा सरेका हौं । सवै सम्पत्ति घरमै छ । न झरी न पहिरो नै रोकिएको छ । एक दुई घर बाहेक बाँकी घर दिनमा फर्कन्छौं, राती पालमा आएर सुत्ने गरेका छौं’ पीडित कमला तिलिजाले भनिन, ‘यो वर्खा त त्रिपालमुनी वास होला, हिउँदमा फर्केर पुर्खाले बसाएको घरमा जान नपाईने चिन्ता छ ।’
असार पहिलो र तेस्रो साता परेको भारी वर्षापछि आएको पहिरोले मालिका गाउँपालिका, ३ रुमका पहिरोले क्षति पुऱ्याएपछि ३२ घरपरिवार विस्थापित भएका छन । पहिरोबाट विस्थापित भएकाले आफन्त र छिमेकी गाउँका रिक्त घर लगेर सुरक्षित गरिएको छ ।
‘रुमका सवै पहिरोबाट विस्थापितलाई गाउँका रिक्ता घरमा लगेर सुरक्षित गरिएको छ । घरमा भएको धनसम्पत्ति र अन्नपात झिक्न नसकेका पीडितलाई राहत पुऱ्याएका छौं’ मालिका गाउँपालिका उपाध्यक्ष खरमायाँ विटालुले भनिन, ‘घर जोखिममा भएका परिवार संभवत असोजपछि फर्कनु होला । घर पूर्ण क्षति भएका परिवारलाई सरकारी निती अनुसार पुर्नवास गराईने छ ।’
जिल्ला विपत ब्यवस्थापन समितिको अभिलेख अनुसार असार यता २८ दिनमा जिल्लामा पहिरोले पुरिएर २ जनाको ज्यान गएको छ । बाढीपहिरोमा पुरिएर ११ वटा पशुचौपाया मरेका छन । ८५ घरपूर्ण क्षति भै परिवार विस्थापित भएका छन । १ सय ४४ घर पहिरोको उच्च जोखिममा छन ।
‘यस वर्षको मनसुनजन्य विपदमा ज्यान गुमाएका दुई जनाको परिवारलाई तीन लाख र बाढीपहिरोमा निजी आवास पूर्ण क्षति पुगेका ५८ परिवारलाई ९ लाख ६० हजार राहत वितरण गरिएको छ’ जिल्ला विपत ब्यवस्थापन समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले भने, ‘बाँकी बाढीपहिरोबाट क्षति पुगेका घर परिवारको क्षति विवरण प्रहरीद्धारा मुचुल्का तयार भएपछि राहत उपलब्ध गराउने छौं ।’