- Loading...
बालजागृति आविमा बौद्धिक अपांगता भएका जुम्ल्याहा अलपत्र
- पुनहिल डट कम
- ३ साल अघि
- २७८ पटक पढिएको

बेनी नगरपालिका–५ स्थित बाल जागृति आधारभूत विद्यालयको बौद्धिक स्रोत कक्षामा भर्ना भएका जुम्ल्याहा बालक अभिभावक सम्पर्कमा नआएपछि अलपत्र परेका छन् । १२ वर्षीय आदित्य र आयुष मल्लका बाबुआमा पछिल्लो एक वर्षदेखि सम्पर्कविहीन छन् ।
विद्यालयमा उनीहरूसहित १४ जना बौद्धिक अपांगता बालबालिका अध्ययनरत थिए । वैशाख २२ देखि जिल्लामा निषेधाज्ञा जारी भएपछि अन्य १२ बालबालिकालाई अभिभावकले लगे पनि आदित्य र आयुषका अभिभावक भने सम्पर्कमा आएनन् । मल्ल दाजुभाइ विद्यालयको छात्रावासमा बस्दै आए पनि पछिल्लो समय उनीहरूको हेरचाह गर्ने नहुँदा अलपत्र परेका हुन् ।
बझाङको साबिक बाँझ गाविस–८ बागथला स्थायी घर भएका आदित्य र आयुषलाई २०७५ जेठ २० मा अभिभावकले विद्यालयको बौद्धिक स्रोत कक्षामा भर्ना गरी फर्केका थिए । त्यसपछि बाबु गणेशबहादुर विद्यालयमा फर्केका छैनन् । विद्यालयका अनुसार गणेशबहादुर र उनकी श्रीमतीले बझाङकै खप्तड छान्ना गाउँपालिकास्थित लामातोला माविमा पढाउँछन् । ‘पहिला–पहिला अभिभावकले आया (बालबालिकाको रेखदेख गर्ने) लाई सम्पर्क गर्ने र केही खर्च पनि पठाउने गर्नुहुन्थ्यो रे । पछिल्लो एक वर्षदेखि त सम्पर्कमै छैनन् । विद्यालयमा दिएको नम्बरमा सम्पर्कै हुँदैन,’ विद्यालयकी स्रोत शिक्षिका अमृता पौडेलले भनिन्, ‘यी बौद्धिक अपांगता भएका बालकलाई बिहान–बेलुका मिसहरुले खाना पकाउने/खुवाउने गर्छौं, राति उनीहरूलाई न घर लैजान सम्भव छ, न यहाँ कुरेर बस्न । हामी संकटमा छौं ।’
बौद्धिक अपांगता भएका बालबालिकाको रेखदेख र संरक्षण गर्न विद्यालयले दुई आया नियुक्त गरेको थियो । तीन वर्षदेखि दसैं–तिहारजस्ता चाडपर्वमा मात्र होइन लामो बिदा हुँदा बालबालिकालाई अभिभावकले घर लैजान्थे । तर मल्ल दाजुभाइलाई भने अभिभावकले वास्ता नगरेकाले छात्राबासमै राखिन्थ्यो । दुई जना आयाले आलोपालो गरी छात्रावासमै बसेर उनीहरूको नियमित रेखदेख गर्थे । अभिभावक सम्पर्कमा नभए पनि ठूलो समस्या परेको थिएन । तर अहिले विद्यालयमा उत्पन्न परिस्थितिपछि बौद्धिक स्रोत कक्षामा कार्यरत कर्मचारीले जिम्मेवारी लिन अस्वीकार गरेपछि समस्या थपिएको हो । ‘खासगरी मल्ल दाजुभाइको संरक्षकत्व लिन समस्या भएको छ,’ कार्यवाहक प्रधानाध्यापक धनबहादुर क्षेत्रीले भने, ‘सरकारले वैकल्पिक विधिबाट विद्यार्थी भर्ना गर्ने र अध्यापन गराउने भनेको छ । तर बौद्धिक अपांगता भएका बालबालिकालाई वैकल्पिक विधि उपयोगी नहुने भो । कोरोना संक्रमणको जोखिम उस्तै भएकाले तत्काल विद्यालय खुल्ने अवस्था पनि छैन ।’
विद्यालयका प्रअ भक्त कार्कीको हत्या अभियोगमा एक जना आयाका श्रीमान् पक्राउ परेका थिए । असार ६ मा भएको हत्यापछि ती आया विद्यालय आइनन् । अर्की आया पनि बिरामी भइ घरमै बसेपछि स्रोत कक्षा र छात्रावासमा रहेका यी बालबालिका हेर्ने व्यक्तिको जिम्मा लिने कोही नहुँदा अप्ठेरो अवस्था आएको विद्यालयले जनाएको छ । ekantipur.com

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
